 
																			नेपाली कांग्रेसको सहारामा नेकपा एमालेले सरकार निर्माण गरेको छ । त्यो कारण कांग्रेस पनि आज सरकारमा छ । केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारका अधिकांश ठाउँमा निर्वाचित हुन पुगेको कांग्रेस यतिबेला तीनै तहको सरकारको क्षमता वृद्धि गरेर ‘२०८४’ को निर्वाचनमा ‘मिसन–८४’ भन्नेहरूलाई कामकै माध्यमबाट जवाफ दिनुपर्ने ठाउँमा छ ।
तर, यतिबेला ऊ आफैं सम्मिलित सरकार आफैंद्वारा हतारमा जारी अध्यादेश र त्यसबाट उत्पन्न तरंगको भुमरीमा पर्न पुगेको छ । कुनै मानेमा पनि ल्याइनै नहुने भूमि सम्बन्धी अध्यादेशका कारण सरकार अप्ठ्यारोमा त छँदैथियो, सामाजिक सञ्जालकै कारण सरकारले बदनामी व्यहोर्नु परेको छ ।
यो बुझाइका साथ ‘सामाजिक सञ्जाल’ लाई कडाइ गर्ने कानुन निर्माण गर्न खोज्दा ‘न्युज पोर्टल’ नै बन्द हुने खतरा देखा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका बारे त ‘फरक विचार राख्नेलाई के गर्छन्’ जगजाहेर नै छ ।
 तर, कांग्रेस पनि अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिन पुगेको भान हुँदा लोकतन्त्र र त्यसप्रतिको कांग्रेसको निष्ठाका बारे प्रश्न उठ्नु स्वाभाविक नै हो । कांग्रेस पार्टीको विधानमा निर्दिष्ट समय अनुसार उसले आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्छ वा ‘बीपी कांग्रेस’ नेपाली कांग्रेसमा विलय भयो भन्ने ‘जाली तर्क’ गरेर महाधिवेशन भेड्क्याउँछ, अहिले नै भनिहाल्न सकिने अवस्था छैन ।
तर, कांग्रेस पनि अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिन पुगेको भान हुँदा लोकतन्त्र र त्यसप्रतिको कांग्रेसको निष्ठाका बारे प्रश्न उठ्नु स्वाभाविक नै हो । कांग्रेस पार्टीको विधानमा निर्दिष्ट समय अनुसार उसले आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्छ वा ‘बीपी कांग्रेस’ नेपाली कांग्रेसमा विलय भयो भन्ने ‘जाली तर्क’ गरेर महाधिवेशन भेड्क्याउँछ, अहिले नै भनिहाल्न सकिने अवस्था छैन ।
तर, सुशासन, अध्यादेश, आजका मितिमा बहुमत प्राप्त सरकार प्रतिको जनअपेक्षा, संसद् अन्तर्गतको समितिमै अड्काइराखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक लगायत तमाम विषय भुलेर ‘कांग्रेसका ११ भाइ’ तपाईं पछि हामीमध्ये नेता को भन्दै देउवा निवासमा भारदारी सभामा पुगेछन् ! मानौं देउवाले ‘तथास्तु’ भन्नासाथ सभापति पद प्राप्त भइहाल्छ !
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि जवाफ फर्काएछन्– सल्लाहमै हुन्छ यार, सल्लाहमै । ११ भाइ हल बाँधेर बूढानीलकण्ठ पुग्नुको मुख्य मकसद आफ्नो योग्यता र क्षमता देखाएर सभापति पद लडेर लिने भन्दा पनि देउवालाई खुशी बनाएर ‘अध्यक्ष पद’ हत्याउन सके हत्याउने नै हो ।
यदि हत्याउन नसके सभापति देउवासँग नजिक भएको भनिएका महामन्त्री गगनकुमार थापालाई देउवा क्याम्पबाट टाढा गराइछाड्ने ! यी मध्येको मकसद जे होला, सतहमै पोखिएको प्रश्न चाहिं के हो भने कांग्रेसका नेतालाई महाधिवेशनले छपक्कै छोपेछ !
महाधिवेशन भनेको कुनै पनि जीवन्त राजनीतिक दलको आन्तरिक जीवनमा आउने नियमित प्रक्रिया हो । अहम् प्रश्न त यतिबेला कांग्रेसको ध्यान ‘महाधिवेशन केन्द्रित’ हुनुपर्ने हो कि आफंै सम्मिलित तीनै तहका सरकारको क्षमता वृद्धि ? सँगै, पार्टीमा नेतृत्वको आकांक्षी हुने योग्यता भनेको ‘संस्थापन’ वा ‘संस्थापन इतर’ हुनु मात्र हो कि, पार्टीभित्र देखिएको बेमेललाई जोड्न सक्ने नेतृत्व ?
अर्को अहम् प्रश्न कांग्रेस पार्टीलाई ‘ढाका टोपी’ लगाउने केही वृद्धहरूको क्लबका रूपमा अड्याइराख्ने कि, देशका लाखौं युवामाझ पनि पार्टीलाई स्थापित गर्ने ? २०६२–६३ को जनआन्दोलन पश्चात् जन्मिएका ‘बालक’ अहिले ‘वयस्क’ भएर आफ्नो प्रतिनिधि आफैं छान्ने तहमा पुगिसके । तिनको भावनाको प्रतिनिधित्व बूढानीलकण्ठ दरबारमा जम्मा भएका ‘भाइ–भारदार’ बाट कति सम्भव होला ? यहाँ ११ भाइ र उहाँहरू भेट्न पुग्नुभएका नेता देउवा सहित ‘१२ भाइ’ लाई कटाक्ष गर्न खोजिएको होइन । आ–आफ्नो कालखण्डमा मुलुकको व्यवस्था परिवर्तनमा उहाँहरूको योगदान अतुलनीय छ ।
तर, यसै खाले मानिस ५०औं वर्षसम्म पनि एउटै रफ्तारमा काम गर्नका निम्ति काबिल होला त ? प्रश्नको जवाफ ‘१२ भाइ’ बाट आफ्नै कार्यकर्ताले खोजी प्रारम्भ गरिसकेका छन् भने भोलि महाधिवेशनको मैदानसम्म खोजिनै रहनेछन् ।
विरासतको गाथा गाएर मात्र हुने भए कांग्रेससँगैको ‘प्रजापरिषद्’ आज कहाँ छ ? राजतन्त्रको अन्त्यका निम्ति ‘क्रान्ति’ गरेको डाक्टर सन यात्सेनको ‘कोमिङताङ’ नामक पार्टीको चीनमा आज ‘साइनबोर्ड’ समेत छैन । जुन कुराको हेक्का ‘नेतृत्व प्राप्तिका निम्ति दरबार धाउने’ ११ भाइले बुझ्न र आफ्ना कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिन सक्नुपर्दछ ।
‘विचार र उमेर’ ले युवाको हातमा कांग्रेस पार्टी, सो पार्टीका कार्यकर्ताले लैजान सकेनन् भने पार्टी बन्ने भनेकै ‘कोमिङताङ’ नै हो । घरको तला नै पिच्छे आज बामपन्थी पार्टीका साइनबोर्ड छन्, उता कांग्रेस पार्टी एउटै छ । तर, पनि बामपन्थीको वेगलाई रोक्न सक्ने क्षमता आजको कांग्रेसले देखाउन सकेन !
केपी शर्मा ओलीले नेकपामा विभाजन नल्याइदिएको भए कांग्रेसको आकार आजको जत्रो हुनेथियो वा थिएन संशय नै छ । अर्कातिर निर्वाचन पूर्व गरिएको गठबन्धनका कारण पनि आकारमा कांग्रेस ठूलो बन्न पुग्यो ।
भोलि एक्लाएक्लै निर्वाचनमा जाँदा पनि पार्टीको आकार ठूलो बनाउने ‘उच्च मनोबल’ ७० कटेका नेतामा सम्भव नै छैन । यो प्रश्नको पनि जवाफ देशका सयकडौं कार्यकर्ताले नेतृत्वसामु भोलि खोज्ने छन् ।
काठमाडौंको चारभञ्ज्याङ बाहिर पनि नेपाल छ भन्ने हेक्का कांग्रेस नेतृत्वले राख्न सक्नुपर्दछ । देशै भरका तमाम नेता–कार्यकर्ता आज समयमै कांग्रेसको महाधिवेशन भएको र विचार र उमेरले युवाको हातमा पार्टी गएको हेर्न चाहन्छन् ।
सँगै, महाधिवेशनले आफ्नै सरकारबाट सरकारमा सामेल घटक, सरकार छाडेर गएको र आफ्नै नेतृत्वले संसद् नै विघटन गरेको विषय भोलिपल्टको सञ्चारमाध्यमबाट मात्र थाहा पाउने ‘माननीय !’ बाट वाक्कदिक्क छन् ।
कांग्रेसका देशैभरका तमाम नेता–कार्यकर्ता यतिबेला ‘समयको वेग’ बुझ्न सक्ने नेतृत्वको उत्कट अभिलाषा राखेर बसेका छन् । त्यति मात्र नभई देशैभरका तमाम कांग्रेसजन आफ्नै पार्टी सम्मिलित सरकारले समेत जनविरोधी काम गर्यो भने खबरदारी गर्ने नेताको खोजीमा छन् ।
विद्रोहको आवाज बोलेर ‘सरकार र पार्टी’ लाई सच्याउँदै आएका कांग्रेस नेता गगनकुमार थापाको मत्थर भएको बोलीका कारण पनि नेपालमै आफ्नो भविष्य देख्ने लाखौं युवा यतिबेला ‘विलखबन्द’ मा छन् । संभवतः ‘गगन’ यतिबेला कांग्रेसभित्र अभिभावकीय भूमिकामा रूपान्तरण गर्दै होलान् । तर, त्यो भूमिकाको ‘स्केल’ पनि ‘समर्पणवादी’ देखिने गरी चाहिं स्वाभाविक नहोला । यो कुरा स्वयम् नेता थापाले बुझ्न जरूरी छ ।
कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको ‘राप र ताप’ रहेकै समय पनि कोइरालाले के भन्छन् भनेर नहेरी सडकबाटै गणतन्त्रको नारा उरालेर देशलाई गणतन्त्रमा लैजान एक्लै मैदानमा उत्रिएकै कारण सडकबाट स्थापित नेता ‘गगन’ नेपाली राजनीतिका एउटा ‘च्यालेन्ज’ पनि हुन् । जसको सपनाबाट देशले कोल्टे फेर्नेछ र दैनिक सयौंको संख्यामा विदेशिनेहरूको पलायन रोकेर नेपालमै रोजगारी सिर्जना गर्ने अपेक्षा राखिएको छ ।
तर त्यसका निम्ति पार्टीको नेतृत्वसँगै मुलुकको कार्यकारी पद आवश्यक रहन्छ । जुन पदमा पुग्ने छनक देखिएसँगै एकथरी ‘गगन’ बूढानीलकण्ठ देउवाको शरणमा पुगिसक्यो भन्छन् भने अर्काथरी ‘बूढानीलकण्ठ’ छिर्न दिनै हुँदैन भन्दै हूल बाँधेर पुग्दछन् ! तर, गगन भने बूढानीलकण्ठको यो चक्कर छाडेर देशको मुहार फेर्न ‘दरबार’ नभई कार्यकर्ता र जनताको बस्ती अर्थात् मैदानमा ओर्लन जरूरी छ । जुन मैदानले उनलाई जनताको छोरो पुग्न सक्ने उपल्लो तहमा पुर्याउने हैसियत राख्दछ ।
मुलुकलाई प्रयोगशाला बन्नबाट रोक्ने नेतृत्व आज नेपाललाई चाहिएको छ । तसर्थ, नेपाली कांग्रेसले आफ्नो आसन्न महाधिवेशनबाट नेतृत्व चयन गर्दा ध्यान पुर्याउनुपर्ने हुन्छ । आज ‘लोकरिझ्याइँ’ गर्नेहरू आँगनमै प्रवेश गरिसके । लोकरिझ्याइँको राजनीति गर्नेहरूलाई जनताले समयमै चिन्न र जनतालाई समयमै चिनाउन सकिएन भने नेपाल पनि प्रयोगशाला बन्ने निश्चितप्रायः छ ।
लोकरिझ्याइँको राजनीति कस्तो हुन्छ भन्ने पछिल्लो उदाहरण दिल्लीमा केजरीवालले भोगेका छन् । त्यसका निम्ति जनतालाई भुलाएर सत्ता हत्याउन तयार दलका बारे जनतालाई बुझाइदिने ‘गगन’ हरू कमजोर बने भने नेपाल प्रयोगशाला बन्नबाट कसैले रोक्न सक्दैन । गगन रोक्नै पर्छ र हामी मध्येबाटै नेता हुनुपर्छ भन्दै बूढानीलकण्ठ दरबारको ‘भारदारी सभा’ मा पुग्नुभएका मध्ये कोही कसैलाई यसको हेक्का छ र यी हरफहरू पढ्नुभयो भने सार्वजनिक रूपमै जवाफ अपेक्षाकृत छ ।
कम्तीमा नेतृत्वमा पुग्ने विषय भनेको नेतृत्वका आकांक्षी मध्येबाटै ‘पार्टी र देशको रूपान्तरणको मार्गचित्र’ कार्यकर्ता बीच प्रस्तुत गरेर उक्त ‘मार्गचित्र’ का आधारमा आफ्नो नेता छान्ने अधिकार कार्यकर्तालाई छाड्नु हो । तर, कांग्रेसमा भने यतिबेला भारदार जम्मा भई कोही कसैलाई रोक्ने विषयमै घनीभूत छलफल चलिरहेछ !
कांग्रेस यतिबेला वरीयता विवाद, आफैंले आयोजना गरेका कार्यक्रममा मलाई किन बोलाइएन भन्ने जस्ता आफैंभित्रका स–साना विषय गुनासोका रूपमा सार्वजनिक गर्दै दिन कटाइरहेछ । हुँदाहँुदा पार्टीका निर्वाचित महामन्त्रीलाई पार्टी सभापतिको निवासमा किन आउन दिएको भन्नेसम्मका मलिन स्वर समेत भारदारी सभामा सुनिए !
केपी ओली नेतृत्वको सरकार निर्माण गर्दा गरिएको हस्ताक्षरमा उल्लेख संविधान संशोधनको एजेण्डा, सांसद रामहरि खतिवडा नेतृत्वको समितिमै ‘होल्ड’ अख्तियार सम्बन्धी विधेयकमा, सरकारमा सामेल कांग्रेस मन्त्रीहरूको कार्यक्षमता, समग्र सरकारका बारे समीक्षा, अध्यादेशबारे गम्भीर समीक्षा आदिमा कांग्रेस अन्योल रहँदै ‘२०८४’ उन्मुख छ मुलुक ।
एक्लै चुनाव लडेर बहुमतको सरकार निर्माण गरी ‘राजनीतिक स्थिरता’ दिंदै मुलुककै अभिभावकीय शक्तिमा रूपान्तरण हुनुपर्ने कांग्रेस यतिबेला टोलैपिच्छे गुट नामको ‘दोकान’ खोल्नमै व्यस्त छ । गल्ली गल्लीमा सम्पर्क कार्यालय खोलेर महाधिवेशनको ग्यारेण्टी नहुँदै भोट माग्ने ‘हाँडीगाउँको जात्रा’ को अर्को नाम भएको छ कांग्रेस !
‘आफू गर्न पनि नसक्ने, सक्नेलाई गर्न पनि नदिने’ गम्भीर प्रकृतिको सपनाबाट जुन दिनसम्म कांग्रेस बिउँझिन सक्दैन, तबसम्म अब ‘लोकरिझ्याइँ’ वाला नै बलियो बन्ने हो । जनता जो–कोहीको पनि ‘स्टन्ट’ पत्याउन थालिसके ।
राजनीतिक दल नामको ‘कलेवर’ देखि ‘इन्डिपेन्डेन्ट’ रूपमा दिनलाई रात र रातलाई दिन बनाइदिने हवाई सपना बाँड्नेहरू राजनीतिक बजारमा छ्यापछ््याप्ती देखा पर्न थाले ! विधि र पद्धतिलाई ‘फलो’ गरेर ‘स्टन्ट’ चिर्दै नेपाली जनतालाई बलियो बनाउनुपर्ने मूलधारका दल, त्योमाथि पनि कांग्रेस नेतृत्वसामु यतिबेला पार्टीलाई कसरी युवा आकर्षित पार्टीका रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने चेतनाका बारे छलफल गर्नुपर्ने चुनौती छ ।
तर, यति नै बेला कांग्रेसका नेता हूलका हूल दरबार पुग्दै युवामध्येका कोही कसैलाई कसरी रोक्न सकिन्छ भन्दै भारदारी सभा गर्नु चाहिं आश्चर्यको विषय हो । यो समस्या कांग्रेसमा मात्र रहेन । नेतृत्वसामु बोल्नै नसक्ने अवस्था सत्तारुढ अर्को घटक एमालेमा पनि छ ।
पुस्तान्तरणको बहस गरेर नथाक्ने एमाले सहित माओवादी, समाजवादी, मधेशवादी लगायत कहीं पनि नेतृत्वलाई चुनौती दिने युवा भेटिएनन् ! बाल्–बाल् कांग्रेसमा संसदीय दलका नेतामा देउवालाई चुनौती दिन तयार ‘गगन’ माथि पनि घेराबन्दी प्रारम्भ भइसकेको छ ।
कांग्रेस महाधिवेशनको चर्चाले ‘मौसम अगावै’ मार्केट लिन थालेको छ । एकाथरी जम्मा भएर ‘हामी संस्थापन पक्ष एक हौं’ भन्ने सन्देश दिन जरूरी छ भन्दैछन्, अर्काथरी चुनाव चाहिं ‘पटक पटक’ लड्ने तर, नारा चाहिं ‘एक पटक, यसै पटक’ भनेर पनि चुनाव लड्ने तयारीमा देखिन्छन् ।
तर, कार्यकर्ताको अपेक्षा भनेको ‘संस्थापन वा इतर’ भन्ने भन्दा पनि कांग्रेसलाई ‘युग सुहाउँदो’ कांग्रेसमा रूपान्तरण गर्ने ‘ल्याकत’ कसले राख्दछ भन्ने नै हो । वैचारिक रूपमा जुझारु तथा सेवाभावका हिसाबले ‘जनप्रिय’ कांग्रेस निर्माण नै आज यसको चुनौती हो ।
कांग्रेस मजबुत बन्न नसक्नुका पछाडि ‘तपाईंको उत्तराधिकारी म बन्न पाउँ’ भन्दै भारदारी सभामा पुग्नु नै हो । कम्तीमा नेतृत्वमा पुग्ने विषय भनेको नेतृत्वका आकांक्षी मध्येबाटै ‘पार्टी र देशको रूपान्तरणको मार्गचित्र’ कार्यकर्ता बीच प्रस्तुत गरेर उक्त ‘मार्गचित्र’ का आधारमा आफ्नो नेता छान्ने अधिकार कार्यकर्तालाई छाड्नु हो । तर, कांग्रेसमा भने यतिबेला भारदार जम्मा भई कोही कसैलाई रोक्ने विषयमै घनीभूत छलफल चलिरहेछ !
महाधिवेशन जहिलेसुकै होस्, नेतृत्वका लागि जो–जसका बीचमा प्रतिस्पर्धा होस्, महाधिवेशनका समय गुट परिवर्तन गरेर जो–जो जहाँ जहाँ पुगुन् त्यो कार्यकर्तालाई त्यति रुचिको विषय होइन, रुचिको विषय त नेतृत्वमा को पुग्छ भन्ने नै हो । १५औं महाधिवेशनबाट छनोट भएर आएको नेतृत्वले ‘भिजन’ सहित देशलाई अभिभावकीय नेतृत्व दिन सकेन भने नेपाली जनताले ‘कुर्वानी’ गरेर प्राप्त गरेको उपलब्धि गुम्ने खतरा रहन्छ ।
त्यसका निम्ति ‘विचार र उमेर’ ले ऊर्जाशील नेतृत्वको हातमा कांग्रेस कार्यकर्ताले ‘कांग्रेस’ सुम्पन सके भने मात्र केही हदसम्म नेपालको परिवर्तनसँगै प्राप्त उपलब्धि जोगिन सम्भव छ । अन्यथा, कुन पार्टीको नेतृत्वमा को आयो भनेर समाचार पढ्ने बाहेक महाधिवेशनको विषयले खासै फरक पार्दैन ।
भूराजनीतिक जोडघटाउ, सुशासनप्रतिको प्रतिबद्धता, उच्च आत्मबलसँगै निरन्तरको संघर्षबाट खारिएका नेतालाई उक्त पार्टीका कार्यकर्ताले पार्टीको ‘बागडोर’ सुम्पन सक्दा मात्र परिवर्तन सम्भव छ ।
अन्त्यमा, वैज्ञानिक आर्कीमिडिजले भनेका थिए– उभिनका निम्ति मलाई ठाउँ देऊ, पृथ्वीलाई म घुमाएर देखाइदिनेछु । हो, कांगे्रसका तमाम कार्यकर्ताले पनि ‘पार्टी र देश’ लाई नै रूपान्तरणको बाटोमा लैजान सक्ने नेतालाई पहिला पार्टीमा ‘उभ्याउन सक्नुपर्यो’ तब मात्र परिवर्तन सम्भव छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4