 
																			२९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई छिमेकी राष्ट्र चीन र भारतका विदेशमन्त्रीसँगको संवाद सुनाएकी छिन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी सँगका भएका केही संवाद सुनाएकी हुन् ।
परराष्ट्रमन्त्री राणाका अनुसार उनीहरू दुवैसँग छुट्टाछुट्टै विषयमा छलफल भएको थियो ।
चीनियाँ विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको उनले बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उनले पोखरा विमानस्थबारे भएको छलफल संसदीय समितिमा सुनाएकी हुन् ।
‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट भन्नुभएको छ,’ राणाले भनिन् । त्यस्तै, भारतीय विदेशमन्त्री जयशंकरसँग भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बारे छलफल गरेकी छिन् ।
उनले आफ्नो भारत भ्रमणका बेलामा पनि सार्कको बैठकबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेको जानकारी गराइन् ।
‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ,’ समितिको बैठकमा राणाले भनिन्, ‘जयशंकरजीले भन्नुभयो– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?’
जयशंकरको उक्त जवाफपछि आफूले केही भन्न नसकेको उनको भनाइ थियो ।
‘त्यसपछि मैले केही भन्न सकेको छैन,’ उनले भनिन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4