+
+
Shares

९७ अर्ब डलरमा च्याटजीपीटी खरिद गर्ने मस्कको प्रस्ताव अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते ८:४७

काठमाडौं । इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद गर्न प्रस्ताव गरेको छ । मस्क नेतृत्वको समूहले करिब ९७.४ अर्ब डलरमा ओपनएआई खरिदको प्रस्ताव राखेको द इकोनोमिक टाइम्सले जनाएको छ ।

तर मस्क समूहको यो प्रस्ताव ओपनएआईले भने अस्वीकार गरिदिएको समाचारमा उल्लेख छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानले ट्रम्पको प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै ट्विटर (एक्स) नै खरिद गर्ने प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘धन्यवाद, तर तिमी चाहन्छौ भने ९.७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’

मस्कले सन् २०२२ मा  ४४ अर्ब डलरमा ट्विटर खरिद गरेर एक्स बनाएका थिए ।

मिडिया रिपोर्टका अनुसार मस्क र उनको एआई स्टार्टअप एक्सएआई सहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिँदै यसलाई पुनः गैरनाफामुखी कम्पनीको रुपमा चलाउन खोजिरहेको छ । मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार, ओपनएआईलाई यसको परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले यो खरिद प्रस्ताव राखिएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार ओपनएआई खरिदको प्रस्ताव राख्नेहरुमा एलन मस्कको एआई स्टार्टअप एक्सएआईका साथै ब्यारेन क्यापिटल ग्रुप, भेलर म्यानेजमेन्ट, एटरीड्स म्यानेजमेन्ट, भीवाई फण्ड, इम्यानुअल क्यापिटल म्यानेजमेन्ट र एट पार्टनर भीसी जस्ता लगानीकर्ता छन् ।


मस्क र अल्टम्यानले २०१५ मा संयुक्त रूपमा ओपनएआई स्थापना गरेका थिए । पछि नेतृत्वमा विवाद भएपछि मस्कले २०१८ मा ओपनएआईको सञ्चालक बोर्डबाट राजीनामा दिएका थिए । त्यसयता, ओपनएआईको दिशा र उद्देश्यबारे मस्क र अल्टम्यानबीच विवाद जारी छ ।

मस्कले २०१५ देखि २०१८ सम्म ओपनएआईमा करिब ४५ मिलियन डलर लगानी गरेका छन् ।

ओपनएआईका प्रारम्भिक लगानीकर्ता तथा सञ्चालक बोर्डका सदस्य समेत रहेका मस्कले गत वर्ष क्यालिफोर्नियाको राज्य अदालत र संघीय अदालत दुवैमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनले ओपनएआईले सार्वजनिक हितका लागि सञ्चालन हुने गैरनाफामुखी अनुसन्धान प्रयोगशालाको रूपमा राख्नुपर्ने मूल उद्देश्य त्यागेर नाफा कमाउन लागेको आरोप लगाएका छन् ।

गत हप्ता, मस्क र ओपनएआईका कानुनी टोलीहरू क्यालिफोर्नियाको संघीय अदालतमा आमनेसामने भएका थिए जहाँ न्यायाधीशले ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत हुनबाट रोक्ने आदेश दिने कि नदिने भन्ने विषयमा छलफल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?