
१९ कात्तिक, काठमाडौं । वाणिज्य तथा विकास बैंकहरुको कमजोर प्रथम त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक भएपछि ओर्लिरहेको सेयर बजारलाई झनै तल झारेको छ ।
शुक्रबार मात्रै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको औसत नाफा २८ प्रतिशतले घटेको छ भने समयमै उठ्न नसकेको (निष्क्रिय) कर्जा दोब्बर भएको छ ।
बैंकहरुले ठूलो रकम कर्जा नोक्सानी प्रोभिजन गर्नुपरेपछि सेयर लगानीकर्ता सशंकित बनेका छन् ।
आइतबार खुलेको बजारमा लगानीकर्ता बैंकहरुको सेयर बेच्नतिर हतारिए, जसको परिणामस्वरुप नेप्से परिसूचक वर्षको न्यून विन्दु नजिक झरेर अन्त्यमा केही सुधार भएको छ ।
पूँजीकरण उच्च रहेकाले बजारमा वाणिज्य बैंकिङ उपसमूह शक्तिशाली छ । त्यसैले यो उपसमूहमा समग्र बजार हल्लाउन सक्ने शक्ति छ ।
आइतबार नेप्से परिसूचक २१.४६ अंक घटेर १८२६ विन्दुमा कायम भएको छ । यो विन्दु एक वर्षको न्यूनतम नजिकको हो ।
गत जेठ १ गते १८१८.३१ विन्दुमा बजार बन्द भएको थियो भने सो दिन इन्ट्रोडेमा १८०७ विन्दुसम्म झरेको थियो ।
आइतबार पनि इन्ट्राडेमा बजार १८१८ विन्दुसम्म झरेको थियो । आइतबार कुल ३५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन ९७ करोड २३ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।
सबै उपसमूह घट्दा होटलमा आकर्षण
आइतबार होटल तथा पर्यटन क्षेत्रको सूचक भने १८ अंक बढ्यो । अरु सबै क्षेत्रका सूचक घटेका बेला सो क्षेत्रमा भने लगानीकर्ताको आकर्षण देखियो । विशेषतः अक्टोबर महिनामा सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल आएको तथ्यांकले गर्दा होटल क्षेत्रमा आकर्षण देखिएको हो ।
आन्तरिक पर्यटनमा पनि चहलपहल देखिएकाले आगामी दिनमा यस क्षेत्रका कम्पनीहरुको वित्तीय रिपोर्ट राम्रो आउने आश लगानीकर्तामा छ । जसले गर्दा बिहीबार पनि यो उपसमूह बढेको थियो ।
होटलबाहेक आइतबार सबै क्षेत्रका उपसूचक झरेका छन् । बैंकिङ १.५ प्रतिशत घट्यो भने विकास बैंक १.६४ प्रतिशत घट्यो ।
फाइनान्स १.०८, जलविद्युत् १.१, जीवन बीमा १.१६, उत्पादन १.३१, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा १.१८, अन्य ०.७६ र व्यापार उपसमूह २.१ प्रतिशत घट्यो ।
धेरै कसले कमाए, कसले गुमाए ?
यस दिन एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.९७ प्रतिशत मूल्य कमाए । त्यसपछि तारागाउँ रिजेन्सी होटलको मूल्य ५.४ प्रतिशत बढ्यो । मायाखोला हाइड्रोपावरको ४.२, एसियन हाइड्रोपावरको ३.७५ तथा नेसनल लघुवित्तको २.५ प्रतिशत मूल्य बढ्यो ।
हिमालय लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशत घट्यो । बाराही हाइड्रोपावरको ७.९, युनाइटेड इदी मर्दीको ६.७, सबैको लघुवित्तको ५.५६, इस्टर्न हाइड्रोको मूल्य ४.९९ प्रतिशत घट्यो ।
वाणिज्य बैंकहरुमा भने सिद्धार्थ बैंकको मूल्य सबैभन्दा धेरै ४.०६ प्रतिशत घट्यो भने एनआईसी एसिया बैंकको ३.५४ प्रतिशत घट्यो । यी दुवै बैंकको कमजोर वित्तीय विवरण आएको छ । घाटाको वित्तीय विवरण निकालेको कृषि विकासको मूल्य २.९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा नबिल बैंक संस्थापक समूह, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4