 
																			६ असोज, पोखरा । गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशीलाई आजै जहाज मार्फत पोखरा ल्याइएको छ ।
गोर्खा मिडिया प्रालि विरुद्ध गत साल माघ २२ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा परेको पूरक जाहेरीका आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेको थियो ।
सहकारीको रकम दुरुपयोग सम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार निर्देशन दिएसँगै जोशी पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको प्रतिवेदनमा देखिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा केही व्यक्ति तथा संस्थाहरु प्रहरीअनुसन्धान बाहिरै रहेको भन्दै पीडितले जाहेरी दिएका थिए । सूर्यदर्शनकै मुद्दा अनुसन्धानमै रहेकाले त्यसलाई पूरक जाहेरीका रूपमा प्रहरीले अगाडि बढाएको थियो ।
संसदीय छानबिन समितिको प्रतिवेदनले जीबी राई नेतृत्वमा खुलेका ५ वटा सहकारीबाट ६५ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको बताएको छ । पूर्व डीआईजी समेत रहेका जोेशी गोर्खा मिडियाका सञ्चालक थिए ।
‘गोर्खा मिडियामा उहाँको झण्डै ५० प्रतिशत शेयर देखिएको छ, जहाँ विभिन्न सहकारीबाट गएको रकम दुरुपयोग भएको छ’ कास्की प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘जोशी विदेश भाग्न सक्ने सम्भावना भएको हुनाले समातिएको हो ।’
कास्कीमा गोर्खा मिडिया विरुद्ध जोहरी परेको र त्यही मिडियाको प्रमुख सेयर रहेका जोशीलाई पक्राउ गरी थप अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
गत वर्ष माघ २४ गते नेचर हब इन्टरनेशनल प्रालिको कार्यालय रहेको घरमा छापा मारेर ल्याइएको सफ्टवेयरमा सूर्यदर्शन सहित विभिन्न सहकारीका विवरण फेला परेको थियो । सूर्यदर्शन सहित विभिन्न सहकारीसँग सम्बन्धित सर्भर पोखरा ल्याएर वित्तीय विश्लेषक सहित अनुसन्धान गरेको थियो ।
त्यसलाई समेत आधार मानेर पोखरा महानगरपालिकाले नियुक्त गरेका वित्तीय विश्लेषकले तयार गरेको करिब ३४ सय पेजको सूर्यदर्शन सहकारीको प्रतिवेदन प्रहरीलाई बुझाइएको थियो । सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पनि जोशीको नाममा पेश्की बाँकी रहेको देखिएको छ ।
माधव खनाल मार्फत जोशीले भुक्तानी लिएको चेकको प्रतिलिपि प्राप्त भएको र १० लाख रुपैयाँ पेश्की फर्स्योट बाँकी देखिएको प्रतिवेदनमा उल्लेख छ । जोशीलाई पोखरा ल्याएसँगै सोमबार नै अदालतमा उपस्थित गराएर अनुसन्धान अगाडि बढाउने प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गितेन्द्रबाबु (जीबी) राईसँगै १९ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान अगाडि बढाएपछि त्योदेखि बाहेक पनि सहकारीको रकम हिनामिना भएको भन्दै पीडितले जाहेरी दिएका थिए ।
रवि लामिछाने, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, पूर्व अध्यक्ष ज्ञानहादुर बम्जन, नेटवर्किङ व्यवसाय मार्फत जीवीसँग जोडिएका नेत्रपाणि बास्तोला र १४ वटा संस्थालाई विपक्षी बनाएर पीडितले पूरक जाहेरी दिएका थिए ।
गोर्खा मिडिया प्रालि, नेचर हब प्रालि, नेचर नेष्ट, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल प्रालि, ग्रिजी स्पान रेस्टुरेण्ट काठमाडौं, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि पीडितहरुले जाहेरी दिएका थिए । जीबी राईकै समूहको नेतृत्वमा खुलेको सानो पाइला सहकारी विराटनगर, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी बुटवल, सहारा सहकारी चितवन र समानता सहकारी नेपालगञ्ज विरुद्ध पनि जाहेरी दिएका थिए ।
संसदीय छानबिन समितिले सहकारीबाट ६५ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको र त्यसका अध्यक्ष जीबी, प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो । रम्तेल कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते जीवी राई सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
जसमा मुख्य नाइके जीबी लगायत १४ जना अझै फरार छन् भने उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक समिति सचिव अनुज नकर्मी, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि कास्की कारागारमा छन् । प्रहरीका अनुसार अहिलेसम्म पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् ।
जीबीको समूहले पोखरामा २०६५ साल असार १ गते तदर्थ समिति गठन गरी सूर्यदर्शन सहकारी खोलेका थिए ।
सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाई भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् ।
लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङलाई पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । जिल्ला अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4