१८ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले आफैंलाई ढाट्नु पर्ने गरी काम नगरेको बताएकी छन् ।
६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सम्बोधन गरेकी उनले आफ्नो काममा सन्तोष मानेको सुनजाइन् । उनले अगाडि भनिन्, ‘म आफूलाई त पास भएँ भन्ने लाग्छ । तर पास कि फेल भन्ने नागरिकले भन्ने कुरा हो, नागरिकको जिम्मामा छाड्छु ।’
जनताले जतिबेला पनि फोन गर्ने र आफ्ना विषय संसदमा उठाइदिन भन्ने गरेको उनले सुनाइन् । उनले भनिन्, ‘कम्तिमा त्यो विश्वास आर्जन गर्न सकिएछ, यसका लागि हर्षित पनि छु ।’
नागरिकले राखेका सरोकारबारे अध्ययन गरेर आफूलाई पनि ठीक लागेका विषय संसदमा उठाएको भन्दै उनले भनिन्, ‘त्यसमा ताली पनि पाइन्छ,गाली पनि पाइन्छ । ताली पाउँदा त खुसी नै भइन्छ, गाली गाउँदा किन उठाएछु यो विषय भन्ने पनि हुन्छ ।’
यद्यपि राष्ट्रिय सभा सदस्यका रुपमा जे जति काम गरियो, त्यसमा ग्लानी पटक्कै नरहेको उनले बताइन् । ‘आरु संसारलाई ढाट्न सकिन्छ, आफैंले आफैंलाई चाहिँ ढाट्न सकिन्न’ पौडेलले भनिन्, ‘मैले पनि यो ६ वर्षमा आफूले आफैंलाई ढाँट्न परेको छैन । त्यो भएर खुसी नै छु ।’
४२ दिन मन्त्री भएर काम गर्दा सरकार कसरी चल्छ, मन्त्रिपरिषद्मा निर्णय कसरी हुन्छ ? भन्ने बुझ्न पाएको भन्दै उनले समय मिले यसबारे लेख्ने बताइन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रिय सभामा आएकी उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेकी थिइन् । पौडेलले अबका राष्ट्रपतिबाट मनोनित हुने सदस्यहरु पनि विषय विज्ञ र दलभन्दा पर होस् भन्ने आग्रह गरिन् ।
जनवायु परिर्वतन, सुभना प्रविधि, समावेशी अर्थतन्त्र, द्वन्द्व व्यवस्थापन संसारको चुनौती भएको भन्दै उनले यस्ता विषयका विज्ञहरु आएर कानुन निर्माणमा भूमिका खेल्दा सरकारलाई पनि फाइदा हुने बताइन् ।
धेरैले अब के भन्ने प्रश्न गर्ने गरेको भन्दै राष्ट्रिय सभा सदस्य पौडेलले सांसदले गर्ने काम बाहिर बसेर गर्ने बताइन् । ‘मन्त्रीहरु कार्यकारी पद भएकाले पूर्वमन्त्री हुन्छन् । सांसदहरु चाहिँ पूर्व सांसद हुँदैनन्’ उनले भनिन्, ‘हामी तलब नखाएर पनि कानुन निर्माणमा सहयोग गर्न सक्छौं । इन्टरनेटमा कानुन राखिदिएको हुन्छ, हाम्रो आफ्नो इनपुट दिन सक्छौं ।’
नागरिककै रुपमा जनसरोकारका विषय उठाउन र सरकारको निगरानी गर्न स्क्ने भन्दै उनले भनिन्, ‘सांसदले गर्ने काम बाहिर बसेर पनि गर्न सकिन्छ, त्यो काममा लागिरहन्छु ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4