 
																			म आज जुन प्रसङ्गलाई लिएर यो लेख लेखिरहेको छु त्यस बारेमा लेख्ने जाँगर मलाई कहिल्यै थिएन। तर, मलाई लाग्यो यो प्रसङ्गमा केही कुरा छुटेका छन्, वा हुनसक्छ ती कुराले पाउनुपर्ने स्थान पाएका छैनन्। लेख तिनै ‘छुटेका कुरा’मा केन्द्रित रहनेछ।
प्रसङ्ग हुन्- रवि लामिछाने। तर, कुरा सुरु गरौं कैदी नम्बर ८०४ बाट।
आज पाकिस्तानका पूर्व प्रधानमन्त्री र क्रिकेटर इमरान खान इस्लामावाद नजिकैको अडियाला जेलमा कैद सजाय काटिरहेका छन्। ८०४ उनको कैदी नम्बर हो। उनीमाथि करोडौं डलर भ्रष्टाचार गरेकोदेखि लिएर उपहारमा पाएका गरगहना आफैंले प्रयोग गरेको भन्ने सम्मका दर्जनौं अभियोग छन्। यी अभियोग र तिनमाथि भएका सुनुवाइलाई हेर्दा कुनै ठूलै राजनीतिक उथलपुथल नभए खान निकट भविष्यमा जेलबाट बाहिर आउने कल्पना गर्न सकिंदैन।
राज्यले इमरान खानप्रति देखाएको कठोर रवैयाका बाबजुद आज पाकिस्तानमा बहुसङ्ख्यक मानिसले आशा र भरोसा गरेको कोही नेता छ भने त्यो इमरान खान मात्र हो। पाकिस्तानका पुराना पार्टीहरू पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लिग (पीएमएल-एन) उनीहरूको नेतृत्वमा भएका भ्रष्टाचार र अकर्मण्यताका कारण बदनाम छन्। अहिले पीएमएलका शेबाज शरिफको नेतृत्वमा सरकार बनेको छ र गठबन्धनको अर्को पार्टी पीपीपीका आसिफ जर्दारी सेरेमोनियल राष्ट्रपतिको कुर्सीमा छन्। तर, उनीहरूको लोकप्रियता यति तल झरेको छ कि आम मानिसहरूमा उनीहरूबाट पाकिस्तानमा कुनै सकारात्मक परिवर्तन वा सुधार आउनेछ भन्ने कुरामा रत्तिभर विश्वास छैन।
इमरान खान पनि पाकिस्तानको राजनीतिमा नयाँ नाम भने होइन।
सन् २०१८ मा भएको आम निर्वाचनमा राम्रो प्रदर्शन गरेको उनको पाकिस्तान-तहरिके-इन्साफ पार्टी (पीटीआई)ले अन्य साना पार्टीहरूसँग गरेको गठबन्धनका आधारमा खान प्रधानमन्त्रीको कुर्सीमा पुगे। खानले बनाएको पीटीआई राजनीतिक पार्टी मात्र थिएन- एउटा अभियान नै थियो। खानले पाकिस्तान र पाकिस्तानीलाई ‘इन्साफ’ दिने पार्टीका रूपमा पीटीआईको प्रचार गरेका थिए। उनको चुनावी प्रचारको मूल नारा ‘नयाँ पाकिस्तान’ बनाउने थियो। चुनावी जुलूसहरूमा उनले पाकिस्तानी राजनीतिको पुरानो तौरतरिका फेर्ने, भ्रष्टाचार समाप्त पार्ने र मानिसहरूलाई सुशासनको अनुभूति दिने कुराको वाचा गरेका थिए।

तर, जब आफ्नो नेतृत्वमा सरकार बन्यो इमरान खान पुराना पार्टीका विगतका कुनै प्रधानमन्त्री भन्दा फरक देखिएनन्। आफ्ना विरोधीहरूमाथि प्रतिशोध साध्ने र उनीहरूलाई नानाथरी अभियोगमा जेल पठाउने काममा उनले आफ्नो महत्त्वपूर्ण समय खर्च गरे। उनको प्रधानमन्त्रीकालमा अर्थतन्त्रमा अभूतपूर्व सङ्कट आयो र पाकिस्तानी मुद्राको तीव्र अवमूल्यन भयो- जसलाई उनले गम्भीर रूपमा लिएनन्।
केन्द्रको सरकार र उनको पार्टीको नेतृत्वमा रहेको केपी प्रदेशको सरकार सुशासनको जिम्मेवारीमा असाध्यै कमजोर रह्यो। इमरान खान भने ट्विटरलाई लाखौं डलर तिरेर प्रदेश सरकार र आफ्नो छवि राम्रो बनाउने विज्ञापन गर्नमा व्यस्त रहे। आम मानिसहरूले उनको नेतृत्वबाट रोजगारी, स्तरीय सेवा, महँगी नियन्त्रण आदिको अपेक्षा गरेका थिए- तर उनी महँगा शीतल चश्मा र आफ्नो ब्रान्ड पेशावरी चप्पलमा सजिएर पीटीआईले आयोजना गरेका जुलूस र सभाहरूमा अरू पार्टी र तिनका नेतालाई गाली-गलौज गर्नमा व्यस्त रहे।
अब फर्कौं नेपालतिर। पाकिस्तान र नेपालको अवस्था अवश्य फरक छन्। तर, यी दुई देशहरू बीच केही रोचक समानता छन्।
नेपालमा पनि दशकौं सरकारको नेतृत्व गरेका पुराना पार्टी र तिनलाई हाँक्ने नेता छन् जो भ्रष्टाचार र अकर्मण्यताको अर्को नाम बनेका छन्। आम मानिस कांग्रेस, एमाले, माओवादी आदि नामले चिनिने पुराना पार्टी र कुनै विशिष्ट योग्यता र क्षमता विना दशकौंदेखि निरन्तर सरकारको नेतृत्व गरिरहेका घिसापिटा पुराना नेताबाट आजित छन्। नयाँ सम्भावनाको खोजी र देशलाई उद्धार गर्नु ढिला भइसक्यो भन्ने छटपटी नेपालमा पनि व्याप्त छ। देशको अवस्थाबाट विरक्त भएर भविष्यको खोजीमा विदेश भाग्नेहरूको लस्कर बढेको बढ्यै छ।
राष्ट्रिय निराशा र छटपटीको यो अवस्थामा नेपालमा पनि ‘इमरान खान’को खोजी भइरहेको छ। यसमा रवि लामिछानेको नाम सम्भावितहरूको सूचीमा अग्रपङ्क्तिमा छ। धेरथोर जति भए पनि उनको लोकप्रियता उल्लेख्य छ। लामिछाने जेलमा नभए पनि हिरासतमा अभियुक्तका रूपमा कैदमा छन्- जसले उनलाई सम्भवतः थप लोकप्रिय बन्न पनि सघाइरहेको छ।
मलाई रवि लामिछानेको विगत वा वर्तमानका बारेमा प्रशस्त जानकारी छैन। भए पनि त्यसको अर्थ छैन। उनका विगतका क्रियाकलापका बारेमा राज्यका सम्बन्धित निकायले छानबिन गरिरहेकै छन्। एउटा व्यक्तिलाई दोषी वा निर्दोषको दर्जा दिने काम कुनै अर्को अमूक व्यक्तिको होइन। रवि लामिछानेमाथि लगाइएका आरोपको चर्चा गर्ने यो लेखको उद्देश्य पनि होइन।
कुरा गरौं उनले स्थापना गर्न खोजेको राजनीतिक चिन्तन र परम्पराको।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष हुन्। रास्वपा उनको बलबुताबाट स्थापना भएको मात्र होइन, उनको व्यक्तित्वमा केन्द्रित पार्टी हो। रास्वपा भनेको रवि हुन् र रवि भनेको रास्वपा हो- बाँकी सबै तपसिलका कुरा हुन् भन्ने यो पार्टी स्थापनाको छोटो इतिहासमा स्पष्ट भएको छ। त्यसैले, कुरा सुरु गरौं लामिछानेको सार्वजनिक व्यक्तित्वबाट नै।
सार्वजनिक वृत्तमा लामिछानेको व्यक्तित्व तीन चरणमा स्थापित भएको मान्न सकिन्छ। पहिलो चरण सन् २०१३ को अप्रिल महिनामा गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा आफ्नो नाम लेखाउन एउटा टेलिभिजन च्यानलमा गरेको म्याराथन अन्तर्वार्ताको कार्यक्रमलाई हो- जसबाट उनलाई धेरैले चिने। ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको फ्लेक्स ब्यानर पृष्ठभूमिमा राखेर गरिएको ६२ घण्टे अनवरत अन्तर्वार्ता कार्यक्रम उनको व्यक्तिगत महत्त्वाकाङ्क्षा र घनीभूत देशप्रेमको बेजोड उदाहरण थियो।
दोस्रो चरण उनले अमेरिकाबाट फर्केर नेपालमा थालेको पत्रकारिता हो। टेलिभिजन पत्रकारका रूपमा लामिछानेले यसअघि नेपालमा कसैले नसोचेको र नथालेको शैलीको थालनी गरे। उनले आम मानिसलाई सताइरहेका समस्याको पहिचान गरे र ती समस्याको समाधान पनि आफैं गर्न थाले। उनको कार्यक्रममा समस्याको पहिचान भयो, दोषीको खोजी भयो र मुद्दाको निरुपण भयो। अन्यायमा परेका मानिसले ‘न्याय’ पाए, दोषीमाथि कारबाही भयो।
उनको सार्वजनिक व्यक्तित्वमा तेस्रो महत्त्वपूर्ण मोड रास्वपाको स्थापना हो। उनले आफ्नो अध्यक्षतामा ‘जान्नेलाई छान्ने’ नारा सहित आजभन्दा चानचुन दुई वर्षअघि राजनीतिक पार्टी स्थापना गरे।
रास्वपा एउटा यस्तो पार्टीका रूपमा स्थापना भएको छ जुन देशमा भएका राजनीतिक पार्टीहरूबाट ‘स्वतन्त्र’ छ। रास्वपा स्थापनाको मूल मिसन यस्तो छ- ‘स्वतन्त्र’ र सक्षम मानिसहरू समेटिएको पार्टी देशको तीव्र र आमूल परिवर्तनको नारा सहित चुनाव लड्ने र सरकारको नेतृत्वमा पुग्ने। गएको निर्वाचनमा पाएको उल्लेख्य सफलतापछि अहिलेसम्म रास्वपा दुईपटक सरकारमा गइसकेको छ र यस पार्टीका केही जान्नेहरूले विभिन्न महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरेका छन्।

पार्टी संगठनका रूपमा रास्वपाको कुरा गर्नु औचित्यहीन छ। जसरी पाकिस्तानको सन्दर्भमा पीटीआई भनेको मात्र इमरान खान हुन् त्यसैगरी नेपालमा रास्वपा भनेको रवि मात्र हुन्। त्यसैले माथि चर्चा गरिएको रवि लामिछानेका तीन चरणका सार्वजनिक भूमिकाले कस्तो राजनीति र कस्तो चिन्तनको संकेत गरेका छन्। त्यसको चर्चा गरौं।
गौतम बुद्ध चानचुन तीन हजार वर्षअघि त्यो स्थानमा जन्मे जुन स्थान आज नेपाल भन्ने देशको सिमानाभित्र पर्छ- यो तथ्य प्रमाणित भएको पनि धेरै भएको छैन। वास्तविकता के हो भने बुद्ध जन्मेको काल, परिस्थितिमा न आजको परिभाषा बोकेका देश थिए, न कुनै सिमाना। त्यसमाथि मानिस कहाँ जन्मिन्छ भन्ने कुरा उसको छनोटको कुरा होइन। त्यसैले, बुद्ध नेपालमा जन्मेर नेपाल राम्रो भएको वा हुने होइन। ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर प्रचारप्रसार गर्ने निर्णय हीनताबोधबाट ग्रसित मानसिकताको परिणाम हो। ‘गिनिज बुक’मा नाम लेखाउने रहर त चर्चाका लागि योग्य समेत छैन।
पत्रकारका रूपमा रवि लामिछानेले धेरैलाई न्याय दिएका हुनसक्छन्। यसले उनलाई लोकप्रिय बनाएको हुनसक्छ। तर, आफूलाई पत्रकारका रूपमा प्रस्तुत गरेर उनले जे-जस्तो काम गरे त्यो पत्रकारिता होइन। उनको भूमिकाले न पत्रकारितालाई सहयोग गर्यो न न्याय प्रणालीलाई त्यसबाट कुनै फाइदा भयो। विगतमा रवि लामिछानेले अपनाएको शैली आज आलोचना र ठट्टाको विषय बनिसकेको छ किनकि मानिसहरूले अब बुझेका छन्- यस्तो स्टन्टबाजीले कुनै समस्याको समाधान गर्दैन बरु अनेकन् समस्याको सिर्जना गर्छ।
तर, यी दुवै कुरामा लामिछानेलाई ‘माफ’ गर्न सकिन्छ। सतही र गलत कुराका पछि लाग्ने उनी एक्लो होइनन्। त्यसैले, विश्लेषणको केन्द्रबिन्दुमा रास्वपा नै हुनुपर्छ। यसले बोकेको दृष्टिकोण नै हुनुपर्छ।
रास्वपामा दुई मूलभूत समस्या छन्। पहिलो समस्या यसको औचित्यसँग जोडिएको तर्कमा छ।
स्थापनाको सुरुवाती समयमा सोसल मिडियामा एउटा ह्यासट्याग बेजोड लोकप्रिय रह्यो। यो ह्यासट्याग थियो– ‘नो नट अगेन’। एमालेका केपी ओली, कांग्रेसका शेरबहादुर देउवा, माओवादी पार्टीका प्रचण्ड, अर्को पार्टीका माधवकुमार नेपाल आदिको अकर्मण्यता र पदलोलुपताबाट आजित मानिसको भावनालाई ‘नो नट अगेन’ अभियानले समेटेको थियो। विगतको आम निर्वाचनमा जोडतोडले चलेको ‘नो नट अगेन’को अभियान र यसमा निहित भावनाले रास्वपालाई महत्त्वपूर्ण जनमत मात्र दिएन, पुराना पार्टीहरूलाई राम्रैसँग तर्सायो पनि। सरकारमा भएकाले शक्तिशाली जस्तो देखिए पनि आज पुराना पार्टीका पुराना नेताहरूको धरातल भासिएको छ। ओली, देउवा, नेपाल वा प्रचण्डको नेतृत्वबाट नेपालको अवस्थामा कुनै सुधार हुने छैन भन्ने रास्वपाको दृष्टिकोण सर्वसाधारण मानिसले आम रूपमा स्वीकार गरेको दृष्टिकोण हो।
तर, नेपालको अवस्था सुधार गर्ने रास्वपाको आफ्नो दृष्टिकोण चाहिं के त ? एउटा राष्ट्रका रूपमा आजको नेपालका प्रमुख र अत्यन्त जटिल समस्या के-के हुन् ? तिनको निराकरणका लागि सम्बोधन गर्नुपर्ने विषय कुन हुन् ? त्यसका लागि आवश्यक रणनीति के हो ? आवश्यक समयावधि कति हो ? यी कुनै प्रश्नमाथि विचार–विमर्श गर्ने आवश्यकता राष्ट्रिय स्वतन्त्र पार्टीले देखेन। हचुवा र टुक्रे तर्क अनि अरूको छुद्र आलोचना बाहेक नेपालले आज भोगिरहेका जटिल चुनौतीका विषयमा कुनै गम्भीर दृष्टिकोण नहुनु रास्वपा पार्टी बन्न नसक्ने कुराको पहिलो संकेत हो।
अरूको कमजोरी मात्र आफ्नो औचित्य पुष्टि गर्ने आधार बन्न सक्दैन भन्ने सामान्य कुरा रास्वपाले न कहिलै बुझ्यो न भविष्यमा बुझ्ने सम्भावना छ।
रास्वपाको दोस्रो कमजोरी यसले आफ्नै बारेमा स्थापना गरेको दृष्टिकोण हो।
एउटा राजनीतिक पार्टी समाजको गतिशीलता र विविधतासँग जोडिएको हुन्छ र हुनुपर्छ। यसको नीति र कार्यक्रमले यसका कार्यकर्ता, समर्थक, मतदाताको प्रत्यक्ष-अप्रत्यक्ष भावना र प्राथमिकता समेटेको हुनुपर्छ। माओ, मार्क्स र बीपीलाई देखाएर मतदातालाई बेबकुफ बनाउने शैली अब पुरानो भइसक्यो। तर, रास्वपाको चिन्तन योभन्दा फरक छैन। रास्वपा भनिरहेको छ-हाम्रो पार्टीमा ‘जान्ने’ मानिसहरू छन्- यसका केही नेताले त रविलाई नै बीपीको दर्जा समेत दिएका छन्। रास्वपाको दृष्टिकोणमा यी जान्नेहरूलाई छान्ने हो भने देश स्वतः विकास भइहाल्छ। अर्थात्, रास्वपाका जान्ने मानिसहरूले नजान्ने मानिसहरूका लागि उनीहरूले चाहे जस्तो विकास वा परिवर्तन सम्भव गराइदिनेछन्।
एउटा राजनीतिक पार्टीका रूपमा दर्ता भएको समूहको विचार यति अराजनीतिक हुन्छ भन्ने कल्पना गर्न पनि गाह्रो छ।
म लेखको लगभग अन्त्यमा आइपुगेको छु। यसको बिट मार्ने क्रममा दुई प्रसङ्गको छोटो चर्चा गरौं।
रास्वपा पार्टीका रूपमा वा यही अवस्थामा रहला-नरहला त्यो ठूलो कुरा होइन। पार्टी समाजले बनाउने हो- एउटा नरहे अर्को आउँछ। मूल कुरा रास्वपाले बोकेको दृष्टिकोण र चिन्तन कस्तो छ भन्ने हो। रास्वपाको चिन्तन आधारभूत रूपमा गलत छ। देश केही टाठाबाठाले अरूका लागि बनाइदिने वस्तु होइन। देश बन्न वा बनाउनका लागि स्पष्ट दृष्टिकोण, कार्ययोजना र रणनीति चाहिन्छ जसमा आम मानिसको पनि निरन्तर साथ र समर्थन चाहिन्छ। व्यक्ति वा व्यक्तित्वका आधारमा निर्माण हुने अभियानले आम मानिसको निराशाको फाइदा केही समयका लागि उठाउन सक्लान्- तर, त्यसबाट कुनै दिगो र दीर्घकालीन सुधारको अपेक्षा गर्न सकिन्न।
रास्वपाका बारेमा मेरो अर्को चासो खेर जाने सपनाहरूका बारेमा छ।
आज नेपालमा आमूल परिवर्तन र सुधारका बारेमा जे जस्तो छटपटी छ त्यो एक–एक हिसाबले महत्त्वपूर्ण अवसर पनि हो। मानिसहरू नेपाललाई राम्रो बनाउने उपायहरू सुन्न र बुझ्न उत्सुक छन्। नयाँ विचार र दृष्टिकोणलाई साथ र सहयोग दिन आतुर छन्। त्यसैले, इमानदार सोच, प्रयत्न वा अभियान सफल हुने उर्वर परिस्थिति यतिबेला नेपालमा छ। अहिलेका घिसापिटा नेता र पुराना राजनीतिक दलको विकल्प खोज्ने यो राम्रो अवसर हो।
दुःखका साथ भन्नुपर्दा रास्वपासँग नेपालका लागि कुनै विकल्प छैन। अहिले यो अवसरको धेरथोर लाभ लिइरहेको भए तापनि यो जिम्मेवारीको बोझ बोक्ने क्षमता रास्वपासँग छैन।
अब देश बन्ला कि ? फलानाले देश बनाइदेला कि ? भनेर आशा गर्ने मानिसहरू त्यो फलानो पनि निकम्मा प्रमाणित भएपछि आशाविहीन हुनुपर्ने सम्भावना टड्कारो छ। देश र आफ्नो भविष्यप्रतिको आश गुमाउनु अत्यन्त दु:खद् अवस्था हो। जसरी देशको अवस्था फेर्ने नाराले ठूलो विश्वास कमाएका रवीन्द्र मिश्र पूर्वपञ्चहरूको पार्टी राप्रपामा सामेल भएपछि उनका समर्थक र शुभेच्छुकहरू निराश भए- त्यसैगरी रास्वपा र रविले अर्को ठूलो जमातलाई निराश बनाउने सम्भावना नै प्रबल छ।
फेरि एकपटक पाकिस्तानको छोटो प्रसङ्ग !
पाकिस्तानमा आम मानिसको ठूलो सङ्ख्या इमरान खानप्रति आशावादी छन्। उनीहरू सोच्छन्- कुनै दिन खान जेलबाट बाहिर निस्किनेछन्, भ्रष्ट नेतालाई तह लगाउने छन् र पाकिस्तानलाई मजबूत देश बनाउने छन्। आम मानिसको यो आशा र भरोसा निश्चल छ, इमानदार छ।
तर, यथार्थ के हो भने कसैगरी इमरान खान जेलबाट बाहिर निस्केर सरकारको नेतृत्वमा पुगे भने पनि यसबाट पाकिस्तानको अहिलेको दुरवस्थामा तात्विक सुधार आउने छैन। पाकिस्तानका समस्या जटिल, बहुआयामिक र प्रणालीगत छन्- जसको सुधारका लागि इमरान खानसँग न विगतमा कुनै स्पष्ट दृष्टिकोण थियो न आज छ। उनको राजनीति स्वयं उनको व्यक्तित्वमा आधारित छ जसमा ऊर्जा थपेका छन् पुराना पार्टीहरूको अकर्मण्यताले।
देश के हो ? राजनीतिक पार्टीको भूमिका के हो ? नेतृत्व के हो ? नेताको शैली र चिन्तन कस्तो हुनुपर्छ ? यस्ता यावत् प्रश्नमाथि गम्भीर भएर नसोचेसम्म कुनै सकारात्मक परिवर्तन आउँदैन। नेता देउता होइन, न समस्याको समाधान कुनै जादूबाट सम्भव छ।
अन्त्यमा, मलाई जादूगरीको शैलीमा राजनीति गर्ने मानिसहरूमा कहिल्यै विश्वास लाग्दैन र उनीहरूलाई गम्भीर रूपमा लिन्नँ। त्यसैले, जब रवि लामिछानेको प्रसङ्ग आउँछ, म छलफल वा वादविवादमा सहभागी हुन्नँ। टिकटक वा इन्स्टाग्रामका रिलहरू हेर्दा जब कुनै कन्टेन्टमा रविका बारेमा कुरा सुरु हुन्छ म हत्त न पत्त त्यसलाई माथि धकेलिहाल्छु। मैले एक दुई ब्लगमा उनको राजनीति र रास्वपाको बारेमा टिप्पणी नगरेको पनि होइन। तर, मेरो चाहना छ यस बारेमा थप समय र ऊर्जा खर्च गर्न नपरोस् !
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4