मात्रिका पौडेल
१८ असार, काठमाडौं । तीन दिनअघि बल्खुमा एमाले अध्यक्ष झलनाथ खनालले महाधिवेशनको सन्दर्भमा आफूलाई रेफ्रीको भूमिकामा राख्दै भनेका थिए ‘रेफ्रीले सिठ्ठी नफुक्दै खेलाडी माधव नेपाल र केपी ओली मैदानमा भिडे’ । तीन दिनपछि प्रज्ञा प्रतिष्ठानमा खनालको बिँडो थाम्ने हामी नै हौं भन्दै आएका योगेश भट्टराईले भने ‘झलनाथ कमरेड हाम्रो टिमको क्याप्टेन हो, उहाँले दिएको पासमा माधव नेपालले गोल गर्नुहुन्छ’ ।
रेफ्रीका रिजर्भहरु धमाधम खुले
नवौं महाधिवेशनको हलभित्र प्रवेश गरिरहँदा पनि झलनाथको रुझान कतातिर भन्ने स्पष्ट भइसकेको छैन । आठौं महाधिवेशनमा उनलाई अध्यक्ष बनाउन लाग्ने अधिकांश नेताहरु अहिले माधव नेपाललाई बोकेर अघि बढिसकेका छन् ।
अन्तिम घडीसम्म रिजर्भमा रहेका भीम आचार्य, पुरुषोत्तम पौडेल लगायतका उनका निकटस्थहरु पनि आफ्नो राजनीति बचाउनकै लागि बिस्तारै माधव नेपाल समूहका भेलामा सहभागी हुन शुरु गरेका छन् ।
खनालको दाउ
आफ्ना साँढुभाइ सुरेन्द्र पाण्डेदेखि बहिनीज्वाइँ भीम आचार्यसम्मका खनाल निकटस्थहरु माधव नेपालतिर लागिसक्दा अब अध्यक्ष खनाल एक्लैले ओलीलाई साथ दिने सम्भावना लगभग टरेको छ । तर, पनि उनी आफूलाई यसपटक तटस्थ भूमिकामै राखेर आफ्नो भावी दिनलाई सर्वस्वीकार्य बनाउन चाहान्छन् ।
‘भविष्यमा राष्ट्रपति प्रधानमन्त्रीजस्ता अवसर एमालेलाई आउँदा दुवै गुटको स्वीकार्य हुने भूमिकामा खनाल बस्न चाहन्छन्’ उनलाई बुझेका एक एमाले नेता भन्छन् ‘उनले भित्रभित्रै आफ्ना सहयोगीहरुलाई माधव नेपाल टिममा व्यवस्थापन गर्ने तर, बाहिर चाहिँ ओलीका विपक्षमा पनि कुनै गतिविधि नगर्ने रणनीति बनाएका छन्’ ।
ओली पक्षको अपेक्षा
लामो समय खनाललाई साथ दिएका योगेश भट्टराई पनि खनाललाई आफूहरुले खुलेरै नेपालको पक्षमा नलाग्न सुझाएको बताउँछन् । ‘उहाँको साथ सहयोग र शुभेच्छा हामीलाई नै छ, तर खुलेर लाग्नु पर्दैन, आफ्नै स्थानमा बस्दा राम्रो हुन्छ भनेका छौं’ उनले भने ।
तर, ओली पक्षका कतिपय नेता भने खनालको सहयोग अन्तिममा ओलीलाई हुने दावी गर्छन् । ‘एमालेले राष्ट्रपति पाउँदा खनाललाई पठाउने बचन ओली र वामदेवले दिइसकेका छन्, उनी अहिले कसको शक्ति बलियो हुन्छ भनेर हेरिरहेका छन्’ ओली पक्षका एक प्रभावशाली नेताले भने- ‘ओलीले जित्ने निश्चित देखिए उनी ओलीतिर लाग्नेछन्, नत्र तटस्थ भूमिकामै रहन्छन्’ ।
अध्यक्ष खनाल यसपटक ओलीलाई चिढ्याउने पक्षमा नरहेको उनी निकटहरु बताउँछन् । तर, उनको ‘लिगेसी’ बोकेकाहरु सबै माधव नेपालतिर लागेकाले ओलीले चुनावी मैदानमा खनालको साथ पाउन भने लगभग असम्भव बन्न थालिसकेको छ ।
सुरेन्द्रसँग असन्तुष्टि
सर्वसम्मत अध्यक्ष हुनका लागि अझै पनि लालायित रहेका खनाल सुरेन्द्र पाण्डे लगायतका केही आफ्नै भनिएकाहरुसँग असन्तुष्ट बनेका छन् । सर्वसम्मतिको सम्भावना नै नराखी चुनावी अभियान चलाएको उनलाई चित्त बुझेको छैन । त्यसैले भीम आचार्य, पुरुषोत्तम पौडेल, गोकर्ण विष्ट, सत्रुघन महतोलगायतका आफ्ना विश्वासपात्रहरुलाई खनालले सकेसम्म तटस्थ राख्न खोजेका थिए । तर, जिल्ला र अन्यत्रको दबावका कारण उनीहरुलाई रोक्ने अवस्थामा खनाल छैनन् । बुधबार पौडेल र विष्टहरुले माधव नेपालको कार्यक्रममा उपस्थिति जनाइसकेका छन् ।
क-कसको चिन्ता ?
बुधबारै नेपालको पदाधिकारी टिम घोषणा हुने भनिएकोमा खनालकै कारण पदाधिकारी प्यानल घोषणा हुन सकेन । उनले माधव नेपाललाई अहिले हतार नगरौं भन्नुको कारण एउटा त सर्वसम्मतिको अन्तिम आशा र दोस्रो चाहि आफू र आफ्नाहरुको भविष्यको ग्यारेन्टीको शर्त हुन सक्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार उनले गोकर्ण विष्टलाई उपमहासचिव, भीम आचार्य र परशुराम मेघी गुरुङलाई सचिव, पुरुषोत्तम पौडेल, इन्द्रलाल सापकोटा, हरि राई, धनकुटा अध्यक्ष राजेन्द्र राई, निरज आचार्य लगायतका युवालाई केन्द्रीय कमिटीमा स्थापित गर्न चाहान्छन् ।
अझ नेपाल पक्षका कतिपय केन्द्रीय सदस्यका आकांक्षीहरु झलनाथको कोटामा परे नेपालको प्यानलमा सहजै सिट पाइने भन्दै खनाल निवासतिर दौडिन थालेको चर्चा पनि एमाले पंक्तिमा चलेको छ ।