 
																			११ पुस, चितवन । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायीहरुको सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ ।
पुस १२ र १३ गते जिल्लाको गैंडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुने लागेको सम्मेलन संयोजक भागरिथ सापकोटाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारेमा छलफल हुनेछ ।
सम्मेलनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहाकार युवराज खतिवडा पनि आउने संयोजक सापकोटाले बताए ।
‘अहिले नेपाली उद्योगी तथा व्यावसायीहरुले भोग्दै आएको समस्या र चुनौती र तिनको समाधानका विषयमा सम्मेलनमा छलफल हुन्छ’, संयोजक सापकोटाले भने, ‘लगानी तथा व्यावासय मैत्री बातावरण निर्माणका लागि सरकारलाई महत्वपूर्ण सुझाव दिने सम्मेलनले भूमिका खेल्ने विश्वास लिएका छौं ।’
संयोजक सापकोटाले देशको कुल गार्हस्थ्य उत्पादनमा साना तथा मझौला उद्योगको योगदान ९५ प्रतिशत रहेको भन्दैं तिनको संरक्षणमा सरकार लाग्नुपर्ने बताए ।
सम्मेलनमा देशको सवल अर्थतन्त्रका लागि ५ वटा आधारस्तम्भ ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र कच्चा पदार्थमा आधारित उद्योगहरुका बारेमा छलफल हुने संयोजक सापकोटाले बताए ।
महासङ्घका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिइने बताए ।
सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहने भट्टराईले जानकारी दिए ।
नेपालमा कुनै पनि बस्तु ठूलोमात्रामा उत्पादन गर्न नसकिएको भन्दै भट्टराईले निर्यात भएका बस्तुहरु निर्यात गर्ने अवस्था नभएको बताउँदै सरकारले बातावरण बनाउन पहल गर्नुपर्ने आवाज सम्मेलनमा उठाइने बताए ।
गैंडाकोटमा हुने विधान तथा नीति निर्माण सम्बन्धी विस्तारित बैठकले सङ्गठनको विधान संशोधन गर्दै चितवन नवलपुर घोषणापत्र जारी गर्ने तयारी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4