
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- सैनिक कल्याणकारी कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँको घोटाला प्रकरणमा पूर्वजमदार आत्मराम थापालाई कारागार चलान गरिएको छ।
- प्रकरणमा संलग्न रहेको आरोपमा फरार रहेका प्रमुख सेनानी लक्ष्मण अधिकारीलाई पक्राउ गरिएको छैन।
- अनुसन्धानले देखाएको छ कि रकम घोटाला २०७४ सालदेखि २०७५ सम्मको अवधिमा भएको थियो र यसमा विभिन्न व्यक्तिहरूको संलग्नता रहेको पुष्टि भएको छ।
२८ वैशाख, काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका पूर्वजमदार कारागार चलान भएका छन् ।
पूर्वजमदार आत्मराम थापालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । आइतबार न्यायाधीश भट्टको इजलासले कारागार चलानको आदेश दिएकाले कारागार पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
बहालवाला सहायक रथी रोशन खड्का र बहालवाला सेनानी बोधराज कार्कीसमेतको मिलेमतोमा सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गतको आवास तथा बीमा शाखाबाट २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला भएको थियो ।
यो प्रकरणमा नेपाली सेनाका अवकाशप्राप्त जमदार ४५ वर्षीय थापालाई परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान गरेको थियो । यही प्रकरणमा संलग्न रहेको आरोप लागेका अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी भने अहिलेसम्म फरार छन् । अधिकारीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
परिसरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघातको कसुरमा मुद्दा दायर गरेको थियो । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५२ को कसुरमा थापा र अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो ।
जसमा ठगी बराबरको रकम २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो र क्षतिपूर्ति समेत मागदाबी गरिएको थियो । त्यसैगरी आपराधिक विश्वासघात गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकाले सोही अनुसार मागदाबी गरिएको छ । सोही मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
रकम घोटाला भएको जानकारी पाएपछि सैनिक प्रहरी गण जंगीअड्डाले ३१ चैत २०८१ मा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंलाई पत्राचार गर्दै यो प्रकरणको अनुसन्धान गर्न भनेको थियो । पक्राउ परेका आरोपित थापाले सहायक रथी खड्का र सेनानी कार्कीको नाम लिएका थिए । उनीहरूको हकमा भने आन्तरिक छानबिन भइरहेको सेनाले बताएको छ ।
करिब ७ वर्ष पहिले २०७४ सालदेखि नै सैनिक कल्याणकारी निर्देशनालबाट रकम घोटाला भए पनि यसको ७ वर्षपछि मात्रै सेनाले थाहा पाएको थियो । आवास तथा बीमा वापतको रकमबाट १३ कात्तिक २०७४ देखि २६ भदौ २०७५ सम्मको अवधिमा रकम घोटाला भएको थियो । यो अवधिको बीचमा १४४ वटा चेकबाट १ करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ अपचलन भएको थियो ।
त्यसैगरी ९ फागुन २०७३ देखि १७ असोज २०७५ सम्म ४० वटा चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँ रकम अपचलन गरेको बताइएको छ ।
यो अवधिमा उक्त शाखामा कार्यरत जमदार कर्मचारी थापा कार्यरत थिए । उनैले विभिन्न व्यक्तिका काल्पनिक नाम उल्लेख गरी रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।
यसरी रकम अपचलनमा संलग्न भएका पूर्वजमदार थापा २२ पुस २०५९ मा अमल्दार कर्मचारीको रूपमा सेनामा भर्ना भएका थिए । उनी २०७३ देखि २०७५ को बीचमा सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गतको आवास तथा बीमा शाखा भद्रकालीमा कार्यरत थिए ।
यो बीचमा उक्त निर्देशनालयमा तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी रोशन खड्का कार्यरत थिए ।
थापाले भने उनीहरू भने बमोजिम तथा दिएको सूची अनुसार नै चेक तयार गर्न लगाउने गरेको दाबी गर्दै बयान दिएका थिए । आफू सबैभन्दा जुनियर कर्मचारी भएकाले हाकिमले भने बमोजिम नै ती चेकहरू नेपाल बैंक लिमिटेडको त्रिपुरेश्वर शाखामा पेस गरेर भुक्तानी लिई रकम फेरि हाकिमलाई नै दिएको थापाको भनाइ छ ।
यो काम गरेपछि खड्का, कार्की र अधिकारीले आफूलाई बिदामा सहुलियत, पेट्रोल कुपन दिएको क्यान्टिनमा खाजा खुवाएको थापाले बताएका छन् ।
प्रतिक्रिया 4