+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखाको बोर्लाङमा बन्दैछ भीमसेन थापा स्मृति पार्क

विकास मरहट्टा विकास मरहट्टा
२०८१ साउन ९ गते १९:११

९ साउन, गोरखा । नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको स्मृतिमा गोरखाको बोर्लाङमा पार्क निर्माण हुने भएको छ । भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित चण्डीस्थानमा पार्क निर्माणको काम अघि बढेको हो ।

पार्क निर्माणका लागि विगत तीन बर्षदेखि पालिकाले कुल ५० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए ।

उक्त रकमबाट सो क्षेत्रमा भीमसेन थापाको पूर्ण कदको शालिक, प्रवेशद्वार र सिँढी निर्माण गरिएको छ । मिनि संग्रहालयको रुपमा भीमसेन थापा स्मारक संग्रहालय पनि निर्माण भएको छ । करिव नौ रोपनी क्षेत्रफलमा घेराबार लगाउने काम समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

भीमसेन थापा बोर्लाङ प्रतिष्ठानले भीमसेन थापाको नाममा रहेको जग्गा फिर्ता ल्याउने काम गरेको छ । ‘नापीमा बुझ्दा भीमसेन थापाको नाममा रहेको यहाँको जग्गा व्यक्तिहरुको नाममा पास भइसकेको रहेछ’, प्रतिष्ठानका अध्यक्ष राजु थापाले भने, ‘हामीले किनेर भएपनि करिव नौ रोपनी जग्गा प्रतिष्ठानको नाममा ल्याएका छौ ।’

साढे दुई रोपनी जग्गा दानमा प्राप्त भएको र बाँकी खरिद गरिएको उनले जानकारी दिए । ‘अहिले मिनी संग्रहालय राखिएको घर पनि व्यक्तिको थियो, त्यसलाई पनि प्रतिष्ठानले किनेको हो’, उनले भने ।

संग्रहालयमा भीमसेन थापाले प्रयोग गरेका पोशाक, हातहतियार लगायतका सामग्रीहरु राखिएका छन् । २०८० साल साउन ९ गते उद्घाटन गरिएको उक्त संग्रहालय अवलोकन हालसम्म निशुल्क थियो । अब भने शुल्क तिर्नुपर्ने प्रतिष्ठानका अध्यक्ष थापाले बताए । उनका अनुसार विद्यार्थीका लागि १० र अन्यका लागि २० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

भीमसेन थापा स्मृति पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको गाउँपालिका अध्यक्ष बञ्जराले बताए । ‘यहाँ पहिले भीमसेन थापाको दरबार पनि थियो, १९९० सालको भूकम्पले त्यो भत्कायो’, उनले भने, ‘अब त्यस्तै दरबार बनाएर त्यसलाई संग्रहालय बनाउने योजना डीपीआरमा छ ।’

डीपीआर अनुसार योजना सम्पन्न गर्न करिव ६ करोड बजेट आवश्यक पर्ने बताउँदै उनले पालिकाको बजेटबाट मात्र त्यो सम्भव नहुने बताए । संघ र प्रदेश सरकारसँग समन्वय गरेपनि आवश्यक सहयोग नपाएको अध्यक्ष बञ्जराको गुनासो छ ।

भीमसेन थापाको २५० औ जन्मजयन्तीको अवसरमा पारेर बुधबार पार्कमा कार्यक्रम गरिएको छ । भीमसेन थापा बोर्लाङ प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा भीमसेन थापाको शालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले ऐतिहासिक र परम्परागत धरोहरलाई जोगाउँदै लानुपर्ने बताए । सो क्षेत्रलाई ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न उनले सुझाव दिए ।

अध्यक्ष बञ्जराले इतिहासको जर्गेना गर्दै त्यसको संरक्षण र सम्वर्द्धनका लागि पार्क निर्माणले सहयोग पुग्ने बताए । पर्यटन प्रवद्र्धनमा पनि यसले सहयोग पुग्ने भन्दै उनले पार्क निर्माणका लागि सहयोग गर्न सबै पालिकावासीलाई आग्रह गरे ।

‘एकले थुकी सुकी, सयले थुकी नदी भनेजस्तै यो पार्क निर्माणका लागि सबै लागि पर्नुपर्छ । संघ र प्रदेशबाट बजेट नआएपनि पालिकाले यसलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्छ र यसलाई हामी बनाएर छाड्छौं’, उनले भने । उक्त पार्कका लागि यो बर्ष पनि १० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी गराए । भीमसेन जयन्तीको अवसरमा बुधबार पालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

भीमसेन थापाको जन्मजयन्तीकै अवसर पारेर भीमसेन थापा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन परिसरमा निर्माण भएको शहीद वाटिकाको पनि उद्घाटन गरिएको छ ।

शहीद वाटिकाभित्र विभिन्न कालखण्डमा राष्ट्रका लागि ज्यान गुमाएका शहीदहरुको सम्झनामा शहीद स्तम्भ निर्माण गरिएको छ । त्यस्तै तत्कालिन सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालिन बिद्रोही पक्षबाट बेपत्ता पारिएकाहरुको सम्झनामा बेपत्ता स्तम्भसमेत निर्माण भएको छ ।

शहीदहरुको सम्झना र सम्मानस्वरुप उक्त शहीद वाटिका निर्माण गरिएको पालिका अध्यक्ष बञ्जराले बताए । सँगै भीमसेन थापाको स्तम्भ स्वरुप मिनी धरहरा समेत निर्माण गरिएको उनले जानकारी दिए । प्रदेश सरकारको २५ लाख रुपैयाँमा उक्त शहीद वाटिका निर्माण भएको पालिकाले जनाएको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?