 
																			१८ असोज, काठमाडौं । गत वर्ष अक्टोबरमा हिजबुल्लाह लडाकुले आक्रमण गरेयता मध्यपूर्वी देश इजरायलमा युद्ध अझै साम्य भएको छैन ।
पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कदो छ । दुवैले एक अर्कालाई लक्षित गरी क्षेप्यास्त्रहरु प्रहार गरिरहेका छन् ।
गत मंगलबार मात्र इरानले इजरायलमा १८० वटा क्षेप्यात्र प्रहार गरेको थियो । निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् ।
इजरायल सरकारले पनि आफ्ना नागरिकहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । यस्तो बेलामा सरकारले भने रोजगारीका लागि थप नेपालीलाई त्यहाँ पठाउने तयारी गरेको छ ।
अहिले जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट नेपाली श्रमिकहरु केयर गिभरको रुपमा इजरायल पठाउने तयारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभाग छन् ।
इजरायल जान २१ सय श्रमिक छनोट
अहिले केयर गिभरमा इजरायल जान नेपालबाट दुई हजार ११२ श्रमिक छनोट भएका छन् । नेपालमा श्रमिक छनोट प्रक्रिया अपारदर्शी देखिएपछि इजराइलले आफैं छनोट गरेको थियो ।
इजरायलले गोला प्रथाबाट छनोट गरेका नेपालीमा एक हजार १४६ महिला र पुरुष ९५६ छन् । वैदेशिक रोजगार विभागका निर्देशक गिरिराज ज्ञवाली उनीहरुलाई स्वास्थ्य परीक्षणपछि इजरायल पठाउने बताउँछन् ।
‘श्रमिकहरु छनोट भएसँगै पठाउने प्रक्रिया पनि अघि बढिरहेको छ’, उनले भने, ‘छनोट भएका श्रमिकहरुmलाई पठाउन स्वास्थ्य परीक्षणा, पूर्वप्रस्थान अभिमुखीकरण तालिम जस्ता प्रक्रियाहरु अघि बढ्छ ।’ अबको एक महिनापछि छनोट भएका नेपाली इजरायल जान सक्ने उनको भनाइ छ ।
ज्ञवालीले इजरायल सरकारबाट त्यहाँ असुरक्षा रहेको जानकारी नआएको बताए । ‘इजरायलमा तनावपूर्ण स्थिति छ भन्ने समाचारबाट देखे पनि त्यहाँको असुरक्षा अवस्थाबारे कुनै पत्र आएको छैन’, उनले भने ।
त्यस्तो कुनै अवस्था आए श्रमिक पठाउने प्रक्रिया तत्काल रोक्न सकिने ज्ञवालीले बताए । ‘युद्धको जोखिम भएको ठाउँमा श्रमिक पठाउने कुरा हुँदैन’, उनले भने, ‘उताको अवस्था केही बिग्रिए तत्काल रोक्न सकिन्छ ।’
गत वर्ष २१ असोजमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ । यो घटनापछि सरकारले विमान पठाएर २५३ जना र पछि भारत सरकारको सहयोगमा थप १८ जना नेपालीलाई स्वदेश फर्काइएको थियो ।
विज्ञको विमती
यता, इजरायलमा युद्ध जारी रहेकै अवस्थामा त्यहाँ रोजगारीमा नेपालीलाई पठाउन नहुने भन्दै अधिकारकर्मीहरुले विरोध गरेका छन् ।
गत असारमा विभिन्न संघसंस्था, नागरिक समूह र अधिकारकर्मीले युद्ध चलिरहेको इजरायलमा कामदार पठाउन नहुने भन्दै प्रक्रिया रोक्न माग गरेका थिए ।
श्रमविज्ञ रामेश्वर नेपाल श्रमिकको सुरक्षाको प्रत्याभूति नहुँदासम्म पठाउन नहुने बताउँछन् । ‘युद्धग्रस्त, महामारी वा अन्य कुनै विपत्ति भएको मुलुकमा जोखिमको मूल्याङ्कन नगरी आफ्ना नागरिकहरु पठाउनु हुँदैन’, उनले भने, ‘ती मुलुकमा श्रमिक पठाउनुअघि भोलि निम्तने जोखिमबारे तथ्यपरक अध्ययन गर्नुपर्छ ।’
युद्धग्रस्त देशमा आफ्ना नागरिक पठाउँदा राज्यले जीवन रक्षाको ग्यारेन्टी र सुरक्षाका न्यूनतम शर्त लागू गर्नुपर्ने नेपालले बताए ।
‘ठीक एक वर्षअघि इजरायलमा हामीले क्षति ब्यहोरिसकेका छौं’, उनले भने, ‘त्यसबाट पाठ सिकेर यस्तो संवेदनशील कुरामा राज्यले अपरिपक्व निर्णय गर्न हुँदैन ।’
हाल इजरायलमा करिब ४५ सय नेपाली रहेको अनुमान छ । त्यहाँ लेबनान र इरानले गरेको आक्रमणका कारण नेपालीहरु त्रासमा छन् ।
हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको हत्यापछि इरानले इजरायलमाथि मंगलबार ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
अहिले इरानले आक्रमण गर्न थालेपछि स्थिति त्रासपूर्ण रहेको इजरायलमा रहेका नेपाली नविन शाही बताउँछन् । मंगलबार राति इरानबाट ठूलो आवाजमा जमिन नै हल्लिने गरी मिसाइल प्रहार भएको उनले बताए ।
‘कहिले बेला के हुन सक्छ थाहा छैन’ उनले भने, ‘हामी त जोखिममा छौं, छौं, यस्तो बेला थप अरु नेपालीलाई किन यहाँ ल्याउने ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4