+
+
Shares

१८ वर्षमै विवाह : कलिलैमा आमा बन्न बाध्य पार्दैछ सरकार

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भन्छन्- हर्मोन र महिनावारी पूर्ण परिपक्क हुनका लागि कम्तीमा २० वर्ष लाग्छ । बच्चा बस्ने पाठेघर सानो हुने तथा बच्चा पाउने बाटो र हड्डीको बनावट पूर्ण विकास नहुँदा कलिलै उमेरमा आमाको मृत्यु हुने सम्भावना हुन्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ चैत १२ गते २१:३२

१२ चैत, काठमाडौं । सरकारले विवाहको न्यूनतम उमेर १८ वर्षमा झार्नुपर्ने बहस थालेको छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा गृहमन्त्री रमेश लेखकले बालबालिकासम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी दिँदै विवाहको उमेर घटाउन छलफल चलिरहेको बताए ।

‘विवाहको उमेर २० वर्षबाट घटाएर १८ मा लैजाऔं भन्ने छ,’ लेखकले भने, ‘बालबालिकासम्बन्धी ऐनको संशोधन प्रक्रिया अहिले मन्त्रिपरिषद्‌मा विचाराधीन छ । त्यस विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि छलफल गरिरहेका छौं ।’

हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । १८ वर्ष पुगेपछि युवा मानिने हुँदा विवाह गर्नका लागि थप दुई वर्षको समय राखिनु व्यावहारिक नहुने कतिपय सांसदको तर्क छ । विवाहको उमेर घटाउने विषयलाई लिएर कतिपय अधिकारकर्मीले पनि असहमति जनाइरहेका छन्।

स्वास्थ्य विज्ञहरुले पनि १८ वर्षकै उमेरमा विवाहले मान्यता पाउँदा किशोरीमा शारीरिक सँगै मानसिक रुपमा समेत असर पर्ने बताएका छन् । विवाहपछि तुरून्तै गर्भधारणले किशोरीको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने उनीहरुको तर्क छ ।

‘किशोर–किशोरी उमेर सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । यस समयमा मानसिकसँगै शारीरिक विकास भइरहेको हुन्छ,’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भन्छन्, ‘१८ वर्षमै विवाहको प्रस्ताव त्यति व्यावहारिक देखिँदैन । किशोर–किशोरीमा कुनै पनि कुराको निर्णय गर्ने क्षमतासमेत विकास भएको हुँदैन । बच्चा जन्माउनका लागि प्रजनन् अंग परिपक्व नहुँदा आमा र शिशु दुवै स्वस्थ हुँदैनन् ।’

किशोरावस्था बाल्यकाल र वयस्कको बीचको अवस्था भएकोले आफूमा हुने परिवर्तनलाई कसरी सहज रूपमा लिने र बुझ्ने भन्न गाह्रो हुन्छ । डा सुवेदी भन्छन्, ‘१८ वर्षमै किशोरी मानसिक रूपमा पनि आमा बन्न तयार भएकी हुँदिनन् ।’

विज्ञका अनुसार १८ वर्षकै उमेरमा अवस्थामा गर्भवती हुनु भनेको स्वास्थ्यको हिसाबले अत्यन्तै खतरा हो । ‘शारीरिक रूपमा पूर्ण तयार नहुँदै बच्चा जन्माउँदा बच्चा र आमा दुवैलाई जोखिम हुन्छ,’ अर्का वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पदमराज पन्त भन्छन्, ‘आमाबाट जन्मिने शिशुहरूको वृद्धि विकास कम हुन्छ । बच्चालाई समेत दीर्घकालीन असर पर्नसक्छ ।’

विज्ञका अनुसार १८ वर्षकै उमेरमा पूर्ण रुपमा पाठेघरको विकास भएको हुँदैन । किशोरीको हड्डीको बनावट पूर्ण विकास भइसकेको हुँदैन । जोर्नी पनि ठूलो बनेको हुँदैन ।

‘हर्मोन र महिनावारी पूर्ण परिपक्क हुनका लागि कम्तीमा २० वर्ष लाग्छ,’ डा. सुवेदी थप्छन्, ‘बच्चा बस्ने पाठेघर पनि सानो हुन्छ । बच्चा पाउने बाटो र हड्डीको बनावट पूर्ण विकास नभएकाले सुत्केरी हुँदा आमाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’

कलिलै उमेरमा गर्भवती हुँदा उच्च रक्तचाप, मधुमेह र अन्य रोगको जोखिम समेत बढेर जान्छ । डा. सुवेदी भन्छन्, ‘कलिलो उमेरमै बच्चा जन्माउँदा गर्भपतनको जोखिम उच्च हुनुका साथै मानसिक समस्याहरू पनि देखिन सक्छन् ।’

यस विषयलाई यौनका रुपमा मात्रै सीमित नराखेर व्यक्तिगत, आर्थिक, सामाजिक पाटोबाट पनि केलाउनुपर्ने विज्ञ बताउँछन् ।

कलिलै उमेरमा विवाह हुँदा किशोरीको जीवन नै अस्तव्यस्त हुन्छ । अध्ययनलाई निरन्तरता दिन सक्दैनन् । बच्चा जन्माएर घरमै बस्नुपर्ने बाध्यताले श्रीमान् वा परिवारकै भरमा बाँच्नुपर्ने हुन्छ ।
हरेक विषयमा अरूमाथि निर्भर हुनुपर्ने भएपछि किशोरी आफ्नो प्रजनन् स्वास्थ्य, सन्तान नजन्माउन वा बालबालिकाप्रति गरिने निर्णयका लागि स्वतन्त्र हुँदिनन् ।

जसका कारण किशोरीबाट जन्मिएको सन्तानको जीवनमा पनि नकारात्मक असर पार्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा. मधुसुदन सुवेदी बताउँछन् । १८ वर्षअगाडि नै यौनसम्पर्कमा सक्रिय हुन्छन् भन्ने दृष्टिकोणबाट विवाहलाई मान्यता दिनु व्यावहारिक नभएको उनको भनाइ छ ।

‘कलिलै उमेरमा विवाह हुँदा किशोरीमा पर्ने व्यक्तिगत, सामाजिक, शैक्षिक र भविष्यसँग जोडेर हेर्नुपर्ने हुन्छ,’ डा. सुवेदी भन्छन्, ‘यौनक्रिया गर्न सक्षम भएको भन्दै पश्चिमी देशको तुलना गरेर हाम्रो कानुन परिवर्तन गर्नु गलत हो । नेपाली समाजमा अहिले पनि महिलाको अवस्था कमजोर छ ।’

सानैमा बच्चा जन्माउँदा कामकाजी उमेरमा आम्दानीभन्दा घरधन्दामै समय बित्ने, पढाइ प्रभावित हुने र काममा जान नसक्दा किशोरी आर्थिक रूपमा घरपरिवारको भर पर्नुपर्ने डा सुवेदीको भनाइ छ ।

अर्का वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुनिलमणि पोखरेल पनि गर्भवती हुनका लागि महिलाको उमेर २० उचित हुने बताउँछन् । ‘कलिलै उमेरमा गर्भवती हुँदा अध्ययनमा पनि असर गर्छ । यो उमेरमा किशोरकिशोरी आर्थिक रुपमा समक्ष भएका हुँदैन,’ डा. पोखरेल भन्छन्, ‘आमाले गर्भवस्थामा पाउने स्याहरसुसार र बच्चाको हेरचाहमा कमी हुन जान्छ ।’

गर्भवती भएपछि आमाले आफूँसँगै बच्चाको पनि ख्याल राख्नुपर्ने हुन्छ । तर उनीहरु मानसिक र शारीरिक रुपमा भने तयार समेत हुँदैनन् । चिकित्सकका अनुसार गर्भमा भ्रुण बसेदेखि नै महिलाको हर्मोन परिवर्तन हुन थाल्छ । हर्मोन अधिक उत्पादन हुने हुँदा शरीरमा थकान, सुस्तता र मनमा उदासीपन छाउँछ ।

प्रसवले पनि थप पीडा दिन्छ । त्यही बेला बच्चाको स्याहारसुसारका कारण अनिँदो हुन्छन् । डा. पोखरेल भन्छन्, ‘कम उमेरमा गर्भवती भएका किशोरीहरुले पोस्टपार्टम डिप्रेसन हुनुका साथै सुसाइड गर्ने जोखिम पनि धेरै देखिएको छ ।’

विशेषज्ञहरूका अनुसार, किशोरी आमाबाट जन्मिएका बच्चाको तौल प्रायः कम हुन्छ । किशोरी आमाहरूलाई सन्तुलित खानपानका बारेमा जानकारी कम हुने भएकाले कुपोषित बच्चा जन्मने सम्भावना हुन्छ । किशोरी आमाले पेटमा भएको बच्चालाई ख्याल नगरेको अवस्थामा नर्मल रूपमा विकास हुनुपर्नेभन्दा कम तौलको शिशु जन्मिन सक्छ ।

‘सामान्यतः नेपाली बच्चा जन्मिँदा ३ केजीका हुन्छन् । तर कलिला आमाबाट जन्मिएका बच्चा १.५ केजी र २ केजीका जन्मिन्छन्,’ स्त्रीरोग विशेषज्ञ डा. सुवेदी भन्छन् ।

यस्ता बच्चाहरू शारीरिक अपाङ्ग तथा मानसिक रूपमा कमजोर हुने जोखिम उच्च रहन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले वार्षिक १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । यसलाई राष्ट्रिय जनगणना २०७८ को किशोरीको संख्या (१४ लाख ७१ हजार) सँग तुलना गर्दा यो अंक २ लाख ६ हजार हुन आउँछ ।

विशेषज्ञका अनुसार गर्भवती हुने बहुआयामिक कारणमा शिक्षाको कमी, गरिबी, सामाजिक प्रचलन, बेरोजगारी सहितका पक्ष जोडिन्छन् ।

‘देशभर १४ प्रतिशत किशोरी गर्भवती हुनुले अहिले पनि कलिलैमा सन्तान जन्माउने आमाको भयावह अवस्थाको चित्रण गर्छ,’ समाजशास्त्री डा. सुवेदी प्रतिप्रश्न गर्दै भन्छन्, ‘सरकारले लुकिछिपी भएको विवाहलाई रोक्नुपर्ने हो । तर कानुन नै बनाएर फुक्काफाल गर्दा किशोरकशोरीको भविष्य कस्तो होला ?’

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार सबैभन्दा धेरै समस्या कर्णाली प्रदेशमा छ । कर्णालीमा १५–१९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरी गर्भवती हुन्छन् ।

मधेश प्रदेशमा २० प्रतिशत, गण्डकी, कोशी र सुदूरपश्चिममा १३/१३, लुम्बिनीमा १० र बागमतीमा ८ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतका परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लाल सानै उमेरमा रजस्वला हुनु भनेको गर्भाधानका लागि तयार नभएको बताउँछन् ।

‘आजभोलि खानपानले गर्दा ८ देखि १० वर्षमै बालिकाको रजस्वला सुरू हुन्छ । तर रजस्वला हुने बित्तिक्कै गर्भवतीका तयार भएको भन्ने होइन,’ डा. लाल भन्छन्, ‘ नीतिनिर्माण तहमा पुगेका सांसदले यस्तो तर्क गर्नु दुःखद हो ।’

डा. लालका अनुसार किशोरकिशोरीमा सहमतिमा यौनसम्पर्क भई बच्चा बसेको खण्डमा किशोरलाई बलात्कारका रुपमा नहेरी सजाय कम गर्ने कानुन अर्को बनाउन सकिन्छ । ‘तर बलात्कारको नाम दिँदै विवाहको लागि प्रोत्साहन गर्नु गम्भीर विषय हो,’ डा. लाल भन्छन् ।

अहिले कलिलैमा विवाह हुनुको कारणमा सामाजिक पक्षले प्रभाव पारिरहेको डा. लालको बुझाइ छ । त्यसैले कम उमेरमै विवाह हुनु र गर्भवती हुनुको कारण खोजिनुपर्ने उनको भनाइ छ ।

घरको पारिवारिक अवस्थाले पनि छिट्टै विवाह गर्नुपर्ने, विद्यालय उमेरमै विवाह गरेर पढाइ छाड्ने, गर्भवती भइसकेपछि पढ्न नजाने, जस्ता कारणले पनि यो विषयको सामाजिक अर्थ रहेको उनको भनाइ छ ।

‘किशोरी अवस्था विस्तारै शारीरिक र मानसिक रूपमा परिपक्व हुँदै जाने उमेर हो । किशोरी अवस्थामा आत्मनिर्भर, शिक्षित हुने तथा प्रतिस्पर्धामा उत्रिएर सामाजिक र आर्थिक रुपमा अगाडि बढ्ने बाटो बन्द हुन्छ,’ डा. लालले भने, ‘किशोरीको जीवन र बच्चाको भविष्यलाई ठूलो असर पार्छ ।’

‘किशोर–किशोरी किन चाँडै विवाह गर्ने निर्णयमा पुग्छन् वा समाजबाटै यसमा किन प्रोत्साहन मिलिरहेको छ भनेर खोज्ने बेला भइसकेको छ । यस विषयलाई हामीले समयमै सम्बोधन नगर्ने हो भने किशोरी झन् पीडामा पर्दै जान्छन्,’ डा. लाल भन्छन् ।

एनडीएचएस सन् २०२२ सर्वेक्षणले विवाह भएका १५ देखि १९ वर्षसम्मका ९ प्रतिशत किशोरीलाई घरपरिवारबाट बच्चाका लागि दबाब आउने गरेको देखाएको छ । यस्तै यौन र स्वास्थ्यसम्बन्धी निर्णय लिँदा किशोरी उमेर समूहको सहभागिता सबैभन्दा न्यून छ ।

सर्वेक्षणले १५ देखि १९ वर्षका किशोरीको ३७ प्रतिशत मात्रै सहभागिता रहेको देखाउँछ । यस्तै श्रीमान् तथा प्रेमीबाट नै २१ प्रतिशत किशोरीमाथि यौन दुर्व्यवहार हुने सर्वेक्षणको तथ्यांक छ ।

‘सबैभन्दा बढी लैंगिक हिंसामा किशोरी नै पर्छन् । कलिलै उमेरमा विवाहले जीवन नै चौपट हुन्छ,’ डा. सुवेदी भन्छन्, ‘सरकारले सही बाटोमा छलफल नै गरेको छैन । अहिले भइरहेको बहस जरूरी देखिँदैन ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?