+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते ११:२४
कार्यवाहक सभापति डिपी अर्याल

१२ पुस, काठमाडौं । संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको कार्यवाहक नेता तोक्नेबारे छलफल हुने एक नेताले बताए । ‘शुक्रबारको सचिवालय बैठक संसदीय दलको नेताको विषयमा छलफल गर्नका लागि हो,’ ती नेताले भने ।

सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा परेर पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने गत सोमबार सांसद पदबाट निलम्बित छन् ।

हाल रास्वपा संसदीय दलको नेतामा पाँच आकांक्षी छन् । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।

अर्याल पार्टीमा पनि कार्यवाहक सभापति रहेकाले उनलाई नै संसदीय दलको कार्यवाहक नेता तोक्ने तयारी छ । तर निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ ।

सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् । ‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,’ श्रेष्ठले केन्द्रीय सदस्यहरुको मेसेन्जर ग्रुपमा लेखेकी छन्, ‘म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ।’

उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा नेताहरुसँग राखिसकेको बुझिएको छ ।

सहमहामन्त्री सुमनालाई संसदीय दल नेता बन्न नदिन रास्वपाकै सांसदहरुले समानुपातिक सांसदलाई दलको नेता मान्दा गलत सन्देश जाने तर्क थालेका छन् । ‘प्रत्यक्ष जितेको सांसद मात्रै दलको नेता बन्छ, स्वर्णिम दाइ बन्न पाउनुभएन भने बरु विराजजी नै बन्नुहुन्छ,’ पार्टी उच्च स्रोतले भन्यो ।

विवाद बढ्दै गएर समाधान कठिन बनेमा अर्याल नै संसदीय दल नेताका रुपमा अघि सारिन सक्ने सम्भावना पनि रहेको ती नेताले औंल्याए ।

‘अरु हुँदा प्रश्न उठ्छ, पार्टीका कार्यकर्तामा पनि शंका हुन्छ । यसकारण डिपीलाई नै दलको कार्यवाहक नेता बनाउने तयारी छ,’ ती नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?