
१ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेसको महासमिति प्रतिनिधि छनोटमा विवाद भएको छ ।
महासमिति प्रतिनिधि चयन गरेको प्रक्रियाप्रति असन्तुष्टि राख्दै पाँच जनाले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका छन् ।
अन्य प्रयोजनका लागि बोलाइएको क्षेत्रीय भेलाका उपस्थितहरुको माइन्यूटको पाना च्यातेर सर्वसम्मत चयन गरिएको भनी गरिएको निर्णयमा आपत्ति जनाइएको छ ।
महासमिति सदस्य चयनका लागि बुथ प्रतिनिधिको मतदान गर्ने अधिकार नदिइएको उजुरीमा उल्लेख छ । सर्वसम्मत भनि गरिएको निर्णय बदर गरि विधान अनुसार प्रतिनिधि छनोट गर्ने निर्देशन गर्न पार्टी केन्द्रमा उजुरी गरिएको छ ।
‘महाधिवेशन प्रतिनिधिहरुको बैठक राखेर सहमतिमा निर्णय गरौं भनेर सुझाव दिएको थिएँ क्षेत्रीय सभापतिले मान्नुभएन’, नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भने । काठमाडौं–३ को क्षेत्रीय सभापति सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसे छन् ।
प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि राखेर उजुरी गर्नेहरुमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, परशुराम पोखरेल, दुर्गाप्रसाद बराल, जयराम भण्डारी र सुशीला बराल रहेका छन् ।
संघीय निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ । कांग्रेसले मंसिर १३ देखि १५ सम्म महासमितिको बैठक गर्न लागेको छ ।
प्रतिक्रिया 4