१८ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आम सञ्चार माध्यम र पत्रकारलाई निसाना बनाउनेहरूलाई कारबाही गर्ने बताएका छन् ।
१५ गते राजावादीको आन्दोलनका क्रममा मिडियालाई निसाना बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग गृहमन्त्री लेखकले यो प्रतिबद्धता गरेका हुन् ।
सोमबार महासचिव रामप्रसाद दाहालसहित महासंघको ८ जनाको संयुक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेको थियो ।
हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, एवम् संचार गृहमा र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए ।
यसैगरी उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारहरुको विषयमा सरकार गम्भीर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाइ छ ।
ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवम् सिद्धान्तविनाको भिडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए । ‘तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने निश्चित उदेश्य थियो, लक्ष्य थियो’, गृहमन्त्री लेखकले भने, ‘विध्वशं मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4