राष्ट्रिय गौरवको आयोजनामा राखेर मुलपानी, चितवन र विराटनगरमा क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री
२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी छिट्टै निर्माण सक्ने बताएका छन् ।
टी–२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै उनले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए ।
‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं, भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ,’ प्रचण्डले भने ।
उनले १० वर्षपछि नेपालाई टी-२० विश्वकपमा छनोट गराएकोमा खेलाडीलाई बधाई पनि दिए । ‘क्रिकेट मैले हेर्दै आएको छु, क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ,’ उनले भने, ‘यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु ।’
क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको भन्दै प्रधानमन्त्रीले भने, ‘यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ, खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ ।’
कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताए ।
‘यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ पौडेलले भने, ‘नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं ।’
उनले कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको प्रक्रिया अगाडि बढाएकोमा सरकारलाई धन्यवाद छ ।
प्रतिक्रिया 4