 
																			२८ पुस, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक सचिवालय विस्तार र विभिन्न विषयसँग सम्बन्धित १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । २६ पुसदेखि धनगढीमा सुरु भएको बैठक शनिबार अबेर सम्पन्न भएको थियो ।
आइतबार बैठकका निर्णयबारे जानकारी दिँदै प्रदेश उपसचिव समेत रहेकी प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले ४७ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिइन् ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेशका कार्यसमितिका पदाधिकारी र अन्य सदस्य रहनेगरि सचिवालय गठन गरिएको हो ।
बैठकले विभिन्न विषयसँग सम्बन्धीत १४ वटा प्रस्ताव समेत पारित गरेको उनले बताइन् । दुई ठूला दलले गरेको ७ बुँदे सहमतीको मूल मर्मअनुसार भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूती दिलाउदै प्रभावकारी सेवा प्रवाह गर्न, विकास निर्माणका काममा गुणस्तर गर्दै पाददर्शी रुपमा अघि बढ्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ ।
यस्तै, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ मा २०३८ सालदेखि बसोबास गर्दै आएका ८६ परिवारलाई खेलकुद मैदान बनाउने नाममा विस्थापित गरेकाले उनीहरुको मागलाई ध्यान दिएर निकास दिन, बेल्डाँडी गाउँपालिकाको ४ र ५ नजिकैको सीमा स्तम्भ नम्बर २८ नजिकै तीन हजार पाँच सय बिघा जमिन भारतीय पक्षले अतिक्रमण गरेको विषयमा नेपाली भूमी खाली गराउन पहल गर्न सरकारसँग माग गर्ने प्रस्ताव पनि पारित गरेको उपसचिव विष्टले बताइन् ।
दार्चुलाको ब्यास गाउँपालिकाको तिंकरमा रहेको अध्यागमन कार्यालयलाई नेपाल–भारत सीमा नजिक निर्माण भएको मोटेरेबल पुन नजिक राख्न सरकारलाई माग गर्ने, विभिन्न समयमा भूकम्पका कारण भएको क्षतिको आधारमा पिडीतहरुलाई राहत दिन प्रदेश सरकारलाई आग्रह गर्ने, स्थानीय स्तरमा गुणस्तरीय प्रसुती सेवा विस्तार गर्न तीनै तहका सरकारसँग माग गर्ने, अत्यधिक रक्तश्राव भएर ज्यान गुमाएकी बझाङको केदास्युँ गाउँपालिका–१ की सविता बोहराको परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।
बैठकले सुदूरपश्चिमको विकासको ढोका खोल्ने मुख्य सडक चैनपुर ताक्लाकोट भएपनि प्राथमिकता नदिइएकाले राष्ट्रिय गौरवको योजनामा पारेर निर्माण गर्न, प्रदेशममा जडिबुटी प्रशोधन तथा प्रवद्र्धन गर्न माग गर्ने, प्रदेशको पर्यटन विकासमा सरकारको ध्यानाकर्षण गराउने, गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न बनेको विद्येयकको दफाबार छलफल टुंग्याएर अगामी शैक्षिक सत्रबाट चिकित्सा विज्ञानको स्नातक तहको पढाइ सञ्चालन गर्नुपर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रदेशका गौरवका योजना महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया–दिपायल सडक, चिसापानी–मंगलसेन सडक लगायतका योजना चाडो निर्माण गर्न, कञ्चनपुरको दोधाराचाँदनीको सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र, कैलालीको लालपुर हरैया, डँुडेझाडी औद्योगिक क्षेत्र यथाशक्य निर्माण गर्न, प्रदेशको राजधानी निर्माणका लागि गम्भीर बन्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4