३० कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमले पहिलो पटक आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट हुँदै इतिहास रचेर स्वदेश फर्किएको छ ।
आईसीसी यू-१९ महिला टी२० विश्वकप एसिया छनोटको च्याम्पियन बनेर बिहीबार स्वदेश फर्किएको टोलीलाई ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको थियो ।
महिला क्रिकेट त्यसमा पनि उमेर समूहको प्रतियोगिता भएकोले छनोट खेल्न जानुअघि खासै चर्चा थिएन । तर जब नेपालले छनोटमा खेलहरु जित्दै गयो र अन्तिम खेलमा घरेलु टोली युएईलाई उसैको मैदानमा ८ विकेटले हराएर विश्वकपको टिकट काट्यो अनि युवा महिला क्रिकेट टोलीले पनि चर्चा पाउन थाल्यो ।
सिनियर टोलीबाट प्रतिनिधित्व गरिसकेकी अलराउण्डर पूजा महतोको नेतृत्वमा रहेको टोलीले यस पटक इतिहास रचेर देखायो ।
चार टोली सहभागी छनोटमा डबल राउण्ड रोबिनका आधारमा खेल खेलाइएको थियो र नेपाल र यूएईको समान १० अंक भएपनि नेट रनरेटमा नेपाल अघि रहँदै विश्वकपमा छनोट हुन सफल भयो ।
विश्वकपमा छनोट भएर आउदा नेपाली टोली एकदमै खुशी र उत्सहित देखिएका थिए । कप्तान पूजा महतोले विश्वकपमा छनोट हुने टोलीको कप्तानी गर्न पाउदा गर्व लागेको बताइन् । ‘इतिहास रच्न सफल महिला टोलीको कप्तानी गर्न पाउँदा एकदमै गर्व लागिरहेको छ’, उनले स्वदेश फर्किएपछि भनिन्, ‘महिला क्रिकेटमा इतिहास रच्न पाउँदा गर्व लागेको छ ।’
उपकप्तान सोनी पाख्रिनले पनि खुशी लागिरहेको बताइन् । ‘एउटै लक्ष्य थियो जसरी पनि विश्वकप पुग्छौँ भन्ने । हामीले पाएको मौकालाई सदुपयोग गर्यौँ’ उनले भनिन्, ‘विश्वकपमा छनोट हुनु हाम्रो लागि एउटा असाधारण अनुभव थियो, यूएईलाई उसैको मैदानमा हराएर ट्रफी लिएर आउँदा छुट्टै किसिमको अनुभव भइरहेको छ, निकै गर्व लागिरहेको छ ।’
१७ वर्षदेखिको सपना पूरा भएको दिन
सन् २००७ मा नेपालले अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्न थालेदेखि नै विश्वकपको सपना देख्न थालेको थियो । त्यतिबेला पुरुषभन्दा महिला टिमले पहिले विश्वकप खेल्छ भनेर भनिन्थ्यो ।
तर पुरुष टोलीले दुई पटक टी२० विश्वकप खेलिसक्दा पनि महिला सिनियर टोली विश्वकप पुग्न सकेको छैन । अहिले जुनियर महिला टोलीले विश्वकपमा स्थान बनाएर महिला क्रिकेटर पनि कम छैनन् भनेर सन्देश दिएको छ ।
नेपालले अब २०२५ जनवरी-फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्नेछ । त्यसअघि डिसेम्बरमा मलेसियामै एसीसी यू-१९ महिला एसिया कप खेल्नेछ ।
कसरी छनोट भयो नेपाल ?
यूएईविरुद्ध अन्तिम खेलअघि नेपाल ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा थियो । घरेलु टोली यूएई भने ५ खेल नै जित्दै १० अंक जोडेर शीर्ष स्थानमा थियो । नेपालले थाइल्याण्ड र कुवेतलाई २-२ पटक हराउँदा युएईसँग १३ रनले पराजित भएको थियो ।
यस्तोमा नेपालका लागि अन्तिम खेल गर या मरको अवस्थामा थियो ।
विश्वकप पुग्न युएईलाई जितेर मात्र हुन्थेन । आवश्यक रनरेटका साथ जित हात पार्नुपर्ने थियो । युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले कसिलो बलिङ गर्दै यूएईलाई ८३ रनमै रोक्यो । नेपालकी कृष्मा गुरुङले ४ विकेट लिइन् ।
यूएईलाई पछि पार्दै शीर्ष स्थानमा पुग्न नेपालले ८४ रनको लक्ष्य १६.२ ओभरमा पूरा गर्नुपर्ने थियो । तर ओपनर सरा प्रविनको अविजित ३५ रन र कप्तान पूजा महतोको २३ रन मद्दतमा नेपालले १४.२ ओभरमै जित हात पार्यो ।
यूएईलाई ८३ रनमा रोक्नु नै नेपालको जितको आधार बनिसकेको थियो ।

‘८३ मा प्याक गरेपछि हामी आत्मविश्वासले भरिपूर्ण थियौं गर्न सक्छौँ भनेर र गर्नुपर्ने पनि थियो’, प्रशिक्षक महेश प्रसाद रिजालले भने, ‘महिला क्रिकेटमा यो प्ल्याटफर्मलाई क्यापिटलाइज गर्नुपर्ने नै थियो । यो कुराको महत्व सबैले बुझिरहेकोले पनि सबै जनालाई गर्नुपर्छ र गर्नेछौँ भनेर नै ड्रेसिङ रुपमा थियौँ ।’
खेलाडीहरु पनि गर्न सकिन्छ भनेर उत्साहित थिए । ओपनर साना प्रविनले अविजित ३५ रन योगदान गरिन् । पूजाले २१ रन जोडिन् । सोनी पाख्रिन १३ रनमा अविजित रहिन् । सावित्री धामीले १२ रन योगदान गरिन् ।
कप्तान पुजाले रनरेट र जित मार्जिन बारे क्यान मेम्बरले पनि भनिरहेको र विश्वकप पुग्नेमा आफू पनि त्यो समय विश्वस्त रहेको सुनाइन् । ‘मलाई मेरो टिममा विश्वास थियो र हामी शतप्रतिशत छनोट हुन्छौँ । क्यान मेन्बरले पनि रनरेट मार्जिन भन्नुभएको थियो र त्यसले पनि सहज बन्यो’, उनले भनिन् ।
नेपालले छनोटअघि दाङको लमहीमा तयारी गरेको थियो भने त्यसपछि दिल्लीमा गएर अभ्यास खेल खेलेको थियो । यहीबाट नै नेपालको विश्वकप पुग्ने आधार बनेको प्रशिक्षक रिजाल बताउँछन् ।
‘लमहीमा भएको क्याम्पदेखिनै प्रतियोगिताको महत्वबारे चर्चा भएको थियो । नानीहरुलाई पनि महत्व थाहा थियो । यहीदेखि मोटिभेटसन गर्ने गर्थ्यौं । हामी गर्छौं भन्ने उद्देश्यका साथ गर्यौं’ रिजालले भने, ‘समग्रमा भन्दा खेलाडीले गरेको मिहिनेतको नतिजा हो । क्यानले पनि तयारीमा समय दियो । त्यसपछि दिल्लीमा अभ्यास खेल दियो । जुन अहिले हामीले सफलता पाएका छौँ त्यसका लागि आधार नै खडा गर्यो भन्दा हुन्छ ।’
कप्तान पूजाले पनि दिल्लीको क्याम्प धेरै सहयोगी भएको बताइन् । ‘दिल्ली क्यापले एकदम राम्रो भयो । हामी भन्दा राम्रो खेलाडी थिए । हामीले त्यहाँको अभ्यासले छविश्वकप छनोटमा सहयोग पुग्यो’, उनले भनिन् ।
अबको यात्रा : एसिया कप र विश्वकप
दुबईमा भएको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बनेपछि नेपाल पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको छ । साथै नेपाल पहिलो पटक हुन लागेको एसीसी यू-१९ महिला एसिया कपका लागि पनि छनोट भएको छ ।
आगामी वर्ष जनवरी-फेब्रुअरीमा मलेसियामा विश्वकप खेल्नुअघि नेपालले आगामी डिसेम्बरमा एसीसी यू-१९ महिला एसिया कप खेल्नेछ ।
विश्वकप छनोट भएलगत्तै लगातार दुई ठूला प्रतियोगिता खेल्ने अवसर नेपालसामू छ । यसले खेलाडीहरु उत्साहित छन् र अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गरेर देखाउने लक्ष्यमा छन् ।
नेपालले अब विश्वपकमा अझ ठूला टिमहरुसँग खेल्न पाउनेछ ।
कप्तान पूजाले विश्वकप नेपाल र आप्नो लागि ठूलो अवसर भएको र अझ राम्रो प्रदर्शन गर्ने बताइन् । ‘अब हामी एसिया कपमा र विश्वकप कपमा जानेछौँ । यो मेरो लागि राम्रो ठूलो अवसर हो । अब हामी विगत भन्दा अझ बलियो बनेर आउनेछौँ ।’
यस्तै उपकप्तान सोनीले पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । ‘अब एसिया कप र विश्वकप छ, आशा छ हामी त्यहाँ पनि राम्रो प्रदर्शन देखाउनेछौं।’
विश्वकपमा लागि नेपालले अझ धेरै सुधार गर्नुपर्ने कप्तान पूजा र प्रशिक्षक महेश रिजालको भनाइ छ ।

कप्तान पूजाले फिटनेसमा अझ धेरै सुधार गर्नुपर्ने उल्लेख गर्दै भनिन्, ‘अब हामी फिटनेसमा काम गर्छौँ । फिटनेस धेरै महत्वपूर्ण छ । यस पटक क्यानले ट्रेनर दिएको थियो र जसले गर्दा राम्रो भयो र प्रदर्शन पनि सुधार भयो । आशा छ आगामी दिनमा अझ राम्रो गर्नेछौँ ।’
प्रशिक्षक रिजालले महिला क्रिकेटमा एउटा स्टेजबाट अर्को स्टेजमा पुग्न नसकेको अवस्थामा यो एउटा सुरुवात भएको र यसलाई निरन्तरता दिनुपर्ने बताए । ‘हामी एउटा स्टेजबाट अर्को स्टेजमा उक्लन सकिरहेको थिएनौँ । विश्वकपमा गएर खेल्नु भनेको महिला क्रिकेटमा त्यो स्टेज उक्लिएको अवस्था हो । अब हामीले यसलाई निरन्तरता दिँदै अघि लान सक्यो भने हाम्रो महिला क्रिकेट पनि स्वर्णिम युगमै जान्छ’, रिजालले भने ।
नेपालले अब विश्वकप र एसिया कपमा भारत, पाकिस्तान, अष्ट्रेलिया जस्ता बलिया टिमसँग खेल्न पाउनेछ । नेपालले अब कम्तीमा पनि ५ ठूला खेल खेल्ने पक्का छ । समूह चरणमा एसिया कपमा दुई र विश्वकपमा तीन खेल हुनेछ । त्यसपछि अघिल्लो चरणमा पुग्न सके अझ खेल्न पाउनेछ ।
एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् भने बंगलादेश, श्रीलंका र आयोजक मलेसिया समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।
यस्तै यू-१९ विश्वकपमा नेपाल समूह डी मा छ । यस समूहमा सिधै छनोट भएका अष्ट्रेलिया र बंगलादेशसहित युरोपियन छनोट जितेर आएको स्कटल्याण्ड छ ।
१६ टिमलाई चार समूहमा विभाजन गरेर विश्वकप खेलाइनेछ । हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् जहाँ १२ टिम हुनेछ र सुपर सिक्समा दुई समूहमा ६-६ टिम राखेर खेलाइनेछ ।
नेपाल समूहमा शीर्ष तीनमा पर्न सके अझ खेल्ने अवसर पाउनेछ ।
 
                    










 २०८१ कात्तिक  ३० गते ११:३९
                        २०८१ कात्तिक  ३० गते ११:३९                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4