
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया सुरु भएको छ।
- राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्तिका लागि सर्च कमिटी गठनको तयारी भइरहेको छ।
- अहिले विश्वविद्यालय निमित्तको भरमा चलिरहेको छ र छिटो नयाँ उपकुलपति नियुक्त गर्न आवश्यक छ।
२८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया अघि बढेको छ।
गत १५ चैतमा उपकुलपतिबाट प्राडा केशरजंग बरालले राजीनामा दिएपछि त्रिविमा नयाँ उपकुलपतिको खोजी भएको हो ।
प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले २८ चैतमा बरालको राजीनामा स्वीकृत गरेका थिए । राजीनामा स्वीकृत भएपछि नयाँ उपकुलपति नियुक्ति गर्न सर्च किमिटी गठन गर्न लागिएको हो ।
‘सर्च कमिटी गठनको प्रक्रिया अगाडि बढेको छ । सर्च कमिटी गठनको फाइल प्रधानमन्त्रीसामू पेस हुने क्रममा छ,’ प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले भने ।
यसबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिइन् । त्यसैले पनि प्रक्रियामा ढिलाइ भएको अधिकारीहरू बताउँछन् । भट्टराईको राजीनामा पछि रघुजी पन्तलाई शिक्षामन्त्री नियुक्त भएका छन् । अब केही दिनमै सर्च कमिटी गठन गर्ने सरकारको तयारी छ ।
२०८० मा उपकुलपति नियुक्ति प्रक्रियाको लागि खुला आह्वान गरिएको थियो । विज्ञ समिति गठन गरेर मेरिटको आधारमा उपकुलपतिको नियुक्तिका लागि तीन जनको नाम सिफारिस गरिएको थियो ।
बरालले राजीनामा दिएपछि त्रिवि नेतृत्वविहीन भएको हो । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम नै रोकेपछि र बारम्बार दबाब आएपछि उपकुलपतिबाट राजीनामा दिएको बरालले बताएका थिए । उपकुलपतिको ४ वर्षे कार्यकाल भए पनि नियुक्ति भएको १३ महिनामै बरालले राजीनामा दिएका थिए ।
बरालको राजीनामापछि शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । त्रिवि नियमअनुसार तीन महिना उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधान छ । यही प्रावधानअनुसार केसीले उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।
शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिएपछि मानविकी तथा सामाजिकशास्त्र संकायको डिन प्रा.डा. द्विविनन्द ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको छ । त्रिवि हाल निमित्तको भरमा चलिरहेको छ ।
निमित्त उपकुलपतिले महत्वपूर्ण निर्णय गर्न नसक्ने भएकाले छिटो उपकुलपति नियुक्त हुनुपर्ने प्राज्ञहरू बताउँछन् ।
‘निमित्तले पनि काम गर्नुहोला तर लयमा ल्याउन उपकुलपति नै चाहिन्छ । महत्वपूर्ण निर्णय गर्न उपकुलपति नै चाहिन्छ । कतिपय निर्णय उपकुलपति आएपछि गरौंला भनिन्छ,’ पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘नेतृत्व गर्ने व्यक्तिको शून्यतामा काम अगाडि बढाउन गाह्रो हुन्छ । उपकुलपति नियुक्ति प्रक्रियामा ढिला गरिनु हुँदैन ।’
प्रतिक्रिया 4