
काठमाडौं । पछिल्लो समय नेपालमा जनरामा आधारित फिल्म निर्माण गर्ने क्रम बढ्दो छ । सामाजिक कथामा आधारित फिल्मको वर्चस्व रहेको बेला अहिले एक्सन, हरर, रोमान्स, पिरियडदेखि साइन्स फिक्सन फिल्मसम्म बन्न थालेका छन् ।
यो मेसोमा हरर फिल्म ‘ममी’ बनेको छ जसमा प्रियंका कार्की, दीया मास्केजस्ता परिचित कलाकारले अभिनय गरेका छन् । गतसाता सार्वजनिक यसको तर्साउने ट्रेलरले दर्शकको ध्यान तानिरहेको छ । हरर फिल्म कमै मात्रमा बनिरहेको बेला हलमा आउन लागेको ‘ममी’ हरर रुचाउने दर्शकलाई प्रिय हुनसक्छ ।
यस्तोमा, आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘कास्ट एण्ड क्रू’ले फिल्मबारे चर्चा गरे । अभिनेत्री कार्कीले पारिवारिक र मनोवैज्ञानिक कथावस्तुमा बनेको फिल्म ‘ममी’को पटकथा उत्कृष्ट रहेको बताइन् । ‘दर्शक झुक्काएर भूतैभूत आउँछ भनेर आजको दिनमा पनि म यो भन्दिन’ कार्कीले भनिन् ।
‘मैले पनि स्क्रिप्ट पढ्दा २/३ भिन्न तरिकाले हेरेको थिएँ यो स्क्रिप्टलाई । के यो हरर नै हो र ? साँच्चिकै देखेको हो र ? कि उसले कल्पना गरेको हो कि ?’ उनले भनिन्, ‘यस्तो प्रश्न पनि आउँछ । यो पक्षमा राम्रो पटकथा लेखिएको छ । तपाईंले यसलाई त्यसरी पनि हेर्न सक्नुहुन्छ ।’
हरर तत्वले फिल्मलाई निर्देशित गरेको उनले बताइन्, ‘अब हरर भनेर ५/५ मिनेटमा तर्साउने हरर पनि पाउनुहुन्न । हररले ड्राइभ गरेको छ स्टोरीलाई तर त्यो हररसम्म हामी कसरी पुग्छम् भन्ने मेन स्टोरी हो ।’
उनले नेपालमा लेखिएका स्क्रिप्टको ५० प्रतिशत पनि दृश्यमा उतार्न नसकिएको बताइन् । ‘हामीले मेकरले बोलेको कुरा र स्क्रिप्टलाई ट्रस्ट गरेर फ्लोरमा जाने हो । फ्लोरमा गएको २ ३ दिनमै हामीलाई थाहा हुन्छ के, भन्याजस्तै बन्दैन भनेर’ प्रियंका भन्छिन्, ‘तरपनि अब बाँधिइसकेको हुन्छ । आफ्नो फिल्म सक्काउनैपर्छ । त्यस्तो अवस्था पनि धेरै भएको छ ।’
अभिनेत्री दीया मास्के फिल्ममा तर्साउने रोलमा छिन् । टिजर हेर्दा उनको मेकअप पनि तर्साउने खालको देखिन्छ । पत्रकार सम्मेलनमा मास्केले मेकअप गर्दाको अनुभव सुनाइन् ।
‘फेस ड्योमजभन्दा पनि साउण्डले मलाई तर्साउँछ । हरर फिल्ममा साउण्डलाई याद गर्नुपर्छ । साउण्ड भएन भने आधा फिल्म भएन भनेर बुझ्नुपर्छ । म उत्साहित थिएँ । मैले नयाँ गर्दैछु भनेर एक्साइटमेन्ट थियो’ उनले भनिन् ।
निर्मात्री समेत रहेकी पूर्णिमा जोशीले आफूले भूतलाई महसुस गर्ने गरेको बताइन् । ‘म भूत फिल गर्छु । भूतले मलाई तसाइरहेको हुन्छ । पर्सनल्ली म भूतलाई अनुभव गर्छु । भूत छ भन्ने फिल हुन्छ’ फिल्म बनाउनुको कारणबारे उनले भनिन् ।
फिल्ममा सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतको अभिनय छ । सो-ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको पटकथा लेखन, समर निरौलाको निर्देशन छ । लोकराज जोशी र पूर्णिमा जोशी निर्माता हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।
छायांकन निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा गरेका हुन् । सम्पादन सुरेन महर्जनको छ । पाश्र्वध्वनिमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रङ संयोजनमा दीपेश चौधरी र संगीतकारमा एसडी योगी छन् । काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
प्रतिक्रिया 4