+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

चिसोका कारण ९३ सामुदायिक विद्यालय बन्द

रासस रासस
२०८१ पुष २९ गते १९:४५
फाइल तस्वीर

२९ पुस, सोलुखुम्बु। सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ ।

हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए ।

सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।

माथिल्लो सोलुखुम्बूमा यसअघि नै हिमपात भए तल्लो सोलुमा भने यसवर्ष पहिलो पटक हिमपात भएको हो । हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

चिसोले सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।

जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिए ।

चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताइन् । पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो विदाको निर्णय गरेको हो ।

उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए । ‘यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र गएपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?