१८ माघ, धनगढी। धनगढीमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट टि-२० प्रतियोगिता हुने भएको छ ।
आयोजक गो ड्रिमर्सले शुक्रबार फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार गर्दै सम्मेलन प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको गो ड्रिमर्सका अध्यक्ष सुवाश बी शाहीले जानकारी दिए ।
‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन् भने मैदानमा दर्शकहरुलाई बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको छ।’ अध्यक्ष शाहीले भने ।
प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्नेछन्। उद्घाटन समारोहमा गायक चक्र बमको सांगीतिक प्रस्तुति पनि रहनेछ ।
उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
शनिबार हुने उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन् । डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमितश्रेष्ठ लगायतका खेलाडीहरु मैदान उर्तिने छन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्।
समूह ए मा रहेका दुवै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन् । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ ।
दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै समूह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
नेपाली क्रिकेटका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दै
अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दैछन् । डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमितश्रेष्ठ लगायतका विभिन्न उमेर समुहका खेलाडीहरु खेल्दैछन् ।
फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्दैछन् । सिवाईसी अत्तरियाबाट भीम सार्की विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्की लगायतका खेलाडीले खेलिरहेका छन् ।
न्यु होराईजन बुटबलबाट कुशल मल्ल, दिलिप नाथ, तुलवहादुर थापा, दिपक डुम्रे, प्रतिक श्रेष्ठ लगायतका खेलाडीले प्रतियोगिता खेलिरहेका छन् । क्रिकेट एक्सीलेन्स सेन्टरबाट नन्दन यादव, दिपेन्द्र रावत, सुर्य तामाङ, युनिस विक्रम सिंह, अर्जुन घर्ती र सोनु अन्सारीले आफ्नो प्रदर्शन देखाउनेछन् ।
दशरथ चन्द एकेडेमी बैतडीबाट भुवन कार्की, अमर सिंह रौटेला, खड्क बोहोरा, दिपक बोहोरा, बसन्त खत्री लगायतका खेलाडी रहँदा घोडाघोडी ११ बाट शेर मल्ल, नरेन साउँद, आयुव चन्द, विपिन विक्रम शाही लगायतका खेलाडीहरु आफ्नो क्षमता देखाउनेछन् ।
पहिलो क्याच गर्ने दर्शकलाई एक लाख पुरस्कार
प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा नगद एक लाख पुरस्कार दिने भएको हो ।
दर्शकका लागि फाप्लासम्म बस सेवा सञ्चालन हुने
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन हुनेछ । धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्नेछ ।
प्रतियोगिता अवधिभर अर्जुन ट्रफी हेर्न जाने दर्शकहरुलाई सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा सञ्चालन हुनेछ ।
अर्जुन ट्रफीको टिकट खल्ती एपमा
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको टिकट खल्ती एपमा पाइनेछ । गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगितालाई प्रत्यक्ष रुपमा मैदान गएर खेल हेर्नका लागि खल्ती एपमा टिकटको सुविधा रहेको छ ।
 
                    










 २०८१ माघ  १८ गते १९:०५
                        २०८१ माघ  १८ गते १९:०५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4