+
+
Shares

विवाह जीवनको सुरुवात हो कि ऋणको ?

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८२ वैशाख २९ गते १४:०१

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • विवाह अहिले देखासिकी र ऋणको जालोमा फसेको छ, जसले यसको मूल अर्थलाई हराएको छ।
  • सादा विवाह र सामाजिक संस्कारको पुनः मूल्यांकन गर्न आवश्यक छ, जसले प्रेम र समझदारीलाई प्राथमिकता दिनु पर्छ।
  • विवाहको परिभाषा परिवर्तन गर्न र सरलता अपनाएर सामाजिक र आर्थिक बोझबाट मुक्ति पाउन सकिन्छ।

समाज अहिले यस्तो मोडमा आइपुगेको छ, जहाँ विवाहको अर्थ बिस्तारै हराउँदैछ। ‘विवाह’, जसको मूल उद्देश्य हो जीवनसाथी सँगको समझदारी, प्रेम र सामाजिक स्थायित्व हो। यो वंश वा मानव जातिलाई निरन्तरता दिने वैज्ञानिक आधार पनि हो । तर आज आडम्बरी खर्च, देखासिकी र ऋणको जालोमा अल्झिएको छ विवाह।

अब विवाह ‘संस्कार’ होइन, ‘शो’ बनेको छ। विवाह ‘सम्बन्ध’ होइन, ‘प्रतिस्पर्धा’ बनिसकेको छ।

रमेशको कथा : प्रेमले होइन, ऋणले रचिएको विवाह

रमेश एक सामान्य परिवारको छोरो हो। ऊ जागिर खाएर जीवन चलाइरहेको छ । उसले सरल विचारकी युवती सरितासँग प्रेम विवाह गर्ने निर्णय गर्छ । उसको सोच हुन्छ- सादा विवाह गर्छु, आफ्नै जीवनलाई प्राथमिकता दिन्छु।

तर जब विवाहको कुरा परिवार र समाजसम्म पुग्छ, सबैभन्दा पहिले उठ्ने कुरा हुन्छ, ‘कति तामझाम गर्ने ? कुन होटल वा पार्टी प्यालेसमा गर्ने ?

५० जना पाहुना नै हुन्छन्, अनि साथीभाइ, गाउँले गरी ५०० लाई निम्तो नगरी कसरी हुन्छ ?

बेहुलीलाई छड्के तिलहरी, रानीहार, शीरमा चन्द्रमा, आदि गरेर गहना कम्तिमा १०-२० तोला त चाहियो ।

डा. बालकृष्ण साह

भन्यूमा रिसेप्सन र डेकोरेसन भव्य हुनै पर्‍यो ।

अलिअलि त देखाउनै पर्छ, नत्र इज्जत जान्छ ।

रमेशको आमाबाबु ऋण लिन बाध्य हुन्छन्। उसले बैंकबाट व्यक्तिगत ऋण निकाल्छ। सरिता रोइन् । ‘हामी सादा विवाह गर्न सक्थ्यौं, किन समाजको इज्जत किन्न ऋण लिने?’ सोच थियो उनको । तर त्यसो हुन सकेन ।

विवाह भयो। भोज भयो। नाचगान भयो। सबैले बधाई दिए।

तर विवाह सकिएको भोलिपल्टदेखि रमेशको घरमा सन्नाटा मात्र रह्यो। बुबा ऋणको चपेटामा परे।

रमेशको मासिक तलब ब्याज तिर्नमै सकिन थाल्यो।

सरितालाई के-के गर्ने सपना थियो तर अब सपना बिर्सन थालिन्।

रमेश सोच्न बाध्य भयो-के यही हो प्रेमको सुरुआत?”

विवाहको नाममा गरिने ऋण-सामाजिक अपराध होइन र?

यो कथा रमेशको मात्रै होइन। हरेक वर्ष हजारौं युवाहरू विवाहको नाममा ऋणमा डुब्छन्। मध्यवर्गीय र निम्नवर्गीय परिवार समाजको देखासिकी संस्कृतिको दबाबमा परेर आफ्ना छोराछोरीको विवाहका लागि ऋण लिन्छन्, जग्गा बेच्छन् । गहना धितो राख्छन् । जीवनभर जम्मा गरेको पैसा खर्च गर्छन्।

सोचौँ त, के यही हो ‘संस्कार’?

संस्कार त प्रेम, विश्वास र समझदारी हो । तर, आजको विवाह त एक प्रकारको ‘सामाजिक हिंसा’ बनिसकेको छ।

वैकल्पिक सोच: सादा विवाह, समृद्ध जीवन

अब समय आएको छ, हामी विवाहको परिभाषा फेर्न सकौँ।

भड्किलो भोज होइन, साधा खाजाले पनि पुग्छ।

देखासिकी गहना होइन, मिलेर भविष्य बनाउने सपना आवश्यक छ।

ऋण लिएर इज्जत देखाउनु होइन, ऋण नलिएर आत्मगौरव जोगाउनु ठूलो कुरा हो।

सादा विवाह कुनै ‘कन्जुस्याइँ’ होइन-यो सामाजिक विवेक हो।

निष्कर्ष: संस्कार बनाऔँ, बोझ होइन

समाज अब परिवर्तनको घडीमा छ।

हामीले यदि अझै आँखा नखोलेमा, विवाह नामको पवित्र संस्कार ‘सामाजिक अपराध’मा परिणत हुनेछ।

अतः
‘सादा विवाह गरौं, समृद्ध जीवन सुरु गरौं। एक दिन ‘शो’ गरेर जीवनभर ऋणको तनाव बोक्नु भन्दा सादा विवाह जीवन तनावमुक्त जीवन बिताउनु उत्तम विकल्प हुन्छ ।

यो सामाग्री अडियोमा सुन्न सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?