 
																			काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक पुनः एकपटक अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा परेको छ । र, यसले वालस्ट्रिटका कतिपय लगानीकर्तालाई त्रसित बनाइदिएको छ।
फेसबुकको मातृ कम्पनी मेटा पछिल्ला दिनहरुमा शेयर बजारमा निकै सफल कम्पनीको रुपमा रहँदै आएको थियो । तर सिएनबीसीसँगको कुराकानीमा ट्रम्पले फेसबुकलाई जनताको शत्रु भनेपछि मेटाको शेयर मूल्यमा सोमबार ४ प्रतिशतले गिरावट आएको हो ।
यसअघि शुक्रबार ट्रम्पले आफ्नो सोसल मिडिया प्लाटफर्म ट्रुथ सोसलमा फेसबुकलाई जनताको वास्तविक शत्रु भन्दै पोस्ट गरेपछि मेटाको शेयर थप १.२ प्रतिशतले घटेको थियो । बिहीबार बेलुकीबाट ट्रम्पले सुरु गरेको आक्रमणपश्चात् फेसबुकको बजार पुँजीकरण ६० अर्ब डलर भन्दा धेरैले घटेको छ ।
विश्लेषकहरुका अनुसार मेटाको शेयर मूल्य घट्नुको एकमात्र कारण अमेरिकाका पूर्व राष्ट्रपति तथा सम्भावित भावी राष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पको फेसबुक विरोधी अभिव्यक्ति नै हो ।
डिए डेडिभसनका विश्लेषक गिल लुरिया भन्छन्, ‘यो सम्पूर्ण रुपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीकै असर हो । फेसबुक राजनीतिक विवादमा घिसारिने लहरबाट गुज्रिएको छ र यो उसका लागि कहिल्यै पनि सुखद रहेन ।’
तर उता अर्को सोसल मिडिया प्लाटफर्म टिकटकविरुद्ध गतहप्ता ट्रम्पले दिएको अभिव्यक्तिले भने धेरैलाई आश्चर्यमा पारेको थियो । अमेरिकी संसदले टिकटकमाथि बिक्री वा बन्देजको विकल्प सहितको विधेयक पारित गरिरहँदा ट्रम्पले भने टिकटक विरुद्धको आफ्नो पूरानो अडान विपरित अभिव्यक्ति दिएका थिए।
टिकटकमाथिको प्रतिबन्धले उल्टै फेसबुकलाई फाइदा पूराउने उनको तर्क थियो । फेसबुकसँग उनको पूरानो दुस्मनी रहेको छ ।
सिएनबिसीलाई दिएको अन्तरवार्तामा ट्रम्पले भनेका छन्, ‘टिकटकको अनुपस्थिति भनेको फेसबुकलाई ठूलो बनाउनु हो, जुन मैले चाहँदिन । र, मलाई लाग्छ कि फेसबुक भनेको जनताको शत्रु हो र त्यसका लागि धेरै मिडियाहरु पनि जिम्मेवार छन्।’
सन् २०२१ के जनवरी ६ मा ट्रम्पका समर्थकहरुले अमेरिकी संसदमा गरेको दंगापश्चात् फेसबुकले ट्रम्पमाथि २ वर्षको प्रतिबन्ध लगाएको थियो । मेटाले सन् २०२३ को फेब्रुअरीमा मात्रै फेसबुक र इन्स्टाग्राममा ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।
ट्रम्पले भनेका छन्, ‘मलाई लाग्छ फेसबुक निकै बेइमान छ । यो फेसबुक खासगरी चुनावका बेला हाम्रो देशका लागि निकै नै खराब छ ।’ सीएनएनबाट
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4