 
																			१ भदौ, भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ ।
आमचोक गाउँपालिका-२ मा सात कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्लाको खेती थालेका छन् ।
बसाइँसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिब तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाँइले बताए ।
हालसम्म १८ हजार बिरुवा रोप्ने काम सम्पन्न भएको उनले जानकारी दिए । बगामी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
‘सात जना कृषक मिलेर व्यावसायिक रुपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौं’, उनले भने, ‘हालसम्म १८ हजार विरुवा विस्तार गरिसकेका छौँ । शुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केहि सहयोग पाउँदा खुसी लागेको छ ।’
किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए ।
भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उनको भनाइ छ । ‘भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ’ उनले भने, ‘यहाँको सम्भावनाको पहिचान गरेर लोडसल्ला, सतुवा,चिराईतोको व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएका छौं ।’
आमचोक क्षेत्रमा किसानहरुले उदाहरणीय रुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ ।
किसानले स्वतस्फूर्त थालेको काममा केहि प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा विरुवा खरिदको लागि चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।
यहाँका किसानले थालेको लोठसल्ला खेती नमूनायोग्य रहेको उनको भनाइ छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ ।
जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ ।
लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताए ।
लोठसल्ला खेतीको लागि समुन्द्रि सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उनको भनाइ छ ।
लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए ।
किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उनको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4