११ चैत, काठमाडौं । कप्तान रोहित पौडैल र पुरन बिकले अर्धशतक बनाएपछि एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ ।
सोमबार एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएको हो । लुम्बिनीले दिएको २२४ रनको लक्ष्य एपीएफले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
पुरन बिक ७२ रनमा नटआउट रहे भने कप्तान रोहित पौडेलले ७१ रन बनाए । लोकेश बम र सन्दिप जोराले समान २१ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २२३ रन बनाएको थियो । कप्तान देव खनालले ६३ तथा मृनाल गुरुङले ५५ रन बनाए ।
एपीएफका अभिषेक गौतम र अमरसिंह राउटेलाले ३-३ विकेट लिए भने मौसम ढकालले २ विकेट लिए ।
यो जितसँगै एपीएफले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ भने लुम्बिनी शीर्ष ४ को होडबाट बाहिरिने लगभग निश्चित भएको छ ।
प्रतिक्रिया 4