सामाजिक सञ्जालतिर आफूखुसी राखिएका स्वास्थ्य सम्बन्धी टिप्सहरू अनुसरण गर्नु कति घातक हुन्छ, भारतमा भएको एक घटनाले देखाएको छ । सामाजिक सञ्जालमा दिइएको सुझावअनुसार तौल घटाउन ‘वाटर फास्टिङ’ गर्दा केही दिनअघि एक किशोरीले ज्यान गुमाएकी छिन् ।
टाइम्स अफ इन्डियाले दिएको खबरअनुसार केरला राज्यको कन्नूर जिल्लास्थित थालासेरी निवासी १९ वर्षीया श्रीनन्दा स्नातकोत्तर पहिलो वर्षमा अध्ययनरत थिइन् ।
शरीरको तौल घटाउन भन्दै श्रीनन्दा अनलाइनमा दिएको टिप्सअनुसार करिब १ वर्षदेखि लगभग पानी मात्रै खाएर बाँचेकी थिइन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई मार्च महिनाको सुरुवातमा थालासेरा कर्पोरेटिभ अस्पतालमा भर्ना गरिएको थियो ।
थालासेरी अस्पतालका चिकित्सक डा.नागेश मनोहर प्रभुका अनुसार श्रीनन्दाको तौल करिब २४ केजी थियो । उनी ओछ्यान परेकी थिइन् । रगतमा ग्लूकोज र सोडियमको मात्रा एकदमै कम साथै रक्तचाप पनि धेरै कम थियो ।
उनी इडिटिङ डिसअर्डर ‘एनोरेक्सिया’ बाट पीडित थिइन् । यो भनेको खानेकुरा खाएपछि तौल बढ्छ भन्ने चिन्ताबाट उत्पन्न मानसिक समस्या हो । यस्तो समस्या भएका व्यक्तिले तौल घटाउनका लागि कठोर कार्य गर्न पनि पछि पर्दैनन् । श्रीनन्दाले पनि त्यसै गरिन् ।
जति प्रयास गरे पनि उनको स्वास्थ्यमा सुधार ल्याउन नसेकेको डा.नागेशले बताएका छन् । अस्पताल भर्ना भएको ५ दिनपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मार्च १० मा उनको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
चिकित्सकको सल्लाहबिना अनलाइनमा आएका जथाभावी टिप्समा भर पर्न नहुने पाठ यो घटनाले सिकाएको चिकित्सकहरूले बताएका छन्।
के हो वाटर फास्टिङ ?
वाटर फास्टिङ एक खालको उपवास हो, जसमा पानीबाहेक अन्य खानेकुरा खाइँदैन । शरीरको तौल घटाउन र अन्य केही स्वास्थ्य समस्या हटाउनका लागि व्यक्तिहरूले वाटर फास्टिङ विधि अपनाउने गर्छन् ।
शरीरको अवस्था हेरेर २४ घण्टादेखि बढीमा ७२ घण्टासम्म मात्रै वाटर फास्टिङ बस्न विज्ञहरू सुझाव दिन्छन् ।
वाटर फास्टिङबाट स्वास्थ्यमा केही फाइदा भएपनि जोखिमहरू पनि उत्तिकै रहेको भारतको कानपुरस्थित एपोलो स्पेक्ट्रा अस्पतालकी वरिष्ठ डाइटिसियन डा.अञ्जली तिवारी बताउँछिन् ।
दैनिक भाष्करसँगको कुराकानीमा तिवारी भन्छिन्–जब हामीले खाना खादैनौँ शरीरमा ऊर्जा कम हुन्छ । त्यो ऊर्जाका लागि शरीरले क्षतिग्रस्त कोषहरूलाई खान थाल्छ । यो प्रक्रियालाई ‘अटोफेजी’ भनिन्छ ।
यसो हुँदा शरीरका अस्वस्थ कोषहरू नाश हुने र स्वस्थ कोषहरू मात्रै रहने हुन्छ । यो शरीरका लागि राम्रो कुरा हो । शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न र कोषहरूलाई पुनर्ताजगी गर्न यसले सकारात्मक भूमिका खेल्छ ।
शरीरको तौल घटाउन, पाचन सम्बन्धी समस्या र अन्य केही रोगका लागि वाटर फास्टिङ उपयुक्त हुने तिवारीको भनाइ छ ।
वाटर फास्टिङले उच्च रक्तचाप र खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्छ । मुटुको स्वास्थ्य सुधार हुने र तनाव कम हुन्छ ।
वाटर फास्टिङ गर्नुअघि निम्न कुरामा ध्यान दिनुपर्ने तिवारीले सुझाव दिएकी छिन् ।
–बाटर फास्टिङमा बस्नुछ भने अलि पहिलादेखि तयारी गर्नुपर्छ । छोटो समय उपवास बस्ने र थोरै, हल्का खानेकुरा खाँदै तयारी गर्नुपर्छ ।
–फास्टिङ सुरु गर्नुभन्दा एक–दुई दिन पहिलादेखि नै टन्न पानी पिएर शरीरलाई हाइड्रेड राख्नुपर्छ ।
–छोटो समयको फास्टिङबाट सुरु गरी समय लम्ब्याउँदै लैजानुपर्छ ।
–धेरै काम र कडा मेहनत गर्नुनपर्ने समयमा फास्टिङ गर्नु उपयुक्त हुन्छ ।
–अत्याधिक मात्रामा पानी पिउनु पनि हुँदैन । दिनभरमा २ देखि ३ लिटर मात्रै पानी पिउनु उपयुक्त हुन्छ ।
– फास्टिङपछि एकैपटक धेरै खानेकुरा वा कडा डाइट खानु हुँदैन ।
–७२ घण्टा भन्दा बढी वाटर फास्टिङमा बस्नुपरको खण्डमा पहिला चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
कसले वाटर फास्टिङ नगर्ने ?
–कमजोर र कम तौल भएका व्यक्ति
–मुटु सम्बन्धी रोग भएका
–मधुमेहका रोगी
–माइग्रेनको समस्या भएका व्यक्ति
–गर्भवती तथा दूध खाने बच्चा भएकी महिला
–कुनै रोग लागेर नियमित औषधि खाइरहेका व्यक्ति
प्रतिक्रिया 4