 
																			३ वैशाख, काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई उच्च नेतालाई समातेर कारबाही प्रक्रिया अघि बढेको संकेत दिएको थियो ।
ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महासचिव एवं सांसद डा. धवल शमशेर राणालाई त्यतिबेलै पक्राउ गरिएको थियो । मिश्र र राणाबाट सुरु भएको पक्राउ अपरेसन हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर प्रसाईंसम्म आइपुग्यो ।
प्रहरीले सुरुवाती क्रमदेखि अहिलेसम्म करिब २ सय जनालाई पक्राउ गरे पनि स्क्रिनिङ गरेर धेरैलाई छाडेको छ । पक्राउ परेकामध्ये अपराधमा संलग्नलाई मात्रै म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार अहिलेसम्म ८२ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
तीमध्ये ७४ जना मात्रै अहिले परिसरको हिरासतमा छन् । बाँकी ८ जनालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसँग राय लिएर हाजिरी जमानीमा हिरासतमुक्त गरिएको छ । छाडिएकाहरू देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् । उनीहरू भाटभटेनी तोडफोड हुँदा फलफूल टिप्नेहरू रहेको प्रहरीले बताएको छ । यद्यपि, उनीहरूलाई मुद्दा भने चलाइने प्रहरीले जनाएको छ ।

तीनकुने घटनामा यति ठूलो संख्यामा पक्राउ पर्नुको मुख्य कारण नै मिडिया रहेको प्रहरीको भनाइ छ । हिंसात्मक प्रदर्शन, आगजनी, तोडफोड र उत्तेजित अभिव्यक्ति लिएर भीडलाई आक्रोशित बनाउने जति व्यक्ति पक्राउ परे ती अधिकांशजसो विभिन्न मिडियामा आएका भिडिओहरूबाट व्यक्ति पहिचान भएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
तीनकुने घटनामा आगो लगाउने, तोडफोड गर्ने, बन्दुक खोस्ने सबैजसोको भिडिओ, फोटो मिडियामा आएकाले पक्राउ गरी अनुसन्धान गर्न सहज भएको प्रहरीको भनाइ छ । सीसीटीभी फुटेजको मात्रै भर पर्दा राम्रोसँग व्यक्ति पहिचान हुन नसक्ने र सबैतिर सीसीक्यामेराले कभर नगर्ने हुँदा समस्या हुन्थ्यो । तर मिडियाले भने जस्ताको जस्तै फोटो, भिडिओ सार्वजनिक गरेकाले सहज भएको प्रहरीको भनाइ छ ।
त्यसो त प्रहरी आफैंले समेत विज्ञप्ति निकालेर तीनकुने घटनामा व्यक्ति पहिचान गर्न सहयोग माग गरेको थियो । तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ, फोटो भए उपलब्ध गराएर सहज बनाउन भनेको थियो ।

राजावादी प्रदर्शनमा मुख्य कमान्डर दुर्गा प्रसाईं विरुद्धको ज्यान मार्ने उद्योगको बलियो प्रमाण पनि प्रहरीले मिडियामा आएको भिडिओलाई नै लिएको छ । सार्वजनिक भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ । यसले अभियुक्तको पहिचान मात्रै नभएर अदालतमा प्रमाणको समेत काम गर्ने अनुसन्धान अधिकारीहरू बताउँछन् ।
सार्वजनिक भएका फोटो, भिडिओलाई नै एउटा सबुद प्रमाणको रूपमा संकलन गरेर अदालतमा पेश गर्ने प्रहरीको तयारी छ । अनुसन्धानमा खटिएका टोलीहरूले यो पाटोमा समेत काम गरिरहेका छन् ।
यी बाहेक अझै केही पक्राउ पर्न बाँकी नै रहेको प्रहरीको भनाइ छ । जसका कारण आरोपितको संख्या थपिने निश्चित छ । ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि प्रहरीले अन्य कार्यालयबाट पनि थप अनुसन्धान अधिकृत मगाएर अनुसन्धानलाई तिव्रता दिएको छ ।
चार युनिटबाट थपिए अनुसन्धान अधिकृत
ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि परिसरले थप चार युनिटबाट अनुसन्धान अधिकृत मगाएर अनुसन्धान अघि बढाएको छ । तीनकुने घटनाका लागि भनेर मात्रै छुट्टै अनुसन्धान अधिकृतहरू तोकिएको छ । तीनकुने घटनामा खटिएकाहरूले अन्य घटनाको अनुसन्धान गर्दैनन् ।
यो घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली मगाएर अनुसन्धान अघि बढाइएको छ ।
अपराध अनुसन्धान विभागबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनी अनुसन्धानमा खटिएका छन् । उनी यसअघि ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा पनि खटिएका थिए । त्यतिबेला मानव बेचबिखन अनुसन्धान ब्यूरोमा रहेका उनलाई सुनको अनुसन्धानमा खटाइएको थियो ।
यसका साथै रानीपोखरीको एआईजी कार्यालयबाट एसपी प्रवीण धिताललाई तीनकुने घटनाको अनुसन्धानका लागि खटाइएको छ । परिसर ललितपुरबाट मुद्दा शाखाका इन्स्पेक्टर नानिकाजी थापा खटिएका छन् । थापा मुद्दामा निकै राम्रो दख्खल राख्ने इन्स्पेक्टरको रूपमा चिनिन्छन् । उनी यसअघि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा भएको ठूलो ठगीको अनुसन्धानमा खटिएका थिए ।

अपराध अनुसन्धान कार्यालय आईटी शाखाका इन्स्पेक्टर राजेश महर्जन, हृदय सापकोटासहित दुई जना तीनकुने घटनाको अनुसन्धानमा खटिएका छन् । उनी प्रविधिमा निकै पोख्त मानिन्छन् ।
धेरै प्रतिवादी भएका ठूला र हाई प्रोफाइल व्यक्ति जोडिएका मुद्दाहरूमा प्रहरीले थप टोली मगाएर यसअघि पनि अनुसन्धान गर्दै आएको थियो । भुटानी शरणार्थी प्रकरणमा पनि अन्य कार्यालयहरूबाट थप अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरिएको थियो ।
विशेषगरी जटिल प्रकृतिका, धेरै प्रतिवादी जोडिएका र भीआईपी आरोपित भएका केशमा प्रहरीले छुट्टै टोली बनाएर अनुसन्धान गर्दै आएको छ ।
तीनकुने घटनामा परिसर भद्रकाली, काठमाडौंबाट एसपी कुलदीप चन्दसहितको टोली पनि खटिएको छ । परिसर भद्रकाली, काठमाडौं र अन्य थप चार युनिटका टोली गरी करिब २० अनुसन्धान अधिकृतको सहयोगमा तीनकुने घटनाको अनुसन्धान भइरहेको परिसर स्रोत बताउँछ ।
धमाधम बयान
हिरासतमा रहेका ७४ जनामध्ये करिब ३० जनाको बयान जिल्ला सरकारी वकिल कार्यालयमा भइसकेको छ । राजद्रोहको कसुर, संगठित अपराध, आपराधिक उपद्रवका आरोपितको बयान भइरहेको छ । परिसरको हिरासतबाट सरकारी वकिलको कार्यालय लगेर धमाधम बयान भएको छ ।
सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार सोमबार र मंगलबार दुई राप्रपा नेता मिश्र र राणाको बयान भएको थियो । ‘दुई दिनमा उनीहरूको बयान सकिएको छ । थप अनुसन्धान गर्दा केही खुलेमा फेरि बयानको काम हुन्छ,’ काफ्लेले अनलाइनखबरसँग भने । मिश्र र राणाविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा बयान लिइएको छ ।
उनीहरूका साथै दुर्गा प्रसाईं, उनका अंगरक्षक दीपक खड्का, गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, विष्णु पराजुली, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, पुष्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा लगायतलाई राजद्रोहको कसुरमा मुद्दा चलाउने तयारी छ । राजद्रोहको कसुरमा २५ वर्षसम्म कैद हुने व्यवस्था छ ।
अन्य अभियुक्तको पनि बयान लिने काम भएको छ । तर २९ चैतदेखि परिसरको हिरासतमा रहेका प्रसाईंको बयान सुरु भएको छैन । अहिलेसम्म प्रहरीले उनीमाथि अनुसन्धान गर्ने र सामान्य सोधपुछ मात्रै गरेको छ । केही दिनपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं उपस्थित गराएर बयान सुरु गरिने प्रहरीले जनाएको छ ।
प्रसाईंविरुद्ध भने राजद्रोह, आपराधिक उपद्रव, संगठित अपराधका साथै ज्यान मार्ने उद्योगको कसुरमा समेत अनुसन्धान भएकाले त्यसैअनुसार बयान लिने तयारी छ ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै आएका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।
राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका संयोजक ८६ वर्षीय नवराज सुवेदीलाई भने हाउस अरेस्टमै राखिएको छ । उनको घरमा अहिले पनि प्रहरीको उपस्थिति छ । यद्यपि, उनलाई मुद्दा चलाइने/नचलाइने भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
सुवेदीले समेत समर्थन गरेको राजा फर्काउने प्रदर्शन हिंसात्मक बनेको थियो । व्यक्तिको घर जलाउनेदेखि पसल, मार्ट तोडफोड भए । सवारी साधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4