+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंबाट पूर्वी पहाड जान यी हुन् बीपी राजमार्गको विकल्प

काठमाडौंबाट सिन्धुली, खोटाङ, सोलुखुम्बु, भोजपुर जानेका लागि भकुन्डेबेँसी हुँदै तेमाल–सिधुरेटारबाट रामेछापस्थित मध्यपहाडी राजमार्ग निस्किएर सोही राजमार्ग हुँदै सित्खापुल तरेर सिन्धुली आउन सकिन्छ । सोलुखुम्बु जानेका लागि चरिकोट–जिरी हुँदै जाने अर्को विकल्प समेत छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते २०:०६
भकुण्डे हुँदै तिमाल जाने कानपुर सडक खण्ड

२० असोज, काठमाडौं । असोज दोस्रो साता आएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढी–पहिरोले काठमाडौंका नाका ठप्प बने । त्यसमध्ये पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको एक बीपी राजमार्ग र यसले जोड्ने जिल्लामा अझै पनि यातायात सहज सुचारु हुन सकेको छैन ।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार बीपी राजमार्गमा अझै ६ सय सवारीसाधन फसेको अवस्था छ । सहचालक र ड्राइभर समेत फसेका छन् । यद्दपि, जटिल खालका उद्धार भने भइसकेको छ ।

उनका अनुसार बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । सोहीकारण यहाँ तत्काल यस राजमार्गमा यातायात सञ्चालन हुने सम्भावना छैन ।

उनका अनुसार कतिपय स्थानमा अहिले डाइभर्सन नै निकाल्न समस्या छ । सोहीकारण दशैं अगाडि बीपी राजमार्गमा सवारी सुचारु हुने सम्भावना छैन । यस्तो अवस्थामा अब यात्रुले विकल्प खोजेर यात्रा गर्नुपर्ने छ ।

बीपी राजमार्गले काठमाडौं हुँदै पूर्वी तराई जाने सबै यात्रुलाई सेवा दिइरहेको छ । काभ्रेपलाञ्चोक बनेपाबाट सुरु हुने राजमार्गको तराईतर्फको बिन्दु महोत्तरीको बर्दीबासमा पर्छ ।

यो राजमार्गले काभ्रेपलाञ्चोक, सिन्धुली र महोत्तरीलाई छुन्छ, तर यो अवरुद्ध हुँदा यी तीन जिल्लाबाहेक रामेछाप, ओखलढुंगा, भोजपुर, खोटाङ र सोलुखुम्बु जान समेत असर परेको छ । ती जिल्ला जानसमेत अब यात्रुले विकल्प खोज्नुपर्ने भएको छ ।

नेपाली सेनाका अनुसार सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदीमाथि नेपाली सेनाको टोलीले बेलिब्रिज जडान कार्य सुरु गरेको छ । यो पुल सञ्चालनमा आएपछि भने बर्दीबासबाट बीपी राजमार्ग हुँदै सहज रामेछाप पुग्न सकिन्छ ।

बीपी राजमार्गको धुलिखेल–भकुन्डेबेसी–मंगलटार–नेपालथोक–खुर्कोट–बर्दीबास खण्डमध्ये भुकुन्डेबेँसी–नेपालथोक खण्डमा यातायात अवरुद्ध छ । बीपी राजमार्गमा फसेका गाडी उद्धारका लागि मंगलटारबाट तेमाल–कानपुर हुँदै भकुन्डेबेँसी गाडी चल्न थालेका छन् । तर, यो विकल्प भने होइन ।

भकुन्डेबेँसी हुँदै जाने एकमात्र विकल्प तेमाल–सिधुरेटार हुँदै रामेछाप तरेर सुनाकोठी–खाँडादेवी हुँदै मन्थली पुग्न सकिन्छ । रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले यो सडक पनि सोमबारदेखि मात्र सुचारु हुने सम्भावना रहेको बताए ।

उनका अनुसार काभ्रे प्रशासनसँग कुरा गरी एकतर्फी प्रतिघण्टा १५/२० मात्र गाडी पठाउने गरी सडक चलाउने तयारी गरिएको छ । सुनकोसी तरेपछि मध्यपहाडी विकल्प हुन सक्ने थियो । तर, विभिन्न स्थानमा गएको पहिरोले यो सडक पनि भरपर्दो छैन । साथै, रामेछाप जोड्ने अहिलेको सबैभन्दा सहज विकल्प काठमाडौं–धुलीखेल–दोलालघाट–चरिकोट–किर्ने हुँदै मन्थली हो ।

तिमाल हुँदै मन्थली जाने वैकल्पिक सडक ।

यसका साथै बर्दीबास–सिन्धुली–खुर्कोट हुँदै सित्खापुल तरेर रामेछाप पुग्न सकिन्छ । त्यहाँबाट खाडादेवी हुँदै मन्थली विकल्प पनि छ । यो सडकमा पनि विभिन्न स्थानमा समस्या रहेको प्रशासनले जनाएको छ ।

काठमाडौंबाट सिन्धुली, खोटाङ, सोलुखुम्बु, भोजपुर जानेका लागि भकुन्डेबेँसी हुँदै तेमाल–सिधुरेटारबाट रामेछापस्थित मध्यपहाडी राजमार्ग निस्किएर सोही राजमार्ग हुँदै सित्खापुल तरेर सिन्धुली आउन सकिन्छ । सोलुखुम्बु जानेका लागि चरिकोट–जिरी हुँदै जाने अर्को विकल्प समेत छ ।

बीपी राजमार्ग हुँदै पूर्वी पहाडका जिल्लामा जान हेटौंडाबाट मदन भण्डारी राजमार्ग हुँदै सिन्धुलीमाडी–खुर्कोट भएर उदयपुरको घुर्मी हुँदै सुनकोसी तर्न सकिने विकल्प पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?