२६ भदौ, काठमाडौं । सरकारले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाउने व्यवस्था स्वीकृत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अनुसार उक्त निर्णयबाट विशेषज्ञ चिकित्सकको ज्ञान र सीपको अधिकतम उपयोग गर्ने बाटो खुलेको छ ।
‘धेरै विशेषज्ञ चिकित्सक स्थानीय तहमा मेडिकल अधिकृतको रूपमा कार्यरत छन् । यो निर्णयले उनीहरूलाई आफ्नो विशेषज्ञता अनुरुप काम गर्ने अवसर मिलेको छ ,’ डा. बुढाथोकीले अनलाइनखबरसँग भने ।
स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव ऋषि आचार्यका अनुसार समायोजन ऐन अन्तर्गत बाधा अड्चन फुकाउन कानुन र सामान्य प्रशासन मन्त्रालय सहमति लिएर स्वास्थ्यले मन्त्रिपरिषदमा प्रस्ताव लगिएको थियो ।
स्थानीय तहमा समायोजन भएका १५० जनाको हाराहारीमा विशेषज्ञ चिकित्सक छन् ।
स्थानीय तहबाट प्रदेश अस्पतालमा काजमा जाने चिकित्सकको हकमा सम्बन्धित पालिका र प्रदेश सरकार दुवैको सहमति हुनुपर्नेछ । काजमा जाने चिकित्सकको तलब भत्ता भने सम्बन्धित अस्पताल या प्रदेशले नै व्यहोर्नुपर्नेछ ।
नयाँ व्यवस्था अनुसार प्रदेश अस्पतालमा काजमा जाने चिकित्सकको रिक्त दरबन्दीमा सम्बन्धित पालिकाले अर्को चिकित्सक नियुक्त गर्न सक्नेछ ।
विशेष परिस्थितिमा, विशेषज्ञ चिकित्सकलाई अर्को प्रदेशमा काजमा खटाउनुपरेमा केन्द्रीय स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
स्थानीय तहमा समायोजन भएका अधिकांश मेडिकल अधिकृत नेपाल सरकारको छात्रवृत्तिमा नै विशेषज्ञता हासिल गरेका छन् । उनीहरूले लामो समयदेखि आफ्नो विशेषज्ञता अनुसार काम गर्न नपाएको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो गर्दै आएका थिए।
मन्त्रालयका अधिकारीका अनुसार उक्त निर्णयले प्रदेश अस्पतालहरूमा विशेषज्ञ सेवाको उपलब्धता बढाउनुका साथै स्थानीय तहमा पनि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत गर्नेछ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4