+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीरगञ्ज भन्सारबाट ८ महिनामा १ खर्ब मात्र राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्र

रासस रासस
२०८० चैत १५ गते १९:५४

१५ चैत, वीरगञ्ज (पर्सा) । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ ।

गत साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताए ।

‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’

भन्सार कार्यालयले सरदर दैनिक ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताए ।

यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलासिता शुल्क उठाउँदै आएको छ । भन्सार विभागले चालु आर्थिक वर्षमा यस कार्यालयलाई दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार साउनमा ११ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । भदौमा १२ अर्ब ७१ करोड, असोजमा १४ अर्ब २७ करोड, कात्तिकमा १० अर्ब ३२ करोड, मङ्सिरमा १२ अर्ब ८२ करोड, पुसमा १२ अर्ब ७४ करोड, माघमा  ११ अर्ब ८३ करोड तथा फागुनमा १३ अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७९/८० को आठ महिनाको अवधिमा एक खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा एक खर्ब एक अर्ब ५३ करोड ८० लाख ७५ हजार राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल नेपालका उद्योगधन्दा धरासायी अवस्थाबाट गुज्रिरहेकाले पनि पर्याप्त मात्रामा उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ आयात नहुँदा राजस्व घटेको हुन सक्ने बताए ।

प्रमुख भन्सार प्रशासक पन्थी भने चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात कम भएकाले भन्सार राजस्व घटेको बताए । ‘चालु आवमा इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ ।

आएका सवारीसाधन पनि अधिकांश विद्युतीय सवारीसाधन भएकाले राजस्वमा प्रत्यक्ष असर देखिएको हो’, उनले भने, ‘कच्चा खानेतेलको आयात ६२ प्रतिशतले गिरावट आएको छ । यसका साथै औद्योगिक क्षेत्रमा आवश्यक पर्ने कच्चापदार्थ र सुर्तीजन्य पदार्थको आयात घटेकाले राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखिएको हो ।’

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब चार अर्ब राजस्व सङ्कलन गरेको थियो । आव २०७९/८० मा एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २१ हजार सङ्कलन गरेको थियो । यस्तै कार्यालयले चालु आर्थिक वर्षका आठ महिनाको अवधिमा भने ९९ अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ ।

राजस्व सङ्कलनमा वीरगञ्ज भन्सार कार्यालय मात्रै होइन, समग्रमा सङ्घीय सरकारले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकिरहेको छैन ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० चैत १४ गतेसम्मको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार राजस्व शीर्षकमा लक्ष्यको ४६ दशमलव ३५ प्रतिशत अर्थात् रु ६ रु खर्ब ५९ अर्ब ३४ करोड मात्रै सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमा १४ खर्ब २२ अर्ब ५४ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?