+
+
Shares

२० हजारको सुपारी दिएर नाबालक प्रयोग, ७२ वर्षीय वृद्धको हत्या

आपराधिक पृष्ठभूमिका मीनबहादुरलाई ७२ वर्षको उमेरमा आफन्तबाटै हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ वैशाख १९ गते २३:२२

१९ वैशाख, काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्ने ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको पारिवारिक बेमेल लामो समयदेखि थियो ।

दुई श्रीमतीका श्रीमान् मीनबहादुरलाई बिमारले च्याप्दै थियो । एक श्रीमती उनीसँगै बस्थिन्, अर्की छुट्टै । आफूसँग बस्ने श्रीमतीसमेत बिरामी भएपछि उपचार खर्चको जोहो गर्नुपर्ने थियो ।

तर, विगतको आपराधिक पृष्ठभूमि र पारिवारिक बेमेलका कारण उनलाई घर-परिवारका सदस्यले पत्याइहाल्ने अवस्था थिएन । पारिवारिक बेमेलको उतारचढाव भोग्दै आएका मीनबहादुर १३ वैशाख राति आफ्नै घरमा मृत भेटिए ।

घरमा सुतिरहेको अवस्थामा दुई अपरिचित व्यक्ति आएर राति ११:३० बजे हत्या गरेको भन्दै मीनबहादुरकी जेठी श्रीमतीतर्फको नातिले विमानस्थल सुरक्षागार्ड तुम्लिङटारमा राति ११:३२ बजे खबर गर्छन् ।

विमानस्थल सुरक्षागार्ड तुम्लिङटारका प्रमुख वरिष्ठ नायव निरीक्षक (सई) देवीबहादुर कार्की कमान्डको टोली ११:४० बजे घटनास्थलतर्फ जान्छ । प्रहरीले मीनबहादुरलाई मनकामना अस्पताल तुम्लिङटार पठाउँदा चिकित्सकले १२:४७ बजे मृत घोषणा गर्छन् ।

अपराध अनुसन्धानको मुख्य कडी तथा पहिलो बिन्दु ‘क्राइम सिन’लाई सुरक्षित राख्दै जिल्ला प्रहरी कार्यलयमा वरिष्ठ सई कार्कीले खबर गर्छन् । वरिष्ठ सईबाट जानकारी पाउनासाथ संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्ष बस्नेत कमान्डको टोली राति नै घटनास्थलमा खटिन्छ ।

दुई इन्स्पेक्टर, क्राइस सिन अफिसर (सोको) टिम, सादा पोसाकको टोली गरी जिल्लाबाट ७६ जना घटनास्थलमा परिचालन हुन्छ ।

सूचना संकलन गर्ने क्रममा १९ चैत गतेदेखि उक्त एरियाका विभिन्न व्यक्तिको घरमा अपरिचित व्यक्तिहरू पसेको तर कुनै धनमाल चोरेर नलगेको भन्ने सूचना प्रहरीले पाउँछ । उक्त सूचना भेरिफाइ गर्दा असत्य सावित हुन्छ । त्यसपछि यो भ्रम फैलाउनेमाथि नै केन्द्रित भएर प्रहरीले अनुसन्धान अघि बढाउँछ ।

घटनाको भोलिपल्टै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा समन्वय गरी केनाइन शाखा धरानबाट कुकुरसहितको टोली झिकाएर अनुसन्धान सुरु हुन्छ ।

मृतक मीनबहादुर आफ्नै छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेको आरोपमा जेल बसेका थिए । ९ कात्तिक २०७१ मा मीनबहादुरले आफ्नै छोराको टाउको र बुहारीको हातमा खुकुरी प्रहार गरेका थिए ।

१५ वैशाखमा प्रदेश कार्यालयबाटै प्रादेशिक अनुसन्धान समूह (पीटीआई) को टोली डीएसपी बस्नेतले माग गर्छन् । सईको कमान्डमा तीनजनाको पीटीआई टोली घटनास्थल पुग्छ ।

इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभादेखि जिल्ला, प्रदेशको टोलीले प्राविधिक विश्लेषणदेखि म्यानुअल अनुसन्धान अघि बढाउँछन् । घटनाको ४ दिनपछि मीनबहादुर हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गर्छ । जसमा दुई महिला र दुई पुरुष छन् । आरोपित पक्राउ परेपछि मीनबहादुर हत्याको गुत्थी खुल्छ ।

आफन्तकै योजनामा बालक प्रयोग गरेर हत्या

हत्या आरोपमा पक्राउ परेकी ४५ वर्षीया महिला मृतककै आफन्त हुन् । उनैको मुख्य योजनामा मीानबहादुरको हत्या भएको प्रहरीको भनाइ छ । ४५ वर्षीया महिलाले मीनबहादुरको हत्याका लागि १७ वर्षका दुई किशोरलाई प्रयोग गरेको खुलेको छ ।

हत्याका मुख्य योजनाकार ४५ वर्षीया महिला हुन् भने घटनामा १३ वर्षकी बालिका पनि पक्राउ परेकी छिन् । मीनबहादुरको हत्यामा बालिकाले पनि सहयोगी भूमिका खेलेको प्रहरीले बताएको छ ।

भोजपुर घर भई संखुवासभामा ग्यारेज र ट्र्याक्टरमा मजदुरी गर्दै आएका दुई किशोरलाई हत्यामा प्रयोग गरेको खुलेको छ । त्यसका लागि उनीहरूलाई २० हजारको सुपारी दिने निधो गरिएको थियो । तर ती किशोरले उक्त रकम नपाएको बताइएको छ । यी दुई किशोरले नै मीनबहादुरको घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

पुरानो रिसइबी र जग्गासम्बन्धी विवादका कारण मीनबहादुरको हत्या भएको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘मृतक मीनबहादुरको नाममा जग्गा थिएन । उनकी श्रीमती र छोराहरूको नाममा जग्गा थियो । उक्त जग्गासमेत बेचबबिखन गर्ने भनेपछि विवाद भएको देखिन्छ । साथै पुरानो रिसइबी पनि हत्यामा जोडिन्छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

मृतक मीनबहादुरका छोरा मलेसियामा बस्दै आएका छन् । यसअघि ती छोरालाई समेत उनले खुकुरी प्रहार गरेका थिए । छोरा घर फर्किए मारिदिनेसम्मको धम्की मीनबहादुरले दिने गरेको खुलेको प्रहरी बताउँछ ।

प्रहरीलाई छल्ने अनेक दाउ

मीनबहादुरको हत्या लुकाउन आरोपितले अनेक जुक्ति निकालेको प्रहरीको भनाइ छ । उनीहरूले नै यसअघि राति-राति चोरको समूह आउने गरेको, घरको ढोका हिर्काउने गरेको र भित्र पस्ने गरेको बताएका थिए । तर यो कुरा भेरिफाइ गर्दा झुटो ठहरिएको थियो ।

हत्याको घटनामा आफूमाथि शंका नहोस् भन्दै उनीहरूले यो भ्रम हत्या अघिदेखि नै फैलाउने गरेको पाइएको डीएसपी बस्नेत बताउँछन् ।

हत्याको पूर्वयोजनाअनुसार अहिले पक्राउ परेका चारैजना अभियुक्तले योजनाकार महिलाको घरमा बसेर नसालु पदार्थ र मदिरा सेवन गरेको प्रहरीको भनाइ छ । त्यसपछि मृतकको घर नजिक पुगेर योजनाकार महिला र नाबालिकाले घर देखाएको र दुई नाबालकले घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्यापछि दुई नाबालक पनि योजनाकारकै घरमा आएर बसेको प्रहरीले बताएको छ । हत्यापछि भागेर कतै गएमा प्रहरीले शंका गर्ने भन्दै उनीहरू गाउँमै बसेका थिए । र, प्रहरीलाई यसअघि चोरले राति-राति दु:ख दिने गरेको भन्दै अफवाह फैलाएका थिए । पछि उनीहरूलाई पक्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

व्यक्ति हत्या र ज्यान मार्ने उद्योगमा जेल बसेर निस्केका थिए मृतक

मृतक मीनबहादुर आफ्नै छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेको आरोपमा जेल बसेका थिए । ९ कात्तिक २०७१ मा मीनबहादुरले आफ्नै छोराको टाउको र बुहारीको हातमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गरेपछि ज्यान मार्ने उद्योगको कसुरमा ७ वैशाख २०७२ मा उनलाई अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो । उनी ५ वर्ष कैद भुक्तान गरी २०७६ सालमा छुटेका थिए ।

डीएसपी बस्नेतका अनुसार यसअघि उनले आफ्नै भाइ नाता पर्ने व्यक्तिलाई १ असोज २०५९ मा हत्या गरेका थिए । यो कसुरमा पनि उनी कैद भुक्तान गरेर निस्केका व्यक्ति हुन् । यिनै आपराधिक पृष्ठभूमिका मीनबहादुरलाई ७२ वर्षको उमेरमा सुपारी दिएर आफन्तबाटै हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?