+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

४५ विधामा प्रदान गरियो दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड, ‘दर्शन सलाम’को वर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १३:११

काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषले दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड सम्पन्न गरेको छ । शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित समारोहमा संगीतका विभिन्न ४५ विधामा अवार्ड प्रदान गरियो । साथै समाजसेवी, पत्रकार र पर्यटन प्रवर्द्धकहरुलाई सम्मानसमेत गरियो ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, वरिष्ठ संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बास्कोटासहित अग्रज कलाकारहरुले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरे ।

चलचित्र संगीततर्फ ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ बाट दीपक शर्मा, सोही गीतबाट राजेन्द्र थापा सर्वश्रेष्ठ गीतकार र डेभिड शंकरले सर्वश्रेष्ठ पार्श्वगायकको अवार्ड हात पारे । फिल्म ‘बाबरी’को ‘बाबरी रंग’बाट गायिका अस्मिता अधिकारीले सर्वश्रेष्ठ पार्श्व गायिकाको अवार्ड प्राप्त गरिन् । यस्तै फिल्म ‘प्रसाद २’ को ‘मार्सी धान’बाट संगीतकार राजनराज सिवाकोटी र ‘नाइँ नभन्नु ल ६’ को गीत ‘तिम्रो आँखामा’बाट गायक प्रताप दासले  पब्लिक च्वाइस अवार्ड प्राप्त गरे ।

आधुनिक गीततर्फ ‘दूर सागर’बाट डब्बु क्षेत्री, ‘मेरो दिलको राजा’बाट पदम रोकायाले उत्कृष्ट संगीतकार, ‘रामसाइँली’बाट नरेश बिसीले उत्कृष्ट गायकको अवार्ड पाए । गायिकातर्फको ‘आधा दुःख’बाट सुनिता कार्कीले, जुरी अवार्ड ‘जिन्दगीका गोरटो’बाट कुसुम बरालले र नवगायकको अवार्ड ‘सुनको दरबार’बाट बलाराम परियारले प्राप्त गरे ।

समारोहमा उत्कृष्ट पपगीत, लोक तथा दोहोरी गीत, देउडा गीत, गजल, म्युजिक भिडियो, निर्देशक, मोडल, भिडियो सम्पादक, रेकर्डिस्ट, राष्ट्रिय गीत, पर्यटन प्रवर्द्धन गीत, बालगीत, बाल कलाकार विधामा समेत अवार्ड प्रदान गरिएको थियो ।

जुरी अवार्ड बाँचिएलाबाट विशाल थापा, पपुलर गीतको अवार्ड सुनकोशीबाट सबु थापामगर र जुरी अवार्ड जिन्दगीका गोरटोबाट कुसुम बरालले हासिल गरे ।

यस्तै आधुनिक गीत भिडियोतर्फ महिला मोडलको अवार्ड तिमी मेरोबाट जिसु कोइरालाले, जुरी अवार्ड सम्झनाबाट अनिता गिरीले, पुरुष मोडेलको अवार्ड भ्रष्टचारी भेनाबाट ईश्वरबल्लभ उप्रेतीले, पुरुष नयाँ मोडलको अवार्ड सुनकोशीबाट सुनिल न्यौपानेले, महिला नयाँ मोडेलको अवार्ड जिन्दगीका गोरेटोबाट रेश्मा श्रेष्ठले, सिनेम्याटोग्राफरको अवार्ड मायाले नै होबाट रुपेश थापाले, भिडियो सम्पादकको अवार्ड कठैबाट पदम सुवेदीले, भिडियो निर्देशकको अवार्ड सपना वनेरबाट सत्यराज चौलागाईंले र भिडियो निर्देशकको पब्लिक च्वाइस अवार्ड सुनकोशीबाट दिलीप समनले हासिल गरे ।

यस्तै पपगीततर्फ म्युजिक भिडियोमा उत्कृष्ट महिला मोडलको अवार्ड कस्तो होलाबाट अस्मिता तामाङले, नवपुरुष मोडलको अवार्ड शुभकामनाबाट रमेश विश्वकर्माले, गायिकाको अवार्ड, पपगीततर्फ उत्कृष्ट गायकको अवार्ड तिमी धुनबाट चेतन राईले, जुरी अवार्ड तिम्रो यादमाबाट प्रशान्त मिष्टले, पपगीत गायिकाको अवार्ड मजा बेग्लै छबाट रिज्योना कार्कीले, डायस्पोरा अवार्ड मैले प्रेम गीतबाट मञ्जु लामाले र जुरी अवार्ड तिमीलाई गीतबाट चाँदनी शाक्यले, पप गीत गीतकारको अवार्ड आमाबाट किरण माइकल घिमिरेले, संगीत संयोजकको अवार्ड छुनुमुनु२ बाट आमोश तामाङले प्राप्त गरे ।

यस्तै बालकलाकारतर्फ उत्कृष्ट मोडलको अवार्ड मायाको आशबाट सफल पौडेलले, जुरी अवार्ड छुनुमुनु २ बाट जविश श्रेष्ठ, पब्लिक च्वाइस अवार्ड चाहिंदैन तिम्रोबाट आयुषी ढकाल, कोरियोग्राफरको अवार्ड सातै सुरबाट कृष्ण रसाल, कोरियोग्राफर जुरी अवार्ड कालीकालीबाट विकास नेपालीले हासिल गरे । यस्तै गीत मिक्सिङ र मास्टरिङको अवार्ड जरुरी कुराबाट किशोर थापा, उत्कृष्ट गजल गायकको अवार्ड मौसम खराबबाट गुणराज श्रेष्ठ, गजलमै जुरी अवार्ड माया गरे झैंबाट डीबी खड्का, देउडा गायिकाको अवार्ड उधारो खाइदियोबाट शोभा थापाले प्राप्त गरे ।

लोक तथा लोकदोहोरीतर्फ गीतकारको अवार्ड ठमेल आसनबाट नेत्र अर्याल, संगीतकारको अवार्ड डाँडाघरे साइँलीबाट श्रीकृष्ण बम मल्ल, संगीत संयोजकको अवार्ड मेरो सानुबाट नरेन्द्र वियोगी, उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड ठमेल असनबाट खेम सेन्चुरी, जुरी अवार्ड मुसौरीबाट सरोज लामिछाने, उत्कृष्ट गायिकाको अवार्ड फूल फुल्यो अमलाबाट पार्वती कार्की, नवगायिकाको अवार्ड बिउ खायोबाट कविता खत्री, नवगायिका जुरी अवार्ड रातो सल्कोबाट सावित्रा भुजेल, लोकदोहोरी नवगायकको अवार्ड तियारै आयोबाट नकुल गौतमले प्राप्त गरे ।

यस्तै लोकदोहोरीतर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड सोल्टी बजारबाट रजनी गुरुङले, जुरी अवार्ड च्यात्यो रुमालबाट अनिता बस्नेतले, पुरुष मोडलको अवार्ड मनको चाहनाबाट सागर लम्साल, महिला नवमोडलको अवार्ड नौलो चिनजानीबाट शशीकला राई, नवपुरुष मोडलको अवार्ड कति राम्रो रामेछापबाट नवीन गौतमले प्राप्त गरे ।

यस्तै लोकदोहोरीतर्फ नै भिडियो सम्पादकको अवार्ड सिमसिम पानीबाट मिलन विश्वकर्मा, छायाकारको अवार्ड पातली मोरीबाट रामकृष्ण कँडेल, म्युजिक भिडियो निर्देशकको अवार्ड ढुकुरको गुँडबाट खमेश श्रेष्ठ, कल्चरल गीत गायिकाको अवार्ड गेतेंगा टेंगाबाट कल्पना सुनुवार र उत्कृष्ट कल्चरल गीत भिडियो निर्देशकको अवार्ड दमौलीका चाइना पुलबाट उमेश गुरुङले प्राप्त गरे ।

कार्यक्रममा अनलाइनखबरकर्मी खेम रिसाल लगायत विभिन्न पत्रकार, समाजसेवी र पर्यटन प्रवर्द्धकलाई सम्मानसमेत गरिएको थियो ।

रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले २०७८ पुसमा पहिलो जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गरेको थियो ।

अवार्ड कार्यक्रममार्फत नेपाली संगीतको श्रीवृद्धिमा सहयोग पुग्नुका साथै रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको आयोजक अग्लेश्वरी हिल्स कोषका संस्थापक अध्यक्ष सिजम सिञ्जालीले बताए । अग्लेश्वरी हिल्समा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गर्ने आफूहरुको योजनामा यसले सहजीकरण गर्ने विश्वास रहेको उनले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री सुशीला सिर्पालीले पर्यटनसँग संगीतलाई जोडेर गरिएको अवार्ड कार्यक्रमले छुट्टै अर्थ राख्ने बताइन् । आफू पनि संगीतप्रेमी रहेको भन्दै उनले चाँडै संस्कृति ऐन ल्याउने तयारीमा सरकार लागिपरेको समेत जानकारी दिइन् ।

अवार्डको निर्णायकमा गायक सिडी विजय अधिकारी, संगीतकार शंकर थापा ‘स्माइल’, रुविना अधिकारीलगायत थिए । कार्यक्रममा गायक डेभिड शंकर र प्रताप दासले सांगीतिक प्रस्तुति दिएका थिए । नेपाल मगर सांस्कृतिक संघका कलाकार र अदिती श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए भने लुगुम चेलीबेटी आमा समूहको पञ्चेबाजा प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?