 
																			जुम्लाको चन्दननाथ नगरपालिका ६ माइकाथान भन्ने ठाउँमा बस्दै आएका किसान राजु मल्लले यस वर्ष स्याउबाट राम्रो आम्दानी गर्न सफल भएको बताएका छन् । यस वर्ष स्याउबाट मात्र ३ लाख रुपैयाँ आम्दानी भएको उनी बताउँछन् । लामो समयदेखि व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका मल्लले यो कमाइबाट घरायसी खर्च जुटाउन र छोराछोरीको पढाइ खर्च चलाउन सहज भएको बताएका छन् ।
उनले यो वर्ष मात्रै एउटा कार्टुनमा ११ केजीका दरले ५५० कार्टुन स्याउ बेचेको बताए । प्रति केजी ७० रुपैयाँमा बगैंचाबाटै स्याउ बिक्री गर्न सफल भएको उनको भनाइ छ । पहिलाको तुलनामा केही वर्षयता स्याउले राम्रो मूल्य पाएपछि आफूहरूको दुःख खेर नगएको उनको भनाइ छ ।
आफ्नै घरमा बसेर स्याउबाट राम्रो आम्दानी गर्न पाउँदा खुशी लागेको मल्लको भनाइ छ । पहिला यही पैसा कमाउन भारत गएर अर्काको काम गर्दा पनि वर्षभरि खान पुर्याउन गाह्रो भएको अनुभव सुनाउँदै अहिले त्यस्तो समस्या भोग्न नपरेको बताए ।
भारतमा लामो समयसम्म मजदुरी गरेर घर फर्किएका मल्लले १५ वर्षदेखि यता जुम्लामा आएर १५० वटा भन्दा बढी स्याउको बिरुवा लगाएका थिए । ती स्याउले लगाएको पाँच वर्षसम्म दुःख गर्दा अहिले फल दिन थालेपछि पहिलाका दुःख भुल्दै गएको उनको भनाइ छ ।
अहिले स्याउ बगैंचामा सिंचाइ, काटछाँट गर्ने काममा घरपरिवारका सबै सदस्य सहभागी हुन्छन् । यसरी आफ्नै बगैंचामा काम गर्न पाएपछि अर्काको मजदुरी गरेर खान नपरेको उनको भनाइ छ । ५ जनाको घरपरिवारमा दुई छोरी र एउटा छोराको पढाइ खर्च धान्न र घरपरिवारको वार्षिक खर्च जुटाउन सहज भएको मल्ल बताउँछन् ।
आफ्नै स्याउ बगैंचा स्थापना गरेका मल्लले आफू कृषि पेशामा संलग्न भएको हुनाले छोरालाई पनि बाली विज्ञान अध्ययन गर्न लगाएर अहिले पढाइ सकेपछि आफ्नै बगैंचामा काम गर्न लगाएका छन् ।
‘यही पैसा कमाउन अरूका छोराछोरी विदेश गएका छन् तर मैले गरेको काम छोराछोरीले सिको गरेर आफ्नै घरमा बसेर आम्दानी गर्न सघाइरहेका छन्’, मल्ल भन्छन् ।
आफ्नै बगैंचामा घरपरिवारसँग बसेर दुःखसुख साट्दै काम गर्दा रमाइलो पनि हुने र कमाइ पनि हुने भएकाले खुशी लागेको मल्लले बताए । ‘तीन वर्ष यता स्याउले राम्रो बजार मूल्य पाउन थालेको छ । त्यसैले म मात्र नभएर जुम्लाका सबै किसानको आम्दानीको प्रमुख स्रोत स्याउ खेती भएको छ’ मल्लले भने, ‘फलाएको स्याउ किन्न व्यापारीहरू बगैंचामा आउँछन्, बजारसम्म जानु पनि पर्दैन ।’
स्याउ किसान मल्ललाई खुसी लाग्ने अर्को कुरा के हो भने उनले फलाएको स्याउ नेपालका ठूला–ठूला शहर बजारमा पुगेको छ । उनी भन्छन् ‘कर्णालीको स्याउ धेरैले मनपराउनुभएको छ । हामीलाई माया गरेकोमा धेरै खुसी लाग्छ ।’
(स्याउ किसान मल्लसँगको कुराकानीमा आधारित)
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4