
१८ वैशाख, काठमाडौं । सरकारसँग सहमति भएको २४ घण्टा नबित्दै शिक्षक महासंघमा बबन्डर मच्चिएको छ । सरकारसँगको सहमतिप्रति विरोध जनाउँदै शिक्षक संघ/संगठनले नेतृत्वमाथि प्रश्नै-प्रश्न तेर्स्याएका छन् ।
सरकार र महासंघबीच बुधबार राति ९ बुँदे सहमति भएको थियो । सो सहमतिबारे महासंघले जानकारी गराउन र एक-अर्कालाई बधाई दिन बिहीबार रत्नराज्य मावि बानेश्वरमा समीक्षा कार्यक्रम राखेको थियो ।
एक महिने आन्दोलनको मैझारोमा शिक्षक नेताहरू रत्नराज्यमा भेला भएका थिए । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भेलालाई सम्बोधन गर्न थालेसँगै विद्यालय कर्मचारीहरू होहल्ला गर्न थाले ।
‘अहिलेको सहमतिले कर्मचारीलाई ज्यादा सम्बोधन गर्न सकेको छैन । यसमा सबैभन्दा असन्तुष्ट लक्ष्मीकिशोर सुवेदी छ । तर प्रयत्न गरेको छ कि छैन, त्यो पनि हेर्नुपर्छ,’ अध्यक्ष सुवेदीले प्रष्ट पार्न खोजिरहेका थिए । तर विद्यालय कर्मचारीहरू आक्रोशित भए ।
एक महिने आन्दोलनको समीक्षा र बधाई साटासाट गर्न भेला भएकाहरू एक-अर्कामाथि हात हालाहाल गर्न थाले । ‘हात हालाहालको स्थिति बन्यो । पत्रकारलाई समेत बाहिर निकालियो । केहीबेर बबन्डर मच्चियो,’ सहभागी एक सदस्यले भने ।
विद्यालय कर्मचारीहरूले नेतृत्वलाई प्रश्न गरिरहेका थिए । ‘विद्यालय कर्मचारी सधैं मरिरहने हो ? आन्दोलनको फ्रन्टलाइनमा कर्मचारी हुने तर सहमतिमा हामी नअटाउने ? थोरै तलब खाने निमुखा कर्मचारीमाथि महासंघ नेतृत्वले राजनीति गर्यो । महासंघले धोका दियो,’ चर्को चर्को स्वरमा विद्यालय कर्मचारीहरूले प्रश्न गरिरहेका थिए ।
एकाएक रत्नराज्य स्कुलको महोल अशान्त बन्यो । कुटाकुटकै स्थिति आएपछि प्रहरीसँग गुहार माग्नु पर्यो । सरकारसँग भएको सहमतिको पक्ष र विपक्षमा शिक्षक कर्मचारी बाँडिएपछि प्रहरीले अध्यक्ष सुवेदीलाई सुरक्षित स्थानमा लैजानुपर्यो ।
बुधबार दिउँसोसम्म एकै स्वरमा बोलिरहेका महासंघ घटक संघ-संगठन बिहीबार दिउँसोसम्म आइपुग्दा ध्रुवीकृत मात्र भएनन्, हात हालाहालको स्थितिमा आइपुगे ।
आन्दोलन परिचालन कमिटीका सहअध्यक्ष नानुमाया पराजुली भने त्यस्तो नभएको दाबी गर्छिन् । ‘आफ्नो माग-मुद्दा परेन भनेर विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउनुभएको हो,’ पराजुलीले भनिन्, ‘आन्दोलनको उपलब्धिबारे जानकारी र बधाई दिन कार्यक्रम आयोजना गरिएको हो ।’
कार्मचारीको विरोधका बीच पराजुलीले आन्दोलन ऐतिहासिक भएको बताइन् । ‘हामीले ऐतिहासिक आन्दोलन गरेका छौँ । यो अभिलेखीकरण हुनेछ । महासंघ लडेको हो, अधिकारका लागि अझै लड्न तयार छ,’ उनले भनिन्, ‘शिक्षा ऐन जारी हुन्छ । आन्दोलनको रूप मात्र परिवर्तन भएको हो।’
अध्यक्ष सुवेदीले आन्दोलनको नारा बनाएका थिए, ‘कि जितिन्छ, कि बितिन्छ ।’ आफैंले बनाएको नारालाई धोका दिएको शिक्षक संघ-संगठनका नेताहरूको आरोप छ ।
‘कि जितिन्छ, कि बितिन्छ भनेर सिकाउनेहरूले धोका दिए । कर्मचारीलाई पाखा लगाए । कर्मचारीबिना विद्यालय खुल्दैन । हाम्रो आन्दोलन जारी रहन्छ,’ कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले आक्रोशित हुँदै भने ।
त्यसपछि परिषद्ले छुट्टै समीक्षा बैठक राख्यो । र आन्दोलनलाई जारी राख्ने निर्णय गर्यो । ‘महासंघसँग जे सहमति भएको थियो, त्यस विषयमा महासंघले प्रष्ट पार्नुपर्छ । त्यो नभएसम्म विद्यालय फर्किदैनौं,’ परिषद् अध्यक्ष गंगाराम तिवारीले भने, ‘हामी आन्दोलन गर्छौं ।’
शिक्षक महासंघले विद्यालय शिक्षक कर्मचारी परिषद्सँग गरेको सहमतिविपरीत सरकारसँग सम्झौता गरेकोमा असन्तुष्टि जनाएको हो ।
‘लेखापालको खरदारसहर ३२ हजार ९ सय २ रुपैयाँ र विद्यालयको कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग हाम्रो सहमति थियो तर सरकारसँग सम्झौता हुँदा तोकिएबमोजिम भनेर आयो । तोकिएबमोजिम भनेको कति हो ?,’ परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने, ‘ऐन बनेर नियमावली बनेर आउने रे । त्यो पनि कहिले बन्ने हो ? २०८३ मा ऐन आउला नियमावली आउला । त्यतिबेलासम्म के खाने ? कर्मचारी चाहिँ भोकै मर्ने ?’
नेपाल विद्यालय कर्मचारी परिषद् मात्र होइन, बालविकास शिक्षक, संस्थागत विद्यालय शिक्षक युनियन लगायतले पनि विरोध जनाएका छन् । महासंघले बालविकासको मुद्दालाई पहिलो नम्बरमा राखेर आन्दोन गरेको तर सहमति गर्दा धोका दिएको बाल विकासका शिक्षकहरूको छ । २९ दिनसम्म आन्दोलन गर्दा प्रतिव्यक्ति एक/डेढ लाख खर्च भए पनि सहमति हुँदा हात लाग्यो शून्य भएको गुनासो शिक्षकहरूको छ ।
‘९ बुँदे सहमतिमा बाल विकासको केही पनि आएन । तोकिएबमोजिम हुने भनेर आयो । त्यो भनेको कति हो ? महासंघले स्पष्ट पार्नुपर्छ,’ बाल विकास शिक्षक संगठन तदर्थ समिति अध्यक्ष रेखा रानाभाटले भनिन्, ‘२९ दिन आन्दोलन गर्दा एक/डेढ लाख सकियो । सहमति हुँदा हात लाग्यो शून्य भयो ।’
महासंघले ३६ हजार बाल विकासका शिक्षकको मन दुखाएको गुनासो उनको छ । ‘बालविकासका शिक्षकको मन दुखेको छ । छटपटी भएको छ । शिक्षकहरूले फोन गरेर के आयो भनेर सोध्नुहुन्छ,’ उनले भनिन्, ‘बाल विकासलाई विद्यालयमा ल्याएको भए, शिक्षक बनाएको भए स्वत: अरु कुरा हुने थियो । हामीलाई विद्यालय मातहत ल्याउनुपर्ने हो, त्यो नै सहमतिमा आएन ।’
बाल विकासका शिक्षकले श्रम ऐनअनुसार पनि तलब नपाएको उनले गुनासो गरिन् । ‘प्रावि तृतीय सरह हाम्रो सेवा-सुविधा हुनुपर्ने हो । बाल विकास शिक्षक पीडित छौं,’ उनले भनिन् । यसरी महासंघविरुद्ध नै शिक्षक/कर्मचारीहरू खनिएका छन् । एक महिने आन्दोलन गरेर शिक्षक/कर्मचारी आफ्नै नेतृत्वसँग बेखुस हुँदै विद्यालय फर्किएका छन् ।
प्रतिक्रिया 4