 
																			६ चैत, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी भएको छ ।
जितसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको बिरासत फर्काएको छ । स्ववियु निर्वाचन-२०८१ अन्तर्गत ५ चैतमा भएको निर्वाचनबाट अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मत ल्याएर मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको बिरासत फिर्ता ल्याएको हो ।
उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए ।
उनै छोइसाङले ५ चैत २०७९ मा भएको स्ववियु निर्वाचनमा सभापति जित्दै अनेरास्ववियुको बिरासत खोसेका थिए । मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक अखिल क्रान्तिकारी विजयी बनेको थियो । त्यतिबेला लामाले ८ सय १३ मत प्राप्त गरेका थिए भने नेविसंघ राप्रविसंघसँग तालमेल भएको थियो ।
यसपटक अखिल क्रान्तिकारी, राप्रविसंघ र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूबीच गठबन्धन भएको थियो । स्वतन्त्र उम्मेदवारी दिएका पुष्कर घिमिरेले अनेरास्ववियुका रेग्मीलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएका थिए । उम्मेदवारी निष्क्रिय पार्दा पनि घिमिरेले ४५ मत पाए ।
अखिल क्रान्तिकारीको प्यानलबाट सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका रामकृष्ण घोरासैनी र समानुपातिकतर्फका उम्मेदवार बुद्धबहादुर ब्राम्हुले अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानललाई समर्थन गरेका थिए ।
सचिवमा रेग्मी नेतृत्वको प्यानलबाट नेविसंघका उत्सव ढुंगाना ७ सय ११ मत ल्याउँदै विजयी बने । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका दिपेश कार्कीले ५ सय ४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेलले ७ सय ४ मत पाउँदै जित दर्ता गरे । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अमन रायले ५ सय ४४ मत ल्याए ।
सदस्यमा मनोज घलान (७८९), उमेश चौधरी (७२५), दिवस चापागाई (७३४), साजिर अन्सारी (६७३), कृषन थिङ (६३८), मन्दिप थापा (६३३), विवश अर्याल (६१६), अतित अधिकारी (६२०), रोहन गिरी (४७३), मिनेश पुडासैनी (६०४) विजयी बने । यस्तै, अर्पण बल (४२७), पवित्रा विक (४३२), निर्मला गोले (४२७), प्रेमी घलान (४२०), कुशलराज भट्टराई (५१४) र रामकृष्ण घोरासैनी (३९२) निर्वाचित भएको निर्वाचन अधिकृत सन्देश विडारीले जानकारी दिए ।
मकवानपुरमा आठ वटा शैक्षिक संस्थामा स्ववियु निर्वाचन हुनेगर्छ । जसमध्ये जिल्लास्थित सबै राजनीतिक दलले मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।
२०३८ सालदेखि स्ववियुमा जित्दै आएको अनेरास्ववियुले २०७९ को निर्वाचनमा आएर पहिलोपटक हार व्यहोरेको थियो । २०३८ सालमा रामकृष्ण श्रेष्ठ सर्वसम्मत स्ववियु सभापति भए । २०६० सालमा नवीन सिग्देल सभापति भएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4