
२२ वैशाख, कपिलवस्तु । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले संघ, प्रदेश र स्थानीय सरकारहरु अधिकतम् युवा मैत्री हुनुपर्ने बताएका छन्। बस्नेतले युवामैत्री मात्र मात्र नभइ युवा सहभागिता सहितको शासन हुनुपर्नेमा जोड दिएका छन्।
लुम्विनी प्रदेशको कपिलवस्तु जिल्ला अन्तर्गत बुद्धभूमि नगरपालिकाद्वारा आयोजित नगर युवा परिषदका नवनियुक्त उपाध्यक्ष बाबुराम घिमिरे सहितका सदस्यहरुको सपथग्रहण समारोहमा उपाध्यक्ष बस्नेतले भने, ‘युवाहरुलाई भविष्यका कर्णाधार मात्र भनेर हुँदैन, वर्तमानका साझेदार बनाइनुपर्दछ।’
बस्नेतले युवाहरुले घरआगनमा सजिलै भेट्ने पहिलो सरकार नै स्थानीय सरकार भएकाले यसले युवालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए । दिगो विकास लक्ष्य पुरा गर्न युवा सशक्तीकरणमा जोड दिनुपर्ने जिकिर गर्दै बस्नेतले भने,’युवा उद्यशीलता , रोजगारी र सिप विकासमा तिनै तहका सरकारले प्राथमिकतापूर्वक ध्यान दिनुपर्दछ।’
बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले युवामैत्री स्थानीय शासन अभिवृध्दिका लागि बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद गठन गरिएको जानकारी गराए । मेयर श्रेष्ठले युवामा छाएको निराशा अन्त्य गर्न र स्वदेशमै आशा जगाउन नगरपालिका निरन्तर क्रियाशील रहेको बताए।
कार्यक्रममा लुम्विनी प्रदेश युवा परिषदका सदस्य सरोज खनाल, वडा नं.५ का अध्यक्ष रोमबहादुर थापा लगायतले युवा सशक्तीकरणमा जोड दिएका थिए।
प्रतिक्रिया 4