
काठमाडौं । पछिल्लो साता युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फ शीर्ष १० स्थानमा विविध जनराका गीतको उपस्थिति छ । एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ दुई सातादेखि लगातार ट्रेन्डिङको शीर्षस्थानमा छ ।
एकदेवको शब्द र संगीत रहेको गीतलाई अहिलेसम्म ७६ लाख पटक हेरिएको छ । यो गीत केही दिन युट्युबको ग्लोबल चार्टमा समेत स्ट्रिमिङ भएको थियो ।
दोस्रो स्थानमा सुजन चापागाईंको ‘एक्लै भए नि’ स्ट्रिमिङ छ । यो गीतलाई १४ लाख पटक हेरिएको छ । हर्क साउदको शब्द, सुजन र विद्या तिवारीको स्वर रहेको गीतमा सुजनकै संगीत छ ।
स्वप्निल शर्मा र जोन राईको गीत ‘बादलसरी’लाई ४८ लाख पटक हेरिएको छ । मित्रताको संवेदना र कथावस्तुमा आधारित यो गीतले सकारात्मक प्रतिक्रिया बटुलेको छ, जुन तेस्रो स्थानमा छ ।
केन्द्र मोसन पिक्चर्सले सार्वजनिक गरेको छेवाङ लामाको गीत ‘एकोहोरो माया’ ट्रेन्डिङको चौथो स्थानमा छ । गीतमा एकदेव लिम्बूको शब्द र संगीत छ भने भिडियोमा छेवाङ र मिरुना मगर फिचर्ड गीतलाई अहिलेसम्म १८ लाख पटक हेरिएको छ ।
पाँचौं स्थानमा भोजपुरी गीत ‘आँचरे से बाँधल दिल’ स्ट्रिमिङ छ ।
टेक बीसी र सिमरन परियारको गीत ‘नजरमा नजर’ छैटौं स्थानमा छ । भीम बीसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रहेको यो गीतलाई अहिलेसम्म १० लाख पटक हेरिएको छ । यसअघिको हिट गीत ‘नजर लाग्ला नि’को यो दोस्रो श्रृंखला भएको जनाइएको छ ।
यबीको ‘कडक नेपाली’को नयाँ गीत ट्रेन्डिङको सातौं स्थानमा छ । हिपहप शैलीको यो गीतले सकारात्मक कमेन्ट प्राप्त गरिरहेको छ । आठौं स्थानमा नवाज अन्सारीको नयाँ गीत ‘कार्यक्रम’ छ, जुन आठौं स्थानमा स्ट्रिमिङ भइरहेको छ । लिरिकल शैलीमा निर्माण गरिएको यो भिडियो र्याप रुचाउने श्रोतालाई प्रिय लाग्न सक्छ ।
भारतीय फिल्म ‘पुष्पा २’ को गीत ‘पिलिङ्स’ ट्रेन्डिङको नवौं स्थानमा छ । दशौं स्थानमा उर्गेन दोङको ‘हबिबी’ छ । एघारौं स्थानमा के-पप ब्याण्ड ब्ल्याकपिंककी गायिका रोजको एकल गीत ‘टक्सिक टिल द इन्ड’ छ ।
यसबाहेक युट्युबले साप्ताहिक पनि नेपाली गीत अपडेट गर्दै आएको छ । जसको नोभेम्बर १७ देखि डिसेम्बर १४ सम्मको अपडेटअनुसार शान्तिरानी परियारको गीत ‘म त ढलें ढलें’ शीर्षस्थानमा छ ।
प्रतिक्रिया 4