२९ फागुन, काठमाडौं । कुनै बेला राष्ट्रिय फुटबल टिममा स्टार खेलाडीहरु हुन्थे, टिममा पर्न खेलाडीहरुको होडबाजी चल्थ्यो । तर अहिले राष्ट्रिय टिममा स्तरीय खेलाडी पुर्याउन नै हम्मे छ ।
मलेसियासँग मैत्रीपूर्ण, अनि विश्वकप र एसियन कप छनोटमा बहराइनसँग खेल्न मंगलबार घोषित २३ सदस्यीय नेपाली टोलीमा नयाँ खेलाडीहरुको बाहुल्य छ । कतिसम्म भने केहीले त अहिलेसम्म राष्ट्रिय लिगसमेत खेलेका छैनन् ।
नेपालले ३ दिनपछि १५ मार्चमा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल बहराइनसँग हुने दुई खेलका लागि तयारीको रुपमा लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यस्तै विश्वकप र एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले बहराइनसँग मार्च २१ र २६ मा खेल्दैछ ।
तीन खेलका लागि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले घोषणा गरेको २३ सदस्यीय टोलीमा किरणकुमार लिम्बु, अनन्त तामाङ र अञ्जन विष्ट सबभन्दा अनुभवी खेलाडीको रुपमा छन् । राष्ट्रिय टिमको कप्तानी गरिसकेका भरत खवासले पुनरागमन गरेका छन् । त्यसपछि सबभन्दा अनुभवी खेलाडीको रुपमा मनिष डाँगी छन्, जसले सन् २०२१ मा डेब्यु गरेका थिए ।

बाँकी १८ मध्ये ६ नयाँ अनुहार छन् । डिफेण्डरहरु अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई (सञ्जित), विशाल बस्नेत, मिडफिल्डर रोहन कार्की र फरवार्ड समिर तामाङ नयाँ अनुहार हुन् । दुई गोलकिपर विशाल सुनार र अभिषेक बराल यसअघि राष्ट्रिय टिममा परेपनि डेब्युको पर्खाईमा छन् । अर्थात ८ खेलाडीले डेब्यु गर्न बाँकी छन्, बाँकी १० जना टिममा आउने जाने भइरहेका छन् ।
नयाँ खेलाडीहरुको बाहुल्य रहेको नेपाली टिमलाई अहिले मैदानमा राम्रो प्रदर्शन गर्नु चुनौतीपूर्ण छ, टिममा परेका नयाँ खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसर छ ।
बलियो टोलीविरुद्ध छोटो तयारी
नेपालले यस पटक बहराइनसँग घरेलु मैदान, दशरथ रंगशालामा खेल्ने अवसर गुमायो । दरशथ रंगशालाको स्तर विश्वकप छनोट खेलाउन लायक नभएपछि नेपालले होम म्याच खोसियो । दुवै खेल विपक्षीको घरेलु मैदानमा खेल्नुपर्ने भयो ।
त्यसमा पनि नयाँ खेलाडीहरु रहेको नेपाली टिमले छोटो तयारी गरेकाले कुनै पनि खेल सहज हुने छैन । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस भने खेलका लागि तयार छन् ।
‘६ दिनको छोटो समयको तयारी भयो, तर हामी कठिन विपक्षीसँग खेल्न मानसिक रुपमा तयार छौं’, मलेसिया जानुअघि सञ्चारकर्मीहरुसँग भने, ‘हाम्रा लागि नयाँ खेलाडीसहितको युवा टिम खेल्ने अवसर छ ।’
एनेसले घरेलु मैदानमा खेल्न नपाउनु खेलाडी समर्थक र सबैलाई लागि दुःखद भएको भन्दै माफीसमेत मागे । ‘घरेलु मैदानमा खेल्न नपाउनु खेलाडी, स्टाफ, एन्फा सबैका लागि दुःखद क्षण हो’ उनले भने, ‘हामी समथर्कसँग क्षमा माग्न चाहन्छौं ।’
महत्वपूर्ण सदस्यहरु नै अनुपस्थित
मुख्य प्रशिक्षक एनेसले २३ खेलाडी छनोट गर्नका लागि ३३ जनालाई बन्द प्रशिक्षणमा बोलाएका थिए । तर केही खेलाडीले व्यक्तिगत कारण देखाउँदै प्रशिक्षणमा आउन नसक्ने जनाए ।
नेपाली टोलीमा नियमित पर्ने आयुष घलान, दीप कार्की, एरिक विष्ट जस्ता खेलाडी यस पटक टिममा छैन । ‘दीप, (आयुष) घलानहरु छैनन् । उनीहरु व्यक्तिगत कारणले आएनन् । म उनीहरुको निर्णयलाई सम्मान गर्छु’ एनेसले भने ।
एरिक विष्ट भारतमा आई लिग खेलिरहेका छन् । नेपालको नियमित सदस्य रोहित चन्द पनि यस पटक टिममा छैनन् । इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका रोहित आफ्नो बुबाको निधनका कारण टिममा उपलब्ध छैनन् । सुरजज्यू ठकुरी, राजेश परियार लगायत खेलाडी पनि राष्ट्रिय टिममा छैनन् ।
महत्वपूर्ण खेलाडीहरु उपलब्ध नभएपछि सौभाग्य राई, भरत खवास लगायतलाई प्रशिक्षणमा बोलाइएको थियो । ‘घलान, दीप र अन्य खेलाडी धेरै कारणले गर्दा टिममा छैनन् । त्यसैले मैले टिमलाई फरक तरिकाले एडजस्ट गर्नुपर्छ’ उनले भने, ‘चुनौती छ, तर धेरै युवा खेलाडी रहेको टिमलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्नुलाई अवसरका रुपमा हेर्छु ।’
मुख्य प्रशिक्षक एनेसका अनुसार अहिले नेपाल मलेसियासँग हुने मैत्रीपूर्ण खेलमा फोकस छ । त्यो खेलमा सबैलाई टिममा समावेश गरेर खेलाउने प्रयास गर्ने भन्दै उनले भने, ‘बहराइनसँगको खेलबारे मलेसियासँग खेलेपछि जवाफ दिनु ठीक हुन्छ ।’
 
                    










 २०८० फागुन  २९ गते २१:४५
                        २०८० फागुन  २९ गते २१:४५                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4