 
																			६ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्बाट विद्यालय शिक्षा ऐन पास हुने कुरामा ढुक्क रहन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन् ।
गत चैत २० देखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित भन्दै सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेका छन् ।
सरकारकारसँग लगातार वार्तामा बसे पनि शिक्षकहरू करिब तीन सातादेखि सडकमा प्रदर्शन गरिरहेका छन् ।
यसअघि उक्त ऐन ल्याउने जिम्मेवारी लामो समयसम्म माओवादी केन्द्रसँग रहेको बताउँदै अहिले वर्तमान सरकारलाई दोष दिन नमिल्ने पोखरेलले बताएका छन् ।
‘विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो। तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै “पानी माथिको ओभानो” बन्ने प्रयास लाजमर्दो छ,’ पोखरेलले सामाजिक सञ्जालबाट भनेका छन् ।
पोखरेलले सरकारले विधेयकमा आएका संशोधनहरूको गम्भिर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत् काम अघि बढाइएको जानकारी पनि गराएका छन् ।
‘वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको अवस्थामा विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको छ,’ उनले भनेका छन्, ‘अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ ।’
उनले विद्यालय शिक्षा ऐनको माओवादी केन्द्रले आलोचना नभइ निःशर्त सहयोग गर्नुपर्ने बताए ।
‘आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ—जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन,’ उनले भनेका छन् ।
सरकारले आगामी १२ बाट सुरु हुने संसद् अधिवेशनमा विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेको भन्दै राजनीतिक स्वार्थको विषय नबनाउन आग्रह गरेका छन् ।
‘अब सबै पक्ष जिम्मेवार बनौं । संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौं । शिक्षा हाम्रो साझा भविष्य हो,’ उनले भनेका छन्, ‘यसलाई दलीय राजनीतिक स्वार्थको विषय नबनाऔं !’
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4