+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

४३ वर्षपछि नख्खुले फेरि मच्चायो उत्पात

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असोज १२ गते १९:३७

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी किनारका धेरै बस्ती डुबानमा परे ।

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र ३४ जनाको मृत्यु भएको छ भने २१ जना हइरहेको प्रहरीले जनाएको छ । ४८१ जनाको उद्दार गरिएको छ, जसमध्ये १५ जना घाइते भएका छन् ।

ललितपुरको नख्खुखोलाले पनि ठूलो क्षति गराएको छ । नख्खु खोला यसरी उर्लिएको धेरैले देखेका थिएनन् । २०४८ र २०५० मा ठूलो बाढी आउँदा पनि यत्रो त्रास नभएको तर अहिले डरलाग्दो रुप देखिएको स्थानीयको भनाइ छ ।

नख्खु खोलाले एक्कासी उग्ररुप लिनुलाई आश्चर्यका साथ हेरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन बताउँछन् । ‘आजभन्दा ठीक ४३ वर्ष अगाडि १३ असोज २०३८ मा लेले गाउँ नै बगाएर ल्याएको थियो’, महर्जनले अनलाइनखबरसँग भने, ‘अहिले खोलाको रुप त्योभन्दा पनि डरलाग्दो देखियो ।’

महर्जनका अनुसार नख्खु खोलोको बीच भागबाट १२ –१२ मिटर राइट अफ वे छोडिएको थियो । तर अहिले राइट अफ वे भन्दा धेरै परसम्म बाढीले गरेको छ । ‘पहिला खोला नजिक खेतहरु हुन्थे, खाली ठाउँ चौर हुन्थ्यो । अहिले घरहरु छन्’, उनले भने, ‘त्यसले पनि क्षति धेरै भएको हो ।’ निरन्तर पानी परेर जमिनले सोस्न नपाउँदा पनि नदीको बहाव बढेको हुनसक्ने उनले बताए ।

नख्खु खोलाबाट प्रभावितहरुलाई महानगरले तत्काल उद्दार गरेको भन्दै राहतबारे पनि निर्णय हुने बताए । ‘भोलि विहान ९ बजे विपद् व्यवस्थापन समितिको वैठकमा सम्पुर्ण जानकारी आउँछ । त्यसपछि राहत दिनुपर्ने स्थानमा हामी दिन्छौं । तत्काल आवश्यक पर्ने ठाउँमा अहिले पनि राहत वितरण भइरहेको छ ।’

३ सय बढी घरमा असर

ललितपुर महानगरपालिकाको नगर प्रहरीका अनुसार नख्खु खोलाले प्रत्यक्ष रुपमा ३०० भन्दा बढी घरमा असर गरेको छ । आंशिक क्षति र पूर्ण क्षतिको विवरण अझै संकलन हुन सकेको छैन । ललितपुरको नखिपोटस्थित नख्खु खोला किनारमा उद्दार पर्खिएर टहरामाथि बसेका चार जनालाई त खोलाले बगाएको थियो ।

तीन जनाको उद्दार भयो । उनीहरुलाई र ललितपुरकै पाटन अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । तर एक जना अझै बेपत्ता छन् । नख्खुको कारण मेडिसिटी अस्पताल क्षेत्र पनि डुवानमा परेको थियो ।

नख्खु खोलामा आएको बाढिले निर्माणाधीन भवनका मजदुरहरु थुनिएपछि नेपाली सेनाले हेलिकप्टर मार्फत उद्दार समेत गरेको थियो । ‘हामीले खोला छेउमै रहेको ग्यारेजबाट मात्रै ६० जनाको उद्दार गर्‍यौं, अरु सुरक्षा फौजले पनि धेरैको उद्दार गरेका छन्,’ ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथु भन्छन् ।

नख्खु खोला बागमतीमा मिसिने ठाउँमा धेरै डुबान पारेको छ । ‘ठ्याक्कै ललितपुरबाट कीर्तिपुरतर्फ जाने ठाउँनिर धरै डुबान भयो’ उनले भने, ‘बागमतीको पानी नै पास हुन नसकेको बेला नख्खु थपिँदा डुबान भएको देखिन्छ ।’

कुसुन्तीदेखि माथि कोन्जोस्योमको डाँडामा रहेको वन नै नख्खु खोलाको प्रमुख स्रोत हो । नख्खु टिकाभैरव मन्दिरको फेदी हुँदै आउँदा लेलेबाट आएको सानो खोल्सीमा मिसिन्छ । त्यसपछि चुन्नीखेलको कोलोनी हुँदै नेपाल मेडिसिटीबाट बागडोल तर्फ झरेपछि चोभार डाँडाको वारिपट्टी बागमतीमा मिसिन्छ ।

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?