
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूका सिफारिस अनुसार काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै सभापति देउवाले विभागहरूको सक्रियताको प्रसंशा गरे ।
सभापति देउवाले भने, ‘पार्टीका विभिन्न विभागबाट प्राप्त हुने सुझावहरूलाई ध्यानमा राखेर नेपालको अर्थतन्त्रले भ्याएसम्म कामहरू अगाडि बढाउँछौं ।’
उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताए । लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रिया लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीको भावी रणनीतिको तर्जुमाका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसको विपन्न उत्थान समन्वय विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषय वस्तुहरूलाई समेटेर प्रतिवेदन पेस गरेकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई धन्यावाद दिए ।
‘कांग्रेसले गठन गरेको प्रायः सबै विभागहरूले सक्रियताका साथ राम्रो काम गरिराख्नुभएको छ,’ उनले भने, ‘विभागहरूको सक्रियताले पार्टीलाई गतिशील बनाएको छ र नयाँ ऊर्जा पनि थपेको छ ।’
प्रतिक्रिया 4