 
																			७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलहरूभित्र केही न केही रोग रहेको स्वीकार्दै तत्काल उपचारमा लाग्नुपर्ने टिप्पणी गरेका छन् ।
विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादीले एमालेलाई, एमालेले कांग्रेसलाई दोष दिन सक्छन्। तर सबै पार्टीहरू अलिकति रोगी छन् ।’
उनले थपे, ‘पहिलेको जस्तो ताजगी छैन, आन्दोलनकालको जस्तो जनसंगठन छैन। त्यसैले उपचार आवश्यक छ ।’
उपचारको पहिलो उपाय आत्मसमीक्षा गर्नुपर्ने उनको सुझाव छ । ‘जब व्यक्तिले आफूमा रोग छ भन्ने बुझेपछि मात्र उपचार सुरु हुन्छ। त्यसैगरी पार्टीहरूले पनि आफूमा समस्या छ भन्ने आत्मबोध गर्नुपर्छ। त्यसपछि मात्र जनभावनाको सम्मान गर्दै सुधार सम्भव हुन्छ,’ उनले बताए।
माओवादी केन्द्रले केन्द्रीय समितिबाटै आत्मसमीक्षा आरम्भ गरिसकेको पनि उनले जिकिर गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाललाई अब नयाँ आर्थिक र सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको निष्कर्ष सुनाए ।
‘हामीलाई नयाँ आर्थिक मोडल चाहिएको छ, जुन जनताबाट सिकिएको होस्। त्यसैले हामी मजदुर, किसान, सहिद परिवार, व्यवसायी, समाजसेवीहरूसँग संवादमा छौं’ उनले भने, ‘यस्तै संवादबाटै उपयुक्त आर्थिक मोडल तयार हुन्छ भन्ने मेरो विश्वास छ ।’
गणतन्त्र पक्षधरहरू मिल्नुपर्ने आवाज उठिरहे पनि व्यवहारमा त्यो सम्भव हुन नसकेको प्रचण्डले बताए ।
‘हामी गणतन्त्रवादीहरू मिलेर शान्ति सम्झौता गरेका थियौं, संविधानसभा गठन र गणतन्त्र स्थापनामा सँगै लागेका थियौं। तर, आजको दिनमा हामी किन एक ठाउँमा उभिन सकेनौं भन्ने विषयमा गम्भीर बहस आवश्यक छ,’ उनले भने।
‘मैले पनि अनेकौं पहलहरू गरेको हुँ, तर हामीबीच एकता कायम हुन सकेन। यसले कतै न कतै समस्या रहेको स्पष्ट हुन्छ,’ उनले भने ।
उनले गणतन्त्र पक्षधरहरूले आत्मसमीक्षा गरे मात्रै एकता सम्भव हुनेमा जोड दिए।
‘कहाँ गल्ती भयो? जनताको भावना र आवश्यकता सम्बोधनमा, विकासको दृष्टिकोणमा हाम्रो त्रुटि के रह्यो? त्यो आत्मसमीक्षा गरेपछि मात्र हामीबीचको एकता सार्थक र परिणाममुखी बन्न सक्छ,’ उनले भने ।
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था भए पनि शासकीय स्वरूप उपयुक्त रूपमा छनोट गर्न नसक्दा समस्या उत्पन्न भएको बताए ।
‘संविधानले व्यवस्था गरेको प्रणालीसँग मेल खाने शासकीय स्वरूपको अभावले अस्थिरता बढेको हो’ उनले भने, ‘यसअघि पनि सरकार बारम्बार फेरबदल हुँदै आएको यथार्थ हामी सबैको सामु स्पष्ट छ ।’
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने प्रचण्डको प्रस्ताव छ । उनले भने, ‘हामीले अंगीकार गरेको प्रणालीअनुसार शासकीय स्वरूप र निर्वाचन प्रणाली पुनरावलोकन गर्नु अपरिहार्य छ।’
अहिले अपनाइएको निजीकरण र उदारीकरणको मोडल पनि पुनः समीक्षा गर्नुपर्ने प्रस्ताव उनले राखे ।
नेपालको मौलिक इतिहास, उत्पादन प्रणाली र सांस्कृतिक विरासतलाई आधार मानेर स्वदेशी मोडल निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
‘हामी विदेशी सिफारिसहरू मात्र पछ्याउने प्रवृत्तिमा लाग्यौं। आत्मनिर्भरता र मौलिकताको बाटोमा अघि बढ्न सकेनौं। अब हामीले आफैंको इतिहास र आवश्यकता अनुसारको मोडल निर्माण गर्नु आवश्यक छ,’ उनले भने ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4