 
																						१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।
आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए ।
ढुंगा लागेर भट्टराई चढेको गाडीको अगाडिको सीसा फुटेको छ । ‘उहाँ कार्यक्रम सकेर फर्किसक्नुभएको थियो, डेढ किलोमिटर पर होटलमा बसेका पहिचान पक्षधरले डिस्टर्ब गरे, एक जनाले परबाट गाडीमा ढुंगा हान्दा गाडीको सीसा फुटेको छ’, उनले भने ।
भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरुको खोजी भइरहेको डीएसपी लिम्बुले बताए ।
आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए ।
प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो ।
यसअघि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार सवारीमा पनि पहिचान पक्षधर कार्यकर्ताले आक्रमण गरेका थिए ।
सांघातिक प्रतिवादमा नओर्लनुस् भनेको थिए, आज गाडीको सीसा फुटाए : योगेश भट्टराई
एमाले सचिव भट्टराईले प्रदेश नामकरणको विषयमा प्रदेशसभा बाहिर विवाद गरेर काम छैन भनेर सम्झाएको तर उनीहरु आक्रमणमा उत्रिएको बताए ।
‘अब कोशी नामकरणको विषय प्रदेशसभाको भइसक्यो, अन्त छलफल वा विवाद गरेर काम छैन भनेर सम्झाएको थिएँ,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘बहस नगरी सांघातिक आक्रमणमा ओर्लन भएमा प्रतिवाद हुन्छ पनि भनेको थिएँ, तर उहाँहरु एकोहोरो आक्रमणमा ओर्लिएको देखियो ।’
उनले आफू र एमालेप्रति निरन्तर आक्रमण भइरहेकामा दुःख व्यक्त गरे । पहिचानलाई लिएर उठेका आवाजलाई प्रदेशसभामा वैधानिक ढंगले राख्ने अधिकारको सदुपयोग गर्न उनले आग्रह गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4