+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यस्तो थियो पारश शाह र रुबेल चौधरीको विवाद

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १ गते १७:५०

१ पुस, काठमाडौं । तीन वर्षअघि नेपालका दुई ‘भीभीआइपी’ परिवारका सदस्यबीच भएको झगडा स्वदेशी मात्रै होइन, विदेशी सञ्चार माध्यमका लागि पनि गतिलो खुराक बनेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहका एक्ला छोरा पारस र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नातिनी ज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीबीचको झगडाले चर्चा पाउनु स्वभाविक नै थियो । नेपालका यति उच्च घरानाका सदस्यबीचको सोझो टक्कर सम्भवतः पहिलो थियो, जुन चितवन राष्ट्रिय निकुञ्जको एक होटेलदेखि प्रहरी हुँदै इजलाससम्म पुग्यो ।

paras-rubel

घटना ०६७ मंसिर २५ गतेको हो । छोरी पूणिर्काको जन्मोत्सव मनाउन पूर्वयुवराज पारस परिवार र नातेदारसहित तीन दिनअगाडि नै चितवन राष्ट्रिय निकुञ्ज पुगेका थिए । त्यहाँको टाइगर टप्स होटेलमा बसेेका उनले २६ मंसिरसम्मका लागि होटेल बुक गराइसकेका थिए । २५ मंसिरमा उनकी छोरीको जन्मदिन थियो । पोखराबाट फिस्टेल एयरको हेलिकोप्टरमा पारस परिवारसहित चितवन पुगेका थिए । घुमघामका लागि रुबेल चौधरी पनि परिवार र साथीहरुसहित त्यही होटेलमा पुगे २५ मंसिर ०६७ मा । औपचारिक रुपमा चिनजान भएको केही घन्टामै दुई जनाबीच भनाभन मात्रै भएन, गोली हानेर ज्यान लिने प्रयाससम्म भयो ।

पूर्वयुवराज पारसले होटेलमा अश्लील शब्दहरु प्रयोग र हुलहुज्जत गर्दै गोली पड्काएर आतंक मच्चाएको भन्दै प्रहरीले उनीविरुद्ध केही सार्वजनिक अपराध र सजाय ऐनअन्र्तगत कारबाहीको मुद्दा दायर गर्‍यो । रुबेल चौधरीले त आफूलाई गोली हानेर मार्ने प्रयास नै गरेको बताएका थिए । दुई घरानिया र शक्तिशाली परिवारका सदस्यबीचको मुद्दाको किनारा लगाउन चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमलाई पनि फलामको चिउरा चपाएझैँ भयो ।

इजलासमा पुगिसकेको मुद्दाको छिनोफानो कि सजाय कि सफाइ दिएर गर्नुपर्नेमा उनले ‘दहीचिउरे’ फैसला दिए, त्यो पनि तीन वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । पारस र रुवेलवीचको त्यसबेलाको झगडाबारे मिरर न्युज मासिक ले आफ्नो पुस अंकमा प्रकाशित गरेको दुबै झगडियाको वयान यस्तो छ –

Rubel Chaudharyरुबेलको वयान : पारसले लाइन लाएर मार्छु भने

मिति २०६७/०८/२५ गते साँझ अन्दाजी १६:३० बजेको समयतिर म चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स होटेलमा मेरो आफन्त तथा परिवारको साथमा थिएँ । मेरो पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यता र वन्यजन्तुको अवलोकन गर्न भनेर उक्त होटेलमा गएको थिएँ । सो अवसरमा मेरो साथमा मेरी श्रीमती मेलानी कोइराला (चौधरी), छोरा मोहिन, सान्तु श्रेष्ठ र सारिक लारी र निजका परिवारसमेत थिए । सो अवस्थामा उक्त होटेलमा माथि उल्लिखित व्यक्तिबाहेक अन्य पूर्वचिनजानका व्यक्ति कोही थिएनन् ।

सोही दिन साँझ ७:३० बजेको समयमा होटेलको गोलघरमा परिवार र साथीहरू सबै डिनर (साँझको खाना) खान भनी गएका थियौँ । किनकि नानीहरू सुत्नुअघि नै डिनर खुवाउन चाहन्थ्यौँ । डिनर खाने ठाउँ र सुत्ने होटेल अलग-अलग थियो । हामीले डिनर खाने ठाउँ गोलघरबीचमा भएको आगोको तापनजिकको टेबलमा खाना मगाई खाने तर्खर गर्दा करिब रातको २०:०० बजेको समयतिर पारस शाह आए । मेरा साथीहरूले पारस शाहसित परिचय गराए । साथीहरू नै पहिला गएर पारस शाहसित बोले । म परिवारसाथ कुनाको अर्कै डिनर टेबुलमा थिएँ । यसअघि मैले पारस शाहलाई चिनेको थिइनँ । साथीहरूले मलाई पनि पारस शाह भएको टेबुलमा बोलाए र म त्यहाँ गई निजसँग हात मिलाएँ । डिनरपछि मेरी श्रीमती र साथीहरूको श्रीमती आगोछेउमा बसिरहेका थिए ।

हामीहरू अर्को टेबुलमा बसी प्रकृतिबीचसँग छलफल गरिरहेका थियौँ । उनी लन्डनबाट आएका हुनाले त्यहाँका विषयमा कुराकानी भइरहेको थियो । श्रीमती र नानीहरू कोठामा जान चाहे । यसभन्दा अगाडि पारस शाह झन्डै १०/११ पटक भित्र बाहिर गरिरहेका थिए । त्यसपछि पारस शाह आएर हामीहरूकै टेबुलमा बसे । उहाँले एक बोतल ब्ल्याक लेबल ह्वीस्की ल्याएर सबैका लागि हाल्न थाल्नुभयो । मैले मेरो स्वास्थ्य र थकानका कारणले गर्दा लिन्न भनेँ । मैले हट लेमन लिइरहेको थिएँ ।

mirror-newsपारसले तिमीले लिनैपर्छ भनेर जिद्दी गरेका कारण ‘तपाइर्ंले भनेपछि नाइँ भन्न सकिनँ, राखिदिनुस्’ भनेँ । तर, त्यसभन्दा पहिले म मेरी श्रीमती र बच्चा हेरेर आउँछु भनेँ । किनभने त्यहाँबाट जाँदा निस्किएर जंगल हुँदै होटेलको सुत्ने कोठा पुग्नुपथ्र्यो । उहाँले ‘ओके-ओके’ भन्नुभयो । उक्त स्थानमा सेनाका मान्छे, अरू अन्य मान्छे, निजका अन्य मान्छे र पारस शाहका ब्रदर इन ल पनि थिए ।

म उक्त ठाउँबाट श्रीमती र नानीहरू हेर्न भनी होटेलको सुत्ने कोठामा गएर मेरो परिवार र साथीको परिवार हेरी फर्किएँ । र्फकन लाग्दा हाम्रा श्रीमान्हरू पनि त्यहीँ बसेका छन्, उनीहरूले धेरै पिएर मात्न सक्छन्, भोलि हामीहरू हात्ती चढ्ने कार्यक्रम भएकाले समयमै ल्याउनु भनी भने । म पुग्नुअघि पारसले साथीहरूलाई ‘तिम्रो साथीलाई डि्रंक राखिदिए तर ऊ छाडेर गयो’ भनेर भनेका रहेछन् । म फर्केर गएका कारण उहाँ ठिकठाक हुनुभयो र मसँग नेपालबारे सोध्नुभयो ।

मैले यहाँको जनता, मौसम राम्रो लाग्छ भनेपछि पारसले मलाई नेपालको राजनीतिबारे सोध्नुभयो । मैले ‘म लन्डनमा हुर्किएँ, त्यसपछि नेपालमा प्रेम भएकै कारण आएँ र यहाँ सामाजिक रूपमा घुलमिल गर्छु तर राजनीतिबारे मलाई जानकारी छैन’ भनेँ । त्यसपछि उहाँले ‘गिरिजाबाबुले राजतन्त्र हटाएर ठूलो गल्ती गर्नुभयो भन्ने तपाइर्ंलाई लाग्दैन ?’ भनेर सोध्नुभयो । मैले ‘यो राजनीतिक प्रश्न हो, यसबारे मलाई कुनै पनि ज्ञान छैन, बुझ्नुपर्ने कारण पनि छैन, त्यसैले मलाई यसमा उद्धृत नगर्नुहोला’ भनेर जवाफ दिएँ । त्यसपछि उहाँ (पारस) ले ‘हामी कसरी अगाडि बढ्नुपर्छ होला ? आर्थिक विकास अत्यावश्यक छ जस्तो लाग्छ/लाग्दैन ?’ भनेर सोध्नुभयो । मैले ‘सबैलाई साथमा लिएर हिँड्नुपर्छ, तपाइर्ंले धेरै मान्छेलाई चिन्नुभएको हुँदा सामूहिक रूपमा अगाडि बढ्नुहोस्, आर्थिक विकास अत्यावश्यक छ’ भनेपछि उनले ‘तपाइर्ं त राम्रो परामर्शदाता हुनुहुँदोरहेछ, मलाई तपार्इले जिन्दगीभरि परामर्श दिनुपर्छ’ भनी मलाई अंकमाल गरे । मेरा साथीहरूले पारसलाई आठ/दस वर्ष पहिलेदेखि चिनेका रहेछन् । उनीहरूले आश्चार्य माने । पारसका ब्रदर इन लले समेत मेरो प्रशंसा गरी ‘तपाइर्ंको बारे धेरै सुनेका थियौँ,’ भने ।

त्यत्तिकैमा पारसले एकाएक ‘बाघको सिकार गर्न जाऔँ’ भने । मैले ‘माफ गर्नुहोला म धेरै थाकेको छु, दुई/तीन बाघ छन्, बाघको सिकार गर्नुहुन्न, आज म धेरै थाकेको छु, भोलि दिनभरि केटाकेटीसँग गर्नुपर्ने धेरै काम छन्, बरु हामीहरू भोलि भेट गरौँला र जाऔँला’ भनेँ । त्यो समयसम्म पारस शाहले आधा बोतल ह्वीस्की खाइसकेका थिए । पछि बाघ हेर्न जाने र सिकार गर्न जाने कुरामा जिद्दी गर्नुभयो । त्यसपछि उहाँका ब्रदर इन लसँग कुरा गर्न थाल्नुभयो । र, निजले पारसलाई शौचालयतिर लगी फर्केर आउँदा पारस पूरै परिवर्तित भई अनुहार अँध्यारो र आँखा राता-राता पारी ‘जानैपर्छ’ भनेर जिद्दी गरे ।

‘मसँग जानुबाहेक अन्य विकल्प छैन’ भनी दबाब दिन थाले । मैले निजसँग ‘अरे, यो कस्तो दबाब हो ? हामी सुत्न चाहन्छौँ, हामी साथीहरू थाकेका छौँ’ भनेपछि पारस शाह बाहिर गएर आफ्ना ब्रदर इन लसित कुराकानी गरेर आउनुभयो । र, बारमा गएर फेरि ह्वीस्की पिउनुभयो । त्यसपछि फेरि मसँग आएर ‘तिमी मसित जानुको विकल्प छैन, हैन भने आज राति तिम्रो र तिमीहरूको परिवारलाई जे पनि हुनसक्छ’ भनी धम्कीपूर्ण दबाब दिनुभयो । उहाँ आफ्नो हात ज्याकेटको गोजीमा राखी ‘क्लिक-क्लिक’ को आवाज दिँदै यताउता गर्न थाल्नुभयो । सो आवाज बन्दुकको जस्तो थियो र मलाई उहाँसँग बन्दुक छ भन्ने लाग्यो । मैले सोचँे, मलाई जंगलमा लैजानुका कारण मलाई सिध्याउने रहेछ भन्ने विश्वास भयो ।

म जंगल जान इन्कार गरँे । उहाँले ‘तिमीहरू मसँग जानुबाहेक अर्को विकल्प छैन’ भनी कर गरिरहेकोमा बारबाट बाहिर निस्केर पेस्तोल लोड गर्नुभयो वा के गर्नुभयो, टेबुलमुनि केही गरिरहेका थिए । फेरि आएर ‘जंगल नजाने हो भने मारिदिन्छु, कसैले फेलापार्ने छैन, तँलगायत तेरो श्रीमती र बच्चालाई समेत सिध्याइदिन्छु । म युवराज हुँ, तँ को होस् ?’ भनी धम्काउन थाले ।

आफ्नो ज्याकेटको गोजीबाट पेस्तोल निकाली मेरो निधारमा ताकी गालीगलौज गर्दै नराम्रा अपशब्द बोल्न थाले । ‘यु आर डेड । यु आर द बास्टर्ड, वी ह्याज फिनिस्ड होल मोनार्की सिन्स यु ह्याभ अराइभ्ड दिस कन्ट्री’ भनी कडा स्वरमा अपशब्द बोलिरहे । मलाई गोली ताकेकै अवस्थामा उहाँले निकै आक्रोशित भएर ‘म सुट गर्न गइरहेको छु, कसैले एक शब्द भन्न सक्ने छैन, यो मेरो एरिया हो । तिम्री श्रीमती र छोरालाई ल्याउन आदेश दिइसकेँ, म तिमीहरूलाई लाइन लगाएर मारिदिन्छु’ भने । गोली ताकेकै अवस्था भएकाले म डरले काँपिरहेको थिएँ ।

‘पारसको साथमा भएको बन्दुक कसैले हटाइदिए हुन्थ्यो, खोसिदिए हुन्थ्यो’ भनेर मेरो दिमागले हजारौँ कुरा आफ्नो बचावटका लागि सोचिरहेको थियो । ‘तेरो श्रीमती र बच्चालाई समेत ल्याई सँगै मारिदिन्छु’ भनी निज पारस शाह घुमेजस्तो गरेको अवस्थामा म त्यहाँबाट भागी बाहिर गई झाडीमा लुकेँ । सोही बखतमा गोलीको ठूलो आवाज सुनँे । निजले मेरी श्रीमती र छोरालाई मारिसक्यो भन्ने लाग्यो । ‘मेरो सबै बर्बाद भयो’ भनी दुई घन्टासम्म भगवान्को प्रार्थना गरेँ । म सोही झाडीमा लुकिरहेको अवस्थामा सोही होटेलका कर्मचारी र निज पारसका सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले मलाई झाडीबाट सुरक्षित साथ मेरी श्रीमती र छोरा बसेको होटेलको कोठाको बरन्डामा पुर्‍याए ।

भोलिपल्ट बिहान अर्थात् मिति २०६७/०८/२६ गते अन्दाजी ९ः३० बजे सुरक्षाकर्मीसाथ नवलपरासीमा रहेको चौधरी ग्राममा राखी भोलिपल्ट उक्त स्थानबाट माउन्टेन एयरको हेलिकोप्टरद्वारा काठमाडौं आई काठमाडौं जिल्ला महाँकाल गाविस वडा नम्बर-८ मन्डिखाटारमा बसेको छु ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाबाबुको परिवारसँग मेरो नाता सम्बन्ध रहेको र गिरिजाबाबुकै कारणले गर्दा नै नेपालमा राजतन्त्र अन्त्य भएको भन्ने निज पारस शाहको ठम्याइ रही त्यसकै प्रतिशोधका कारणले म र मेरो परिवारलाई मार्ने नियतले निज पारस शाहले मलाई हतियार देखाइ उक्त दिन आक्रमण गरेका हुन् । निज पारस शाह र उनका मानिसबाट म र मेरो परिवार असुरक्षित रहेको महसुस गरेको छु । राज्यकै तर्फबाट सुरक्षा आवश्यक व्यवस्था मिलाइपाऊँ । मेरो नेपाल र नेपालीप्रति सदा सर्वदा सम्मान छ ।

parasपारस वयान : मैले बन्दुक पड्काएको छैन

मेरी जेठी छोरी पूणिर्काको जन्मदिनको अवसर पारेर मिति ०६७/०८/२२ गते देखि यही २६ गतेसम्म चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत टाइगर टप्स होटेलमा घुम्न सपरिवारसहित गएका थियौँ । २५ गते बेलुका आठ/नौ बजेको समयमा उक्त होटेलको डाइनिङ रुम (गोलघर) मा खाना खाइरहेको अवस्थामा रुबेल चौधरीसमेत सोही ठाउँमा आएर निजले मलाई आफ्नो परिचय दिएपछि निज रुबेल चौधरीले मसँग छलफल गर्दा लाउडा विवाद,हेटौँडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, बोइङ-७५७ बेचेको कुरामा विवाद भयो । उसको (रुबेल चौधरी) परिवारले नेपाल र नेपालीलाई के योगदान दियो भन्ने विषयमा समेत विवाद भएको थियो । विवाद हुनेक्रममा मेरो परिवारलाई समेत निज रुबेल चौधरीले गालीगलौज गर्‍यो । नेपाल र नेपालीलाई होच्याउने कुरा गर्‍यो । हिन्दू धर्मप्रति अनास्था फैलाउने कुरा गरेपछि म आवेशमा आई भनाभनसम्म भएको हो, बन्दुक पड्काउने कार्य गरेको छैन । मलाई राज्यद्वारा नै सुरक्षा व्यवस्था (अंगरक्षक) गरिएकाले मैले हतियार लिन र पड्काउन आवश्यकता नै छैन ।

मैले रुबेल चौधरीलाई अश्लील शब्द बोलेको छैन, उल्टो निजले आवेशमा आई अश्लील शब्द बोलेका हुन् । निजले माथिका कुराको अलावा शान्तिसेनामा खटिएर जाने (डार्फर केस) टोलीले प्रयोग गर्ने एपीसी सामग्री खरिद प्रक्रियामा घोटाला गर्दा पनि मलाई के गर्न सक्यो भनेर आफ्नो अहम्पना देखाएको, नेपाल भन्ने देश भारतको एउटा उपनिवेश हो भन्नेजस्ता तुच्छ तथा नेपाल र नेपालीको मन छुने अपशब्द प्रयोग गरेका थिए । यस्तै कुराले गर्दा विवाद भएको थियो । भनाभन हुँदाको अवस्थामा मेरो परिवार सुत्न गइसकेको थियो । उक्त समयमा आदर्शविक्रम राणा, अभय शाह, राजीवराज शाह र फणीन्द्र भण्डारीसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?