२ फागुन, गुल्मी । गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको मेसिन विश्व स्वास्थ्य संगठन नेपालका डा.एलिसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले अस्पताल विकास समितिका अध्यक्षत गोपाल पाण्डे तथा अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तान्तण गरेका थिए ।
विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य संगठन नेपालका डा.एलिसनले यो प्रणालीले नागरिकलाई धेरै सहज हुने बताए । उनले यसको अधिकत्तम प्रयोग गरेर सेवा लिन आग्रह गरे ।
विश्व स्वास्थ्य संगठन लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरीमै नवौं अस्पताल रहेको छ ।
विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । यो प्रणाली सुरुभएसँगै अस्पतालबाट उपलब्ध हुने सबै सेवा डिजिटल माध्यममा देखिने भएको छ ।
टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, औषधिलगायत विवरण ईएमआर प्रणालीमार्फत जानकारी लिन सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । ईएमआर प्रणाली मार्फत बिरामीलाई बिगतदेखि वर्तमानसम्मका विवरण सजिलै उपलब्ध हुनेछन् ।
ईएमआर प्रणालीको सुरु गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रदेश सरकार जनताप्रति जवाफदेही हुने गरी र जनताले सरकारको महसुस गर्ने गी काम गरिरहेको बताए । ईएमआर प्रणाली सुरु भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट अन्त्य हुने उनको विश्वास छ ।
यस कार्यले नागरिकको सहजताका निम्ति निकै उपयोगी हुने मन्त्री सारुले बताए । मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका गाडीमा जीपीएस जडान गर्ने, शुल्क सहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरुको नाम देखिने गरि प्राईभेट अस्पतालहरुको बोर्डमा नाम राख्ने काम बन्द गर्नेलगायतका कामहरु सुरु गरेको र यसको प्रभावकारीता सकारात्मक देखिएको बताए ।
गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कार्यालय प्रमुख बैभव बस्यालले ५० शैया रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्युठान, बाग्लुङगायतका छिमेकी जिल्लाका बीरामीहरुले समेत सेवा लिने बताए ।
गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेयले सबैको सुझाव ग्रहण गरेर अस्पताल विकास र गुणस्तरिय सेवा प्वाहका लागि कार्यान्वयन गर्ने बताए । ईएमआर प्रणाली मार्फत बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने विश्व स्वास्थ्य संगठन नेपालका सुदन ज्ञवालीले बताए ।
यो प्रणाली मार्फत रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार पर्नेछ । एकीकृत तथ्यांकको भण्डारण र व्यवस्थापनले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने ज्ञवालीले बताए । राज्यको स्वास्थ्य नीति निर्माण र प्राथमिकता तय गर्न तथ्यांक सहज प्राप्त गर्न सहज हुनेछ ।
भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । भवन अभावमा अहिले साँघुरो र पुरानो कोठाबाटै अत्यावश्यक सेवा प्रवाह हुँदै आएको छ ।
०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । आईसीयू, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरी ५ तलाको नयाँ भवन बन्न लागेको हो ।
गुल्मी अस्पतालमा अहिले प्रसूति र हाडजोर्नी विशेषज्ञ सेवा विस्तारले सेवाग्राहीलाई सहज बनाएको छ । पहाडी जिल्लाहरुमा विशेषज्ञ डाक्टरहरु दरबन्दी भएपनि आउन नमान्ने भएकाले सेवाग्रहीले विशेषज्ञ सेवा लिन समस्या हुने गरेको थियो ।
गुल्मी अस्पताल मृगौला पीडितहरुका लागि डायलाइसिस सेवा विस्तार भएको छ । जिल्लामा मृगौला पीडितहरुको डायलाइसिस सेवा नहुँदा पाल्पा बुटवल जानुपर्ने अवस्था थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4