+
+
Shares
संसद्‌मा नयाँ :

सडकका सत्याग्रही अब संसद्‌मा

प्रश्न बोकेर सडकमा उभिने पुकार बम अहिले उत्तर दिने ठाउँमा पुगेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ चैत २ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुकार बमले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्।
  • उनले १२ वर्षपछि पहिलोपटक चुनाव जितेका हुन्।
  • अब नागरिकको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

२ फागुन, काठमाडौं । कोभिडले मुलुक आक्रान्त थियो । महामारीले नागरिक ढलिरहँदा परीक्षण (पीसीआर) न्यून भयो । पुकार बम परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै १२ दिनसम्म अनसन बसे ।

कोरोना महामारीले निमुखाहरूलाई भोकै बनायो । एक छाक खान नपाएका नागरिकलाई निःशुल्क खानाको प्रबन्ध गर्न जुटे पुकार । ‘अकुपाइ बालुवाटार’ अभियानदेखि चिकित्सा शिक्षा सुधारमा डा. गोविन्द केसीको पक्षमा सडकमा उभिए ।

नेपाल खुला छ ! गरिखान देऊ । नेताज्यू खबरदार ! संविधान कहिले ? यिनै प्रश्न लिएर उनी सडकमा उभिन्थे । त्यसैले उनले ‘सडक सत्याग्रही’ को उपनाम पनि पाए । प्रश्न बोकेर सडकमा उभिने उनै पुकार अहिले उत्तर दिने ठाउँमा पुगेका छन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्यसमेत रहेका बमले २९ हजार १४२ मत पाए । उनले कांग्रेसका सचिन तिमल्सेना र एमालेका सचिव राजन भट्टराईलाई पराजित गरे । सचिनले ८ हजार ८२४ र राजनले ५ हजार ७३३ मत पाए । फराकिलो अन्तरले पुकार विजयी भए ।

२०७० को संविधानसभा चुनावदेखि उम्मेदवारी दिँदै आएका पुकार १२ वर्षपछि (२०८२) विजयी भए । संविधानसभा चुनावमा उनी कुकुर चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए ।

२०७०–२०७४ मा काठमाडौं–८ र २०७९ मा काठमाडौं–१ का उम्मेदवार थिए उनी । तर जित निकाल्न सकेका थिएनन् । यस पटक भने कांग्रेस सभापति गगन थापाले जित्दै आएको गढ भत्काएर जित आफ्नो पक्षमा पारे । ‘जित्ने बित्तिकै खुसीसँगै डर पनि लाग्यो । जितको रमाइलोपनसँगै ठूलो जिम्मेवारी आयो,’ उनले भने ।

कैलालीको धनगढीमा जन्मिएका पुकार २०५९ मा डाक्टर बन्न काठमाडौं छिरेका थिए । तर उनी सामाजिक न्यायको पक्षमा सडकमा उत्रिए ।

डाक्टर बन्ने सपनाबाट उनलाई इराक घटनाले ‘यूटर्न’ गरायो । २०६१ मा इराकमा नेपाली कामदारको हत्या भयो । त्यसपछि कन्सल्टेन्सीहरूमा तोडफोड, आगजनी भयो । फसेकाहरूको राहत र उद्धारमा खटिएको थिएँ,’ उनले भने, ‘महिला, गर्भवती महिला, बच्चा, वृद्धमा एकदमै त्राहिमाम थियो ।’
विज्ञान विषयमा प्लस टु गर्दै गरेका पुकारले त्यसपछि आफ्नो शैक्षिक बाटो पनि बदले । अहिले उनी ‘सोसल वर्क’मा पीएचडी गर्दैछन् । उनी शिक्षण पेसामा समेत आवद्ध छन् ।

पुकारको राजनीति प्रवेशमा भने उज्ज्वल थापा जोडिएका छन् । विवेकशीलका संस्थापक थापासँगै उनी पनि विवेकशील नेपाली दलको संस्थापकमध्येका एक हुन् । ‘सन् २०१०/०११ तिर उज्ज्वल दाइसँग यही अभियानकै दौरानमा भेट भयो । उहाँ पनि सन् २००१ मा अमेरिकाबाट नेपाल फर्किएपछि ‘डिजिटल म्याक्स’ भन्ने कम्पनी खोलेर आईटी क्षेत्रमा राम्रो काम गरिरहनुभएको थियो । तर त्यो बेला लोडसेडिङ, नेपाल बन्द, १८/१८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । त्यसपछि सडकमा गएर बोल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थियौं,’ उनले ती दिन सम्झिए ।

वैकल्पिक राजनीतिको बिउ विवेकशील अभियानले रोपेको थियो । कांग्रेस-एमाले जस्ता दल पनि थिए । तर ती दलबाट अब देश बनाउन सम्भव नभएको निचोड निकालेर पुकार वैकल्पिक शक्ति निर्माणमा होमिएका थिए ।

तर, पछिल्लो समय विवेकशील छिन्नभिन्न भए पनि यो अभियानमा जोडिएकाहरू भने धेरैजसो एकै ठाउँमा छन् । यस पटक रास्वपाले पाएको मतमा विवेकशील अभियान, रास्वपा, बालेन, जेनजी आन्दोलन सबै मिसिएको निष्कर्ष उनको छ । जसका कारण दुई तिहाइको नजिक रास्वपा पुग्यो ।

पुकार चुनावअघि वैकल्पिक शक्ति र समूहलाई एकै ठाउँमा ल्याउन वार्ता र संवादमा पनि लागेका थिए । रास्वपा–बालेन–जेनजीलाई एकै ठाउँमा ल्याउन उनले पहलकदमी लिएका थिए ।

यसरी पुकार सामाजिक आन्दोलनमा होमिएको २२ वर्ष पुग्यो । ‘अब त कामै गर्नुपर्छ । हामीसँग अब कुनै पनि बहाना छैन,’ उनी भन्छन्, ‘झण्डै दुई तिहाइ छ । नयाँ कानुन बनाउने, संविधान संशोधन गर्ने, नागरिकले मागेका कुरा हामीले दिनुपर्छ ।’

विजयी भएपछि पनि पुकार घरदैलोमा सुझाव संकलन र धन्यवाद दिन मतदाताको घरदैलोमा छन् । जेनजी आन्दोलनको जगमा चुनाव भएकाले उनले विजयी भएपछि र्‍याली, उत्सव भने गरेनन् ।

‘पदयात्राः वाक विथ पुकार’ जस्तो कार्यक्रम गरिरहेका छन् । ‘नागरिकसँग हिँड्ने, उहाँहरूकै घरदैलोमा गइरहेको छु,’ उनले भने, ‘हामी फर्केर आउँछौं भनेका थियौं । मतदाताका अझै नसुनिएका कुरा सुन्नका लागि गइरहेको छु ।’

मतदाताबाट सुझाव संकलन सँगसँगै मार्गनिर्देशन उनले लिइरहेका छन् । अब आम नागरिकको भावना सम्बोधन गर्ने गरी काम गर्नुबाहेक अर्को विकल्प उनले देखेका छैनन् । विगतका दलहरूले चलाएको जस्तो सत्ता चलाउने समय नभएको उनको बुझाइ छ । ‘सरकार सेवक हुनुपर्छ । पहिलो शासक मात्रै भयो । सत्ता खेलमै गयो, सेवक कहिल्यै भएन,’ उनले भने ।

सडकका सत्याग्रही पुकार सदनमा पनि त्यही रूपमा प्रस्तुत हुने सोचमा छन् । ‘पाँच वर्षको म्यान्डेट छ । तर जनताले दुई वर्षमै नतिजा हेर्न चाहनुभएको छ,’ उनले भने, ‘अब डरको वातावरण अन्त्य हुन्छ । शान्ति, न्याय, विकास, शिक्षा–स्वास्थ्य सर्वसुलभ बनाउने, विदेशिएका युवालाई फर्काउने पहिलो प्राथमिकता हो ।’

यी काम नभए सदनमै सत्याग्रह हुने उनले सुनाए । ‘जनताले हामीलाई लगानी गरेका छन् । काम भएन भने सदनमै सत्याग्रह हुन्छ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?