 
																			१४ चैत, काठमाडौं । बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।
यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइन पटके भुक्तानी सेवा सुरु गरेको हो ।
अनलाइन मार्फत भुक्तानी हुने भएपछि सेवाग्राहीलाई सहज हुने प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्सालले अस्थायी रुट परमिट पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने अवस्था अन्त्य भएको बताए ।
‘प्रदेशको यातायात सेवालाई डिजिटलाइजेसन गर्न ६/७ महिना अगाडिदेखि काम थालिएकोमा अबदेखि घरबाट नै सेवाग्राहीले सेवा पाउनेछन्,’ मन्त्री लम्सालले भने ।
उनले रातिको समयमा पटके इजाजत सेवा लिन र दिन सहज नहुने भन्दै यस्तो अवस्थामा अनलाइनले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो हुने बताए ।
‘घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको हो,’ लम्सालले भने ।
कसरी लिने सेवा ?
अनलाइन प्रणाली मार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटो इजाजत पटके लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्नेछन् र त्यसबापत् बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्नेछन् ।
यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको अस्थायी पटके इजाजत सेवालाई मन्त्रालयले विकास गरेको ‘यातायात व्यवस्थापन सूचना प्रणाली’ (टीएमआईएस) मार्फत जारी हुने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4