+
+

नेपालमा पहिलो पटक ‘सावर बन्जी’ सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १२:१८

२७ चैत, काठमाडौं । पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु गर्ने भएको छ ।

बन्जी गर्दा पानीको फोहोराको मजा लिन पाइने छ । एड्भेन्चर कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले हेम्जामा सञ्चालन गर्न लागेको बन्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी फरक स्वाद पस्किने योजना अनुसार सावर बन्जीको अवधारणा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले बताए ।

१८ चैतमा सावर बन्जी उद्घाटन गरिने महर्जनले जानकारी दिए । ‘विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बन्जी सुरु गर्न पाउँदा उत्साहित छौं,’ महर्जनले भने ।

उनका अनुसार ६ हजार ५ सय रुपैयाँमा फोटो, भिडियो र टिसर्टसहित बन्जी बुक गर्न सकिने छ । जसमा प्रमाणपत्र र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायात सुविधा समावेश छ ।

हाइग्राउन्डले युरोपेली एडभेन्चर कम्पनी ‘बन्जी लाट्भिया’ सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बन्जी जम्प सुरु गरेको थियो । क्यान्टिलिभर ब्रिजको मोडेलमा बनाइएको यो नेपालकै पहिलो टावर बन्जी पनि हो ।

कम्पनीले २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन भित्र्याएको थियो । सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखरा सराङकोट टाकुराबाट हेम्जा फाँट पुगिने जिपलाइन अमेरिकी एडभेन्चर कम्पनी ‘जिप फ्लायर यूएस’ को फ्र्यान्चाइज जिपलाइन हो ।

विश्वकै भिरालो र छिटो (द वर्ल्ड स्टिपेस्ट एन्ड फास्टेस्ट) र विश्वकै दोस्रो लामो जिपलाइनमा दुर्य वर्षअघि सुपरम्यान जिपलाइन पनि सुरु गरिएको थियो ।

कम्पनीले हेम्जा स्टेसनमा नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ, कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ एक्लै, जोडीमा वा तीन जनासम्म एकै पटक बसेर खेल्न मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?